शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्पष्टीकरण मागिएका रेल्वेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईको प्रतिप्रश्न– देउवालाई कारवाही गर्नु नपर्ने ?

सोमबार, २५ साउन २०७८, १७ : ०५
सोमबार, २५ साउन २०७८


 सरकारले स्पष्टीकरण माग गरेका रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सामाजिक सञ्जालमा प्रतिप्रश्न गरेका छन् । आफ्नो फेसबुकमा उनले आफूलाई नेपाल सरकारले स्पष्टीकरण लिने विषयमा सरकारका प्रवक्ताले कारण खुलाइसकेको र त्यस सम्बन्धी विषय सार्वजनिक सञ्चार माध्यममा आइसकेको भन्दै स्पष्टीकरण लिने निर्णय सार्वजनिक गरिसकेर पनि सरकारले आफूलाई पठाएको पत्र भने ‘अन्त्यन्त जरुरी’ र ‘गोप्य’ भनेर पठाएको खुलासा गरेका छन् ।

‘सञ्चारमाध्यममा सार्वजनिक गरेर मलाई गोप्य पत्र लेख्नुको औचित्य के हो ? मैले बुझ्दिनँ,’ फेसबुकमा उनले लेखेका छन्, ‘मैले पत्र प्राप्त गरेको छु र त्यस पत्रमा मलाई रेल सञ्चालन सम्बन्धमा पाएको जिम्मेवारी पूरा नगरेको वा कार्य सम्पादन नगरेको विषय केही पनि उल्लेख छैन ।’

उनका अनुसार पत्रमा ‘सामाजिक सञ्जालमा नेपाल सरकार र त्यसका पदाधिकारीको आलोचना गरेको, अदालतका फैसलाहरुमा टिप्पणी गरेको, राजनीतिक दल र तिनका नेताहरुलाई अशोभनीय शैलीमा टिप्पणी गरी सार्वजनिक पदाधिकारीले पालन गर्नुपर्ने आचरण पालन नगरेको’ आरोप छ । उल्लेखित आरोपका साथ ‘सार्वजनिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड ‘घ’ बमोजिम खराब आचरण वा इमान्दारीपूर्वक पदीय जिम्मेवारी पूरा नगरेकोले पदबाट किन नहटाउने ?’ भन्ने प्रश्न स्पष्टीकरण पत्रमा गरिएको उनले जनाएका छन् । 

फेसबुकमा उनले लेखेका छन्, ‘मैले यसको जवाफसहित प्रतिवाद त गर्ने नै छु । त्यस पहिल्यै मैले केही कुरा स्पष्ट पार्न चाहन्छु ।’ 

उनले अगाडि लेखेका छन्, ‘मैले सामाजिक सञ्जालमा सरकारकाबिरुद्ध लेखेको भए म पदमा आएको १३ महिनामा यस सम्बन्धी विषयमा प्रश्न किन सोधिएन ? १३ महिना सेवामा रहँदा सरकारको आलोचना भएन, नयाँ सरकार आएको २२ दिनमा मैले सरकारको आलोचना गरे ?’

सरकारको आलोचना गर्न पाइँदैन भन्ने कुरा आफ्नो नियुक्ति आकर्षित हुने मापदन्ड २०७७ को दफा ९ को खण्ड ‘घ’ मा कहाँ उल्लेख छ भन्ने प्रश्न गर्दै उनले आफूले त्यो म पढ्न र हेर्न चाहेको पनि बताएका छन् ।

‘म उभिएको लोकतन्त्रमा अदालतको फैसला मान्दिनँ भन्न पाइँदैन तर अदालतको फैसला ठिक भएन भनेर टिप्पणी गर्न मैले नपाउने यो कुन शासन हो ?,’ उनले प्रश्न गरेका छन्, ‘त्यसो हो भने अदालतले हामीले भनेको अनुसार फैसला भएन भने सर्वोच्चका न्यायाधीशलाई सडकबाट तह लगाउँछौ भन्ने माधव–प्रचण्डहरुका अभिव्यक्तिलाई के भन्ने ? खुमबहादुर खड्का, गोविन्दराज जोशी, जयप्रसाद गुप्ता, चिरिन्जिवी वाग्लेहरुले भ्रष्टाचार गरेर अदालतले जेल सजाय तोक्दा त्यसको अधिकारिक रुपमा विरोध गर्ने नेपाली काँग्रेस र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई आचरण सम्बन्धी कारबाही गर्नु पर्ने कि नपर्ने ?’
आफूले राजननीतिक दलका नेतालाई अशोभनीय टिप्पणी गरेको भनेर माधव नेपाल र प्रचण्डको भाषा स्पष्टीकरणमा संलग्न गरिएको उनको आरोप छ । ‘माधव नेपाल र प्रचण्डहरुले यो देशको सिटिङ पूर्व प्रधानमन्त्रीलाई प्रयोग गरेका भाषा मैले प्रयोग गरेजस्तो मात्रै छन् ?’ उनले भनेका छन्, ‘प्रधानमन्त्रीलाई सन्की भन्ने, राष्ट्रपतिलाई प्रधानमन्त्रीको किचेन क्याबिनेट भन्ने, अमर्यादित निक्रिष्ट स्तरको टिप्पणी गर्ने, राष्ट्रपतिलाई बालकोट गएर बस भन्ने त्यस्ता हुतिहारा, पद र पैसाको निम्ति मानसिक सन्तुलन गुमाएर बर्बराउने नेताहरुले एउटा आम नागरिकलाई एउटा जाबो सहसचिवस्तरको पद झुण्ड्याएपछि मुखमा ताला लगाउन खोज्न्ने ?’

आफूले शून्यमा रहेको संस्थालाई जीवन दिएर नेपालमा आधुनिक प्रविधियुक्त रेल सञ्चालनको आधार तयार गरेको उनको दाबी छ । ‘अब आफ्नो निर्वाचन घोषणापत्रको गातामै रेलको फोटो हालेर भोट माग्ने वर्तमान सरकारले एकै महिना हैन, अर्को ६ महिनाभित्र रेल सञ्चालन गरेर हेरोस्, म त्यो हेर्न आतुर छु,’ उनले भनेका छन्, ‘यदि सकेन भने फेरि अर्को समयमा यही गुरु भट्टराई आएर रेल सञ्चालन गर्ने छ । म चुनौती दिन चाहन्छु ।’ 

आफू तुच्छ जागिर खान नआएको पनि उनले प्रस्ट पारेका छन् । चेतावनी शैलीमा उनले भनेका छन्, ‘मुलुक बनाउन इमान्दारिताका साथ काम गर्नेहरुलाई हेर्ने राज्यको दृष्टिकोण यही रहे त्यस्ता राजनीतिज्ञको राजनीतिक जीवनको चिहान धेरै गहिरो छैन । हिसाब किताब गर्ने म जस्तै नागरिक हुन् ।’

आफूलाई जुन मापदण्ड अन्न्तर्गत स्पष्टीकरण सोधिएको छ, त्यस अनुसार सोधिएका विषय त्यहाँ एउटा पनि उल्लेख नभएको उनको भनाइ छ । उनले भनेका छन्, ‘जुन मापदन्ड कोट गरिएको छ र मलाई जे सोधिएको छ, त्यो दुईको गोरु बेचेको साइनो पनि लाग्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप