शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहलाई बर्खास्त गर्न माग

हजारौँ विद्यार्थीको भविष्य संकटमा
बुधबार, २७ साउन २०७८, १४ : ३३
बुधबार, २७ साउन २०७८

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई बर्खास्त गर्न माग गरिएको छ । आन्दोलनरत विद्यार्थी संगठनहरुले उपकुलपति सिंह गुण्डागर्दी शैलीमा उत्रिएको, पदीय मर्यादा कायम राख्न नसकेको भन्दै उनलाई बर्खास्त गर्न माग गरिरहेका छन् ।

मंगलबार बेलुका विश्वविद्यालयमा भएको घटनालाई लिएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले उपकुलपति सिंहलाई बर्खास्त गर्न माग गरेको छ । उक्त संगठनका केन्द्रीय समिति अध्यक्ष रञ्जित तामाङद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा विश्वविद्यालयमा १८ बुँदे माग राख्दै शान्तिपूर्ण आन्दोलनरत विद्यार्थी संगठनका नेताहरूमाथि उपकुलपति नन्दबहादुर सिंहको ठाडो निर्देशनमा विद्यार्थी नेताहरु कुटिएका आरोप लगाइएको छ ।

विद्यार्थीले उठाएका माग वार्ता र छलफलबाट समाधान गर्नुको सट्टा प्रहरी र भाडाका मान्छेहरु प्रयोग गरेर प्रशासनले गैरजिम्मेवारीपन देखाएको सो संगठनले उल्लेख गरेको छ । अन्य विभिन्न विद्यार्थी संगठनले समेत उपकुलपतिको राजीनामा माग गरिरहेका छन् । ऐन–कानुन, पदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको भन्दै नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय समितिले पनि उनको राजीनामा माग गरेको छ ।

साउन ३ गतेदेखि संयुक्त विद्यार्थी संगठनले १८ बुँदे माग राख्दै विश्वविद्यालयमा आन्दोलन गर्दै आएका छन् । लगत्तै प्राध्यापकहरू समेत आन्दोलनमा होमिए ।

विद्यार्थी संगठन र प्राध्यापकहरूले विश्वविद्यालयका उपकुलपतिको कार्यशैली ठिक नभएको, पदीय मर्यादा कायम राख्न नसकेको जस्ता आरोप लगाउँदै आएका छन् । आन्दोलनकै कारण साउन ९ गतेदेखि हुनुपर्ने भनिएका परीक्षा सञ्चालन हुन सकेको छैन । जसले गर्दा सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भईरहेको सरोकारवाला बताउँछन् ।

विश्वविद्यालयका पूर्व डिन पिताम्बर ढकाल विश्वविद्यालयले विद्यार्थीका माग सकेसम्म चाँडो छलफलका माध्यामबाट सल्टाउनुपर्ने बताउँछन् । विश्वविद्यालयले छलफल र वार्ता भइरहेको बताए पनि सहमति जुट्न सकेको छैन ।

अडियो विवाद

उपकुलपति नन्दबहादुर सिंहले बोलेको भनिएको एउटा अडियो रेकर्डमा ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय भाषामा कुलपति मानौँला तर,  मेरो वास्तविक कुलपति त केपी ओली नै हुन् । एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवाद महत्वपूर्ण भएकाले यसलाई जनताका बिचमा लिएर जानु आवश्यक रहेको र यसका लागि सडकमा जानुको विकल्प नरहेको’ भनिएको छ ।

प्राध्यापक संगठनले उपकुलपतिले पदीय मर्यादालाई बिर्सेर पार्टीका कार्यकर्तालाई कार्यालयमा बोलाएर विश्वविद्यालयको ऐन, नियम र संविधान विपरीत राजनीतिक परीक्षण दिने क्रममा यस्तो अभिव्यक्ति दिएको भन्दै उनको राजीनामा माग गरेको हो । यद्यपि, उपकुलपति सिंहले एउटा पत्रकार सम्मेलनमा उक्त अडियोको बचाउ गरेका थिए । उनले १ घण्टा लामो बोलेको कुरालाई काटकुट पारेर आफ्नो विरुद्धमा एउटा तत्व लागिरहेको बताए ।

मंगलबार साँझ खास के भएको थियो ?

अनलाईन परीक्षा लिनुपर्ने लगायतका विभिन्न १८ बुँदे माग राख्दै साउन ३ देखि आन्दोलनमा सक्रिय संयुक्त विद्यार्थी संगठनले साउन २१ देखि रिले अनसन सुरु गरेको थियो । त्यही क्रममा मंगलबार साँझ विश्वविद्यालय परिसर निकै तनावग्रस्त बन्यो । प्रहरीले आन्दोलन नियन्त्रण गर्ने नाममा बल प्रयोग गर्दा संयुक्त विद्यार्थी संगठनका नेताहरु केही घाइते भएका छन् भने केहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

घटनामा अखिल क्रान्तिकारीका विश्वविद्यालय संयोजक टोपेन्द्र कार्की (राज), स्ववियु सभापति झक्कबहादुर शाही, टीकाराम ढकाल लगायतका विद्यार्थी नेताहरु घाइते भएका छन् भने  दिपेन्द्रजंग शाही, रोशन बस्नेत, भुपेन्द्र बम, केशव खड्का, गोविन्द सिजापति, तेजबहादुर बम, रोशम मिश्र, सन्देश थापा लगायतका विद्यार्थी नेताहरुलाई गिरफ्तार गरिएको संगठनले जनाएको छ ।

यही विषयलाई लिएर नेपाली काँग्रेस र नेकपा माओवादी निकट विद्यार्थी संगठनले उपकुलपति नै ‘गुण्डागर्दी’मा उत्रिएको भन्दै पदबाट बर्खास्त गर्न माग गरेका छन् ।

उनीहरुले उपकुलपति सिंहको सामाजिक बहिस्कार गर्ने लगायतका कडा र सशक्त कार्यक्रमहरु गरिने चेतावनीसमेत दिएका छन् ।

संयुक्त विद्यार्थी संगठनले समेत प्रेस विज्ञप्ति जारी गर्दै भिसीको तानाशाही प्रवृत्तिविरुद्ध विद्यार्थी पुनः आन्दोलनमा होमिने बताइसकेको छ ।

संगठनले पनि उपकुलपतिले गुण्डा परिचालन गरी धर्नामै बसिरहेका विद्यार्थीमाथि धारिला हातहतियार सहित आक्रमण तथा धर्नास्थल तोडफोड गरेको जनाएको छ । नेविसंघका नेता झक्कबहादुर शाहीले थप आन्दोलनका कार्यक्रम तय गर्ने बताए ।

‘अराजक हुलले ढुंगा प्रहार गर्‍यो’

यता विश्वविद्यालय प्रशासनले भने मंगलबार बेलुकी पाँच बजेतिर सरोकारवाला पक्षका बीचमा अन्तरक्रिया कार्यक्रम चलिरहेका बेला अराजक हुलले कार्यक्रम स्थलमा ढुंगा प्रहार गरेको बताएको छ ।

‘कार्यक्रमस्थल नजिकै निजी घरमा पार्किङ गरी राखेको उपकुलपतिको गाडीमाथि ढुङ्गा प्रहार गरी तोडफोड गरिएको छ,’ विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा नारायण प्रसाद पौडेलले भने, ‘सो हुलले ६ः १५ बजेतिर उपकुलपति निवासमा आई ढुङ्गा प्रहार गरी तोडफोड गरेको छ ।’

उपकुलपति निवासमा पार्किङमा राखेको  गाडीमाथि बन्चरो समेत प्रहार गरिएको पनि उनले बताए । यो विषयलाई विश्वविद्यालय प्रशासनले निन्दा र भर्त्सना गर्दै अमर्यादित र अराजक गतिविधि गर्ने समूहलाई कारबाही गर्न माग गरेको छ ।

यता प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले पनि विश्वविद्यालय विरुद्ध १० बुँदे आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप