आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कास्कीमा बढ्दो कोरोना सङ्क्रमणसँगै फेरि लम्बियो निषेधाज्ञा

बुधबार, २७ साउन २०७८, १९ : २२
बुधबार, २७ साउन २०७८

पोखरा । कास्कीमा एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै भाद्र ३ गते राति १२ बजेसम्म थप गरेको हो ।

यसअघि प्रशासनले साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो । प्रशासनले कोभिड १९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई भाद्र ३ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । 

प्रशासनले यस अघि पोखरा क्षेत्रमा कोरोना सङ्क्रमण अपेक्षाकृत नियन्त्रणमा आई नसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि थप गरेको थियो ।

प्रशासनले यस अघि निषेधाज्ञालाई खुकुलो पार्दै कास्की जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको थियो । प्रशासनले निषेधाज्ञाको स्वरूपमा परिवर्तन गर्दै निश्चित सङ्ख्यामा यातायात व्यवसायी संस्थाको सिफारिसमा जिल्ला प्रशासनबाट पास लिएर लामो दुरीका सवारी साधनहरू सञ्चालन गर्न पाइने निर्णय गरेको छ ।  

व्यवसायीले सवारीका साधन सञ्चालन गर्दा सिट क्षमता बन्दा बढी यात्रु बोक्न भने पाइने छैन । बसका चालक तथा सहचालकले अनिवार्य मास्क, फेससिल्ड प्रयोग गर्नुपर्ने छ भने यात्रुले मास्क अनिवार्य रूपमा लगाउनु पर्नेछ ।

त्यसै गरी मठमन्दिर, मस्जिद, गुम्बा, चर्चहरू स्वास्थ्य मापदण्ड पूरा गरि सञ्चालनमा आउने छन् । कास्की भित्र चल्ने निजी सवारीसाधन र ट्याक्सीको हकमा चालकसहित बढीमा ४ जना सवार रही स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ । त्यस्तै मोटरसाइकल तथा स्कुटरले पनि मापदण्ड अपनाएर सञ्चालन हुन पाउने छन् ।

यस्तै विश्वविद्यालय, क्याम्पस एवं माध्यमिक विद्यालयहरूले पूर्व निर्धारित परीक्षाहरू सञ्चालन सम्बन्धमा अपनाउनुपर्ने सावधानीका उपायहरू कडाइका साथ पालना गरी पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरी अनलाईन प्रविधिबाट सञ्चालन गर्न सक्ने छन्।

यस्तै होटल तथा रेष्टुरेन्टहरुले अनलाइन डेलिभरी राति ८ बजेसम्म मापदण्ड अपनाएर सञ्चालन गर्न पाउने छन्। होटलमा बास बस्न आउने पाहुनालाई बेड क्षमताको ५० प्रतिशतसम्म रहने गरी खान बस्नको प्रबन्ध गर्न सक्नेछन् । तर, एका घरका परिवार बाहेक १ कोठामा १ जना भन्दा बढी व्यक्ति राख्न पाइने छैन । 

पूर्व निर्धारित विवाह कार्यक्रम तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी २५ जना भन्दा बढी व्यक्ति सहभागी गराउन नपाइने उल्लेख छ । तोकिएका पसलहरू बाहेक अन्य सबै खालका पसल तथा व्यवसाय बिहान ५ देखि राति ८ बजेसम्म खोल्न पाइनेछ ।

प्रशासनले अझै पनि सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, मोटेल,नाचघर, क्लब, डान्स बार, दोहोरी साँझ, फन पार्क, रङ्गशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर,स्पा, स्विमिङ पुल, फुटपाथ पसल लगायतका व्यवसाय खोल्न निषेध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप