शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तन : आईपीसीसीको रिपोर्ट मानवताका लागि ‘खतराको घण्टी’

२०३० सम्म विश्वको तापक्रम १.५ डिग्रीले बढ्ने
सोमबार, २५ साउन २०७८, १६ : ३१
सोमबार, २५ साउन २०७८

संयुक्त राष्ट्र सङ्घले विश्वको तापक्रम तीव्ररुपमा बढिरहेको र यसका लागि मानव जाति जिम्मेवार भएको बताएको छ । इन्टरगर्भमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) ले आफ्नो रिपोर्टमा पृथ्वीको सतहको औसत तापक्रम २०३० सम्म १.५ डिग्री सेल्सियसले बढ्ने प्रक्षेपण गरेको हो। यो बढोत्तरी यसअघिको पूर्वामानुमानभन्दा एक दशक पहिले नै हुने बताइएको छ ।

रिपोर्टमा बढ्दो तापक्रमले विश्वभर मौसमसँग जोडिएका भयङ्कर विपद्हरू आउने उल्लेख छ । विश्वले अहिले नै हिउँ पग्लिने, समुद्रको जलस्तर बढ्नेलगायत समस्यासँग जुध्दै आइरहेको छ । प्यानलको नेतृत्व गरिरहेकी भेलरी मेसन डेलोमोटका अनुसार केही बदलाव सय वा हजार वर्षसम्म जारी रहनेछ । यसलाई केवल उत्सर्जनको कमीले मात्र कम गर्न सकिने उनको भनाइ छ । रिपोर्टमा वायुमण्डलको तापक्रम बढाउने ग्यासको उत्सर्जन जुन तरिकाले जारी छ, यसले दुई दशकमा नै तापमानको सीमा भत्काउने चेतावनीसमेत दिइएको छ ।

यस अध्ययनमा जोडिएका शोधकर्ताका अनुसार अहिलेको अवस्थालाई हेर्दा यो शताब्दीको अन्त्यसम्म समुद्रको जलस्तर लगभग २ मिटरले बढ्न सक्ने आशङ्का गरिएको छ । ग्रीन हाउस ग्यासको उत्सर्जनमा ठूलो कटौती गर्न सकेमात्र तापक्रम वृद्धिलाई स्थिर गर्न सकिने शोधकर्ताहरूले बताएका छन् । 

संयुक्त राष्ट्रको आईपीसीसीको ४२ पन्नाको यस रिपोर्टलाई नीति निर्माताका लागि सारांशको रूपमा लिने गरिन्छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटिएरेजले आईपीसीसी वर्किङ ग्रुपको पहिलो रिपोर्ट मानवताको लागि खतराको सङ्केत भएको बताएका छन् । उनले सबैजना मिलेर जलवायुको त्रासदीलाई टार्न सकिने बताउँदै यसमा अब ढिलाइ गर्न नहुने बताएका छन् । 

आईपीसीसीले १४ हजारभन्दा बढी वैज्ञानिक दस्तावेजको अध्ययन गरेपछि यो रिपोर्ट तयार गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप