शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हुम्लामा पनि ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम

सोमबार, २५ साउन २०७८, १७ : ३१
सोमबार, २५ साउन २०७८

जिल्ला प्रहरी कार्यालय हुम्लाले कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण दर बढेपछि सदरमुकाम सिमकोटमा कोरोना महामारीविरुद्ध जोगिन ‘तपाईको मास्क खोइ’? अभियान शुरु गरेको छ । 

शनिबारदेखि अभियान शुरु भएसँगै बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरिरहेका सर्वसाधरणलाई मास्कसमेत वितरण गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घ संस्थाले  ‘तपाईको मास्क खै’ अभियान शुरु गरेका हुन्  । 

केही दिन अघिबाट शुरु भएको अभियान निरन्तर रहने भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । सदरमुकाम सिमकोटसहित जिल्लाभर निषेधाज्ञा खुकुलो भएसँगै नागरिकको आवतजावत बढेको र नागरिकले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नेतर्फ ध्यान नदिएकाले उनीहरूलाई सचेत बनाउन मास्क वितरणसँगै  ‘तपाईको मास्क खोई’ ? अभियान शुरु गरिएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

सदरमुकाम सिमकोटको बजार क्षेत्रमा प्रहरीले दैनिक कोरोना सङ्क्रमणबाट बच्नका लागि सचेतनामूलक सन्देश दिएर माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । साउन महिना शुरु भएसँगै हुम्लामा कोभिड–१९ को सङ्क्रमण दर उकालो लागेको छ । 
    
असार शुरु भएसँगै सङ्क्रमितको सङ्ख्या घट्ने र कोरोनालाई जितेर घर जानेको सङ्ख्या बढ्ने गरेको थियो भने साउन लागेसँगै माथिल्लो हुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । त्यो समयमा कोरोना रोकथाम तथा नियन्त्रण हुनुमा निषेधाज्ञा पनि मुख्य कारण थियो । स्थानीय प्रशासनले कोरोना सङ्क्रमणमा कमी आएसँगै निषेधाज्ञालाई खुकुलो पार्दै लगेपछि सङ्क्रमण दर फेरि उकालो लाग्न थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप