सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

खगराज बरालको स्यानी : मातृवियोगले भरिएको उपन्यास

मङ्गलबार, २६ साउन २०७८, १६ : ३२
मङ्गलबार, २६ साउन २०७८


नेपाली साहित्यमा ‘शोक उपन्यास’ त्यति धेरै पढिएको विधा होइन । तर, ‘शोक उपन्यास’ हुने रहेछ भन्ने नेपाल सरकारका पूर्वसचिव खगराज बरालको स्यानी उपन्यासको अध्ययनबाट थाहा हुन्छ ।

बरालको स्यानी उपन्यासमा १३ वटा परिच्छेद छन् । ती परिच्छेदमा हिन्दू सनातन परम्परामा मृत्यु संस्कारमा गरिने प्रत्येक दिनका घटनाहरूको वर्णन छ । प्रत्येक परिच्छेदको सुरुवात मृत्युसंस्कारका क्रममा गरिने कार्यको चर्चा छ र त्योसँगै लेखकका आमासँगका स्मृतिहरू जोडिएर आएका छन् ।

सम्पूर्ण उपन्यास आमा बिरामी हुँदाको विपत्ति र देहान्त भएपछिको शोकमग्न अवस्थामा मृत्युसंस्कारको एकान्तवासमा रहँदा लेखिएकाले प्रत्येक परिच्छेद करुण रसले भरिएका छन् । त्यसैले उपन्यास अध्ययन गर्दा प्रत्येक वाक्यमा आमाप्रतिको वियोग र रोदन झल्किन्छ ।

स्यानी उपन्यासका सर्जक खगराज बरालको जन्म २०२६ मा कास्की जिल्लाको पोखरा नगरपालिका–२२ मा भएको हो । ‘वर्तमान समयमा गुरुकुल र आधुनिक शिक्षा पद्दतिमा शिक्षक व्यवस्थापन’ शीर्षकमा विद्यावारिधि गरेका बरालका ‘आँगनीको फूल’, ‘सानीको बर्थडे’, ‘श्रमिक बरालका गीतहरू’, मौन आकमाश, अविरल गङ्गा, ‘म त सधैँ एक्लै परेँ’ लगायतका साहित्यिक कृति प्रकाशित छन् ।

नेपाल सरकारका निवर्तमान सचिवबाट अवकाश पाएका बराल हाल नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) सेवा आयोगको अध्यक्ष छन् । लेखक बरालका साहित्यिक कृतिका अतिरिक्त शिक्षा तथा शिक्षा व्यवस्थापनसम्बन्धी करिब १० भन्दा बढी पुस्तक प्रकाशित गरेका छन् ।

स्यानी उपन्यासको कथावस्तु

यो उपन्यास लेखकले आमाको देहान्त हुँदा लेखिएको हुँदा तेह्रदिने मृत्युसंस्कारमा रहँदा आएका स्मृतिहरु यसमा आएका छन् । उनले मेरो कुरा भन्दै भूमिकामा लेखेका छन्– ‘आमासँग विताएका पलपल याद आउँथे, रुवाएर जान्थे । यिनै घटना समालेर कथानक बनाएँ, चिन्नेका डाला समालेर भारी बनाएजस्तै ।’ यसले उपन्यासमा आमासँगका स्मृतिलाई सङ्कलन गरिएको प्रष्ट पार्छ । साथै गरुड पुराणका प्रसङ्ग पनि अधिकांश ठाउँमा आएका छन्, जसले गर्दा यो एउटा मिथकमा आधारित शोक–उपन्यास बन्न पुगेको छ । उपन्यासको कथावस्तु यस्तो छ ।      

पहिलो परिच्छेदमा, आमाको उपचारका लागि अस्पताल लाँदै गरेको प्रसङ्गबाट सुरु भएको छ । तर अस्पतालमै आमाको देहान्त हुन्छ । शव घरमा ल्याइन्छ । आफन्तजन भेलाभएका र शोकाकुल घरको परिवेश चित्रण छ । यस परिच्छेदमा लेखकले अद्र्धनिद्रामा आमाले भनेका केही प्रसङ्ग उल्लेख गरेका छन् । त्यसमा आफू जन्मिँदा कुनै खोट नभएको र ज्योतिषीले नबाँच्ने भनेको हुँदा र आमाले बचाउन गरेका विभिन्न प्रयासबारे उल्लेख छ ।

परिच्छेद दुईमा लेखकको कपाल खौरिँदा, सेतो धोती लगाउँदा रोएको प्रसङ्गबाट सुरु भएको छ । लेखक रुँदैरुदै मृत्युसंस्कारमा गरिने विभिन्न कार्यका बारेमा उल्लेख छ । कपाल, दारीजुँगा, आँखीभौँ खौरिएको, नुहाएको प्रसङ्ग उल्लेख छ । घाटमा गरिने विभिन्न अन्त्येष्टि कर्मको बारेमा चित्रित छ । आमासँग सेती गण्डकी घाटमा पहिले गरेका स्वस्थानी व्रतको सङ्गेको पनि सम्झना, झलकमान गन्धर्वको ‘बाबाले सोध्लान् नि खोइ छोरो भन्लान्’ गीत रेडियोबाट सुन्दा आमाले रुने गरेको, लेखकको हात भाँचिँदा झारफुक गरेका वार्तलाप आदि यसमा परिच्छेदमा छ ।

परिच्छेद तीनमा, आमाले घिउ साँचेर राखेको, नेपालीहरु आसाममा गाई पाल्न गएका, नेपालबाट आसाम चिठी पठाएका र आएका, हातेचिठी पढिमाग्न गाउँका लाहुरेनीहरु आउने गरेको प्रसङ्ग यसमा छ । चिठी लेखनको सम्बोधनका तरिका पनि यसमा छ । 

साथै लेखक र उनका दाजुको जन्मअन्तर १८ महिनाको प्रसङ्ग छ । सत्यवादी राजा हरिशचन्द्रको पुत्र प्राप्तिको सङ्घर्ष, माइलो छोरो बेचिएको कथा सुनेर आफू पनि माइलो भएकोमा नराम्रो महसुस भएकोर आमाले सम्झाएको प्रसङ्ग यसमा छ ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                 

चौथो परिच्छेदमा लेखक स्कुल गएको, दूधदही खाने, भैँसी ब्याउने प्रसङ्ग, पोथी जातलाई मार्न काट्न हुँदैन भन्ने सोच, भैँसी गोरु लिएर गोठालो गएको, भैँसी व्याएपछि बिगौती पकाएर कुल देवतालाई चढाएका, खीर खाएका, भैँसी बेच्दा आमा रोएको चर्चा यसमा छ ।

पाँच परिच्छेदमा, गरुड पुराण कथाबारेमा चर्चा छ । गरुड पुराण मृत्यु संस्कारको पाँचौँ दिनदेखि नवौँ दिनसम्म वाचन र श्रवण गरिन्छ । तेह्र दिनसम्म किरिया बस्नेहरुलाई प्रेतात्माले नपिरोस् भनेर यो पुराण वाचन गर्ने चलन छ । गाउँमा कसैको देहान्त हुँदा यो पुराण सुन्न आमा पनि जाने गरेका प्रसङ्ग उल्लेख छन् । गरुड पुराणका स्वर्ग, नर्क र मत्र्य लोकका बारेमा भएका चर्चालाई लेखकले साहित्यको स्वैर कल्पनासँग तुलना गरेका छन् ।

साथै आमासँग हिँडडुल गरेका पहिलेका सम्झना, बिहेमा गएको, बिहेको परिवेशको चित्रण, बस चढ्दाको रमाइलो प्रसङ्ग, गोठालो जाँदा सर्प मारेपछि नाग हो कि भनेर डराएको, घरका छानामा ढुङ्गा वर्षिएको र केले हो भनेर धामीझाँक्री लगाएको, धामीले जोखाना हेरेको प्रसङ्ग पनि छ । म पात्र बिरामी भई उपचार गर्न र ज्योतिषीकहाँ गएको र नाग लागेको भनेर झारफुक गरेको प्रसङ्ग छन् । आमाले मर्नुअघि साप देखेर तर्सिएको प्रसङ्ग छ ।

परिच्छेद छमा,  गरुड पुराणकै प्रसङ्ग छ । यसमा पुराणहरु मानिसका आचरण र व्यवहारलाई सही बाटोमा हिँडाउन लेखिएको बारे चर्चा छ । मान्छेले अरूको उपकार गरे स्वर्ग जाने र पीडा दिए नर्क जाने कुरा छ, साथै मान्छेका पशुप्रवृत्ति र आधुनिक समाजको विकासबारे चर्चा र गाउँघरमा धानबाली उठाएको र दाइँ गरेका तथा आमासँगका विभिन्न प्रसङ्गहरु छन् ।

सात परिच्छेदमा, गरुड पुराणकै सातदेखि १० अध्यायसम्म कथा श्रवणको चर्चा छ । साथमा आमासँगको प्रसङ्ग, कुकुर भगाउने मन्त्र,  केटीमान्छेको बिहेको प्रसङ्ग, रत्यौली खेलेका गीत गाएका प्रसङ्गहरु छन् ।

आठ परिच्छेदमा, गरुड पुराणकै प्रसङ्ग छ । मृत्युबारे चर्चा छ, कुनै पनि जीव मरेपछि फर्कन्न भन्ने निष्कर्ष दिइएको छ । आमाले शनिबार लिने व्रतको चर्चा छ । आमासँगका खेतबारीमा काम गरेका प्रसङ्ग छन्, व्रतबन्धका प्रसङ्गहरु आएका छन् ।

नौ परिच्छेदमा, गाई दान, गरुड पुराणको अन्तिम दिन भएकाले पाप, पुन्य र दानका बारेमा चर्चा छ । यसमा आएपछि पुराण र आधुनिक विज्ञानबीचका कुराले लेखकमा द्वन्द्व  सिर्जना भएको छ । उनले भनेका छन्– मैले पहिले मानव शरीरमा २०६ ओटा हड्डी मिलेर बनेको सुनेको र पढेको थिएँ तर गरुड पुराणमा पण्डितले ३६० ओटा हड्डीको समूह भएको बताए । मनमनै विरोधाभास मडारियो ।’ साथै यसमा भैँसी मरेको र लोक सेवामा नाम निकालेर अन्तरवार्तामा फेल भएको प्रसङ्ग छ ।

दश परिच्छेदमा, ढिकुरो फोरेको, दश दिने दाजुभाइहरु गहुँत खाएर चोखिएको प्रसङ्ग छ । साथै देवीभागवत, आमाले स्वस्थानी कथा पढ्दा र व्रत बस्दा र साङ्गेका समयमा गण्डकीमा सेलाएको जस्ता कथा प्रसङ्ग छन् ।

एघार परिच्छेदमा विभिन्न दानहरुको प्रसङ्ग छन् । साथै कोदो माडेको, नुन लिन भोट गएको, पछिपछि भारतीय रेल नेपाली सीमासम्म चलेपछि नुन लिन बटौलीतिर झर्न थालेका प्रसङ्ग छ । विद्यालय जाँदा बस ट्रकमा चडेको, उट्पट्याङ गरेको प्रसङ्ग छ ।

बाह्र परिच्छेदमा, सपिण्डी कर्मका बारेमा चर्चा छ । साथै नयाँ वर्षका चलन, ज्योतिष हेराएका, राशिफल हेराएका, साउने सङ्क्रान्तिमा लुतो फाल्ने पक्रियाका बारेमा चर्चा छ ।

तेह्र परिच्छेदमा, तेह्रौँ दिन चोखिने दिन भएकाले सोहीअनुसारका कर्मका प्रसङ्ग आएका छन् । यो दिन जुठो लाग्ने र दाहसंस्कारमा संलग्नहरु पञ्चगव्य खाएर चोखिने दिन भएकाले कपडा फेर्ने लगायतका कार्यको प्रसङ्ग आएका छन् ।

यस परिच्छेदमा पनि आमासँगका प्रसङ्ग आएका छन् । यसमा अञ्चल स्तरीय परीक्षाका लागि आमाले दिएका सुझावहरुको सम्झना छन् । पहिले पहिले समय थाहा पाउन आकाशका तारा हेरेर उठ्ने गरेको प्रसङ्ग जोडिएका छन् । रातिको समय नाप्न तीनतारे, ध्रुव तारा आदिको चिनारी र तिनका कथा जोडिएर आएका छन् ।

यो परिच्छेद उपन्यासको अन्तिम हो । यसमा उपन्यासको शीर्षकको अर्थ खुल्छ  । खासगरी आमालाई मामलमा स्यानी भनेर सम्बोधन गरिएको हुन्छ । त्यसैबाट यो उपन्यासको शीर्षक रहेको देखिन्छ । यसमा लेखिएको छ– “स्यानी आइपुग्यौ ?” माइजूले हाँसेर भनिन् आमालाई । ...मामाले आमालाई स्यान्दिदी भन्थे, आमाका माइती गाउँका सबैले आमालाई स्यानी भनेर बोलाउँथे ।

यसबाट थाहा हुन्छ, म पात्र अर्थात् लेखककी आमाको नामबाट यो उपन्यासको नामकरण भएको छ । लेखकी माइजू नै आमालाई हुर्काउने बढाउने मुख्य व्यक्ति भएको चर्चा यस परिच्छेदमा छ ।

यो उपन्यासभरि नै आमासँग सम्बन्धित घरपरिवार, समाजका प्रसङ्ग आएका छन् । अन्त्यमा आमा ‘कुनै दिन रातो सारीको सप्को काँधामा हालेर खुइय्य सुस्केरा हाल्दै  टुप्लुक्क आँगनमा आइपुछिन् कि जस्तो लाग्छ ।’ भनेर लेखक कल्पनामा डुब्दै उपन्यासको अन्त्य भएको छ ।

मिथकीय विम्ब

यो शोक उपन्यास भएको । हिन्दु परम्पराअनुसार मृत्युसंस्कार गरिने विभिन्न क्रियाकलाप समेटिएको हुँदा अत्यधिक मात्रामा मिथकीय विम्बहरुको प्रयोग भएका  छन् । मिथकका सम्बन्धमा विद्वानहरुका विभिन्न धारणहरू छन् । उनीहरुका अनुसार मिथक धार्मिक तथा पौराणिक विम्बहरु हुन्, जसमा वर्तमान समाजको सामूहिक अवचेतनमा गाडिएर रहेका हुन्छन् । यस्ता विम्बमा काल्पनिक कथाहरु लुकेका हुन्छन् । मानव जीवन र उसका व्यवहारसँग सम्बन्धित भएर यस्ता कथाहरू पुस्तान्तरण हुँदै आएका छन् । त्यसमा प्रकृति र परलोकसँग जोडिएर आएका छन् । मिथकमा प्राचीन कथा आधुनिक परिवेशमा नयाँ अर्थ लिएर आएका हुन्छन् ।

मिथकको उत्पत्ति सम्बन्धमा प्राचीन समयमा मानिसहरूमाथि मानिसले गर्ने हिंसा र आतङ्क कम गर्ने उद्देश्यले प्रकृतिलाई देवता मानेर त्यसलाई मानवीकरण गरिएको भन्ने भनाइ विद्वानहरूको छ । हिन्दू परम्परामा रामायण, महाभारत, अठार पुराण लगायत विभिन्न संस्कार तथा पद्धतिमा रहेका श्रुतिपरम्पराका कथाहरु मिथक हुन् भनिएको छ । यस्ता कथा सामूहिक अवचेतनमा विश्वास रहेको हुन्छ तर वैज्ञानिक दृष्टिले विश्वासनीय हुँदैनन् । स्वर्ग, नर्क, मत्र्य लोक, देवदेवीता, भूत, प्रेतका कथा सबै मिथक हुन््, समुदायले प्रचीन समयदेखि विश्वास गरिआएका तर यथार्थमा नभेटिने हुन्छन् ।

यस उपन्यासमा गरुड पुराण पठन भएकाले मुख्य मिथकका रूपमा रहेको छ । तर लेखकले आमाले भनेका, उहाँले विश्वास गरेका कतिपय प्रङ्गमा मिथक विम्बका रुपमा आएको छ । आमाले छोरो बचाउन जोगीलाई दिएका, कामीलाई दिएका, कान छेडेका प्रसङ्गहरु मिथकीय बिम्बहरू हुन् । यसका अतिरिक्त भूतप्रत, पिशाचका कथाहरु भनेका, सर्पलाई नागका रुप मानेका, बिरालोले बाटो काटेको, काग कराएका लगायतका शुभ, अशुभका प्रसङ्गहरु लेखकले ठाउँ ठाउँमा उल्लेख गरेका छन् ।

लेखकमा मिथक र आधुनिक समयका विचारबीच द्वन्द्व उत्पन्न भएको छ । उनले भनेका छन्– हाम्रो पारिवारिक –सामाजिक संस्कारमा गरुड पुराणका कतिपय सन्दर्भले भित्रदेखि छोए मलाई । हुन त गरुडका कतिपय प्रसङ्गको उपयोगिता नदेखिन सक्छ वर्तमानमा । कतिपय सन्दर्भहरु अन्धविश्वास र ढोँग जस्ता पनि लाग्न सक्छन् । तर पुराण सिर्जना हुँदाको समय र वर्तमानबीच निकै अन्तर छ । कतिपय सदर्भ अवैज्ञानिक र अप्रामाणिक हुन सक्छ । भए पनि सदाचार, सद्चरित्रता, इमानदारी, कर्तव्यपालन, आत्मविश्वास जस्ता विषय सार्वकालिक लागे ।

लेखकले पुराण र आधुनिकतामा पनि केही समनता भेटेका छन् । त्यो कुरा अहिले पनि सत्य नै भएको ठहर्छन् भनेका छन् । उनले उद्धृत गरेका छन्–

‘अष्टादश पुराणेषु व्यासस्यः वचनम्द्वयम्

परोपकारः पुण्याय पापाय परपीडनम् ।

अर्थात् अठार पुराण लेखिसकेपछि ती सबै पुराणको सारांशमा व्यासजीले एक वाक्यमा लेखेका छन्, अरूको उपकार गरेमा पुण्यको फल प्राप्त हुन्छ भने अरू जीवलाई पीडा दिए पापले नर्कको फल पाइन्छ । यो प्रसङ्ग आज पनि उत्तिकै लागू हुन्छ भन्ने लेखको भनाइ छ ।

मिथकमाथिको विश्वास र त्रासका केही प्रसङ्ग यस्ता छन्–

रातको सुनसान अँध्यारोेमा अचानक बिरालोले बाटो काट्यो । मेरो मनमा चिसो पस्यो । अब झण्डै झन्डै आमाको आस मारेँ । ...आमालाई चरक अस्पताल इमर्जेन्सीमा पु¥याउनेवित्तिकै देहान्त भएको छ ।

–तँलाई ज्योतिषले हेराम्दा बाँच्तैन भने । देउरे कानाँ माथिपट्टि सुनको मुन्द्रो लाए बाँच्न सक्च भने । तेरा शरीरमा खोटी नभकाले खोटी बनाम्न दाउरे कानका माथि पट्टि मुन्द्री लार तँलाई सुनारको छोरो बनाएको ।

–न्वारानको दिन माताको झोलीमा भिक्षाका रूपमा हालिदिएर जोगिनीको छोरो बनाएको, दमिनीको सुजेराँमा हाल्दिएसी उसैको छोरो भइस्, सुनारले देब्रे कानाँ छेडेर मुन्द्रो लगाइदे, अनि तँलाई खोटी देखाको । यसरी तँलाई हाम्रोबाट छुट्याएर अर्काको बनाको, काललाई झुक्याउन ।

–‘धागाले बाँधेको चिठी’ । (धागोले बाँधेको चिठी मृत्युको खबर हो भन्ने बिम्ब ।)

–‘गाउँका बूढाकहाँ लगेर हात मर्केछ भनेर फुकफाक गराइन्’ (झारफुकमा विश्वास) ।

–भैँसीलाई बेथा लाग्दा आमाले तामाको लोहोटामा पानी लिँदै जनै, सुपारी, अबिर, केशरी, अक्षता, फूल, जौ, तिल आदि दुनामा राखी केके भनिन् केके । ओठ काँपेको मात्र देखिन्थ्यो । (झारफुकमा विश्वास) ।

–‘पुच्छर बोधो छ भने नाग हुनुपर्च, पैल्यै हेर्नुपर्ने । कतै नाग त हैन ।’ (नाग देवता मारियो कि भन्ने डर ।)

सर्पका आँखा त खतरा हुन्चन् नि । तिनका आफन्तले यो मरेको सर्प देखे भने तिमोर्लाई खोजी खोजी डस्चन् !’ (सामाजिक विश्वास)

कुकुर भगाउने मन्त्र– ‘काली कुत्ते सेती दाँत, आयो कुत्ते लफर लफर लफर कान, फर्किंदो कुत्ते महादेवकी बाहन फट् ।’

भैँसी लडेको बेला घरछेउमा काग आएर कराउँदा आमाले सुभ बोल सुभ बोल भनेको ।

यी उपन्यासमा वर्णीत केही मिथकीय विम्बहरु हुन्, जसमा अधिकांशले विश्वास गर्छन् । तर भौतिक जगतमा विश्वास गर्नेले त्यसलाई सत्य मान्दैन । अतः उपन्यासभरि मिथकीय विम्बको प्रयोग पाइन्छ ।

उपन्यासको भाषाशैली

यो उपन्यासमा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग छ अर्थात् म पात्र मार्फत लेखकले यो उपन्यासको कथा भनेका छन् । कथावाचक लेखक स्वयं छन् । यसमा आएका सबै प्रसङ्गहरु आफैँले भनेका छन् भने गरुडपुराणको प्रसङ्गमा पनि पुरेत पात्रका रुपमा आएका शिव दाइले भने भन्ने उद्धरण प्रयोग गरेका छन् । धेरै ठाउँमा आमाको भनाइलाई आमाकै शैलीमा राखेका छन्, त्यस्तै गरी बुबाको भनाइ पनि त्यसै शैलीमा राखिएको छ । तर पात्रअनुसारको शब्द चयन र शैली भने केही फरक देखिँदैन । किन भने प्रत्येक पात्रका अभिव्यक्तिमा शैली र शब्द चयन र वाक्य गठन फरक फरक देखिन्छ । तर सबै शैली समान भेटिन्छ ।

उपन्यासमा आमालाई सामान्य आदरार्थी भाषाको प्रयोग भएको छ । आमालाई तिमी आदरार्थीको प्रयोग छ । यो स्थानीय प्रचलन हुनुपर्छ । यस्तै बुबालाई चाहिँ उच्च आदरार्थी तपाईं भनी सम्बोधन गरिएको छ । साथै पुरेत र काकाकाकीलगायतलाई तिमी आदरार्थी प्रयोग गरिएको छ ।

यो उपन्यासमा स्थानीय भाषाको प्रयोग छ । लेखकले मानक भाषालाई भन्दा बढी स्थानीय भाषिकालाई बढी प्राथमिकता दिएको हुँदा देशका अन्य भागका पाठकले कतिपय शब्द बुझ्न केही कठिन देखिन्छ । तर पूरै नबुझिने खालको भाषा भने यसमा छैन । यस उपन्यासमा प्रयोग भएका केही उद्धरणहरु :

–‘हामी तपैँले सोचेजस्ता मुन्छे होइनम्’

–हाम्रा गाम्का किस्न अङ्कल पनि ट्याक्सी चलाम्चन् ।

तिम्ले नि बा बनबट आउन ढिलो हुँदा रोएर गाम्भरि हल्लाखल्ला गरेर खोलानाला हल्लाकी होइनौ ।

–बेलाबेला बा आम्नुभो ? बा आम्नुभो ? भनेर सोधिरहन्थ्यौ ।

–बा आम्नी बाटो  हेरिराखेका हामी ‘अहँ अहँ भनिराख्तेम्’ ।

उपन्यासमा प्रयोग भएका शब्दहरु यस्ता छन्– आम्चु (आउँछु), अर्च (गर्छ), सर्साम्दी (स्वस्थ), अरेर (गरेर), उताट (उताबाट), परेम् (प¥यौँ), आम्न (आउन), भच (भएछ), उताट (उताबाट) लगायत थुप्रै शब्दहरु स्थानीय भाषिकाको प्रयोग भएका छन् ।                                      

अन्त्यमा यो उपन्यास आमाको देहवसान भएपछि लेखिएको उपन्यास हो । यसको कथावस्तु आफ्नी जन्मदिने आमाको वियोगमा हरेक छोराछोरीमा हुने वियोगको पीडाले छपक्कै भिजेको छ । आमालाई रोगले च्यापेपछि हतासमा रातविरात गर्दै अस्पताल लगेको तर बचाउन नसकेको चित्रणमा सुरु भई मृत्युसंस्कारका १३ दिने शोक यसभित्र समेटिएको छ । त्यस क्रममा गरुड पुराण, आमाले भनेका पहिलेका कथाहरु, अर्ति उपदेश, लेखक बाँचेको परिवेशको चित्रण पनि समेटिएको छ । स्थानीय भाषाशैली समातेर लेखकले म पात्र मार्फत वर्णनात्मक शैलीमा कथा भनेका छन् । पारिवारिक पीडाले भरिएको उपन्यास भएर पाठकलाई अध्ययनका लागि निरन्तर उत्सुकता जगाइरहने खालको पुस्तक छ । यसले हाम्रो सनातन परम्पराका बारेमा धेरै जानकारी दिन्छ । साथै यसले गरुड पुराणका बारेमा पनि धेरै कुरा भन्ने हुँदा हाम्रा मिथकबारे धेरै जानकारी दिन्छ ।                                                                             

लेखक : खगराज बराल

विधा : उपन्यास

प्रकाशक : साङ्ग्रिला पुस्तक प्रालि. काठमाडौँ

प्रकाशन : २०७७

पृष्ठ सङ्ख्या : २७२ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहनप्रसाद दाहाल
मोहनप्रसाद दाहाल
लेखकबाट थप