शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकाको उपचारको क्रममा मृत्यु

मङ्गलबार, २६ साउन २०७८, २२ : ३४
मङ्गलबार, २६ साउन २०७८

 धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आपसी विवादमा खुकुरी प्रहार गर्दा घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–६ स्थित सखुवा बजार, नयाँ टोलका अन्दाजी ३५ वर्षीय ओम मलिक डोमको मृत्यु भएको हो । आपसी विवादमा खुकुरी प्रहार तथा कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएको थियो ।

साउन १८ गते सोमबार राति छिमेकी २७ वर्षीय राकेश राय कुर्मीले विवादका क्रममा उनलाई खुकुरी प्रहार गरेका थिए । राकेशकी दिदी ३५ वर्षीय रिङ्की देवी कुर्मीले समेत उनको टाउकोमा चिर्पट प्रहार गरेको स्थानीयवासीको भनाइ छ ।

गम्भीर घाइते भएका ओमको तत्कालै महेन्द्रनगरमा प्राथमिक उपचार गरिएको थियो । तर अवस्था गम्भीर भएपछि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको थियो ।

जनकपुरमा उनको उपचार सम्भव नभएपछि धरान रेफर गरिएको र धरानमा पनि अवस्था बिग्रिदै गएपछि विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको थियो ।

विराटनगरमा उपचारकै क्रममा गएराति ओमको मृत्यु भएको परिवारजनले जनाएको छ । ओमको एक श्रीमती, दुई छोरी र एक छोरा छन् ।

ओमको मृत्यु भएपछि राकेश फरार छन् । १८ साउनमा झगडा भएको र १९ साउन मंगलबार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिए पनि प्रहरीले राकेशलाई पक्राउ नगरेको भन्दै पीडित परिवारजन आक्रोशित छन् भने मंगलबार आफन्तहरुले शव राखेर प्रदर्शनसमेत गरेका छन् ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले ओमको मृत्युको सम्बन्धमा अनुसन्धानका लागि घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलकबहादुर सुनारले घटना सम्बन्धमा निवेदन परेको र घाइतेको उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त भए लगत्तै घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप