सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि

सोमबार, २५ साउन २०७८, १५ : ५६
सोमबार, २५ साउन २०७८

बागमती प्रदेशमा आत्महत्याका घटनामा वृद्धि आएको छ ।  बागमती प्रदेशका १३ जिल्लामा विगतको आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०७७/०७८ मा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष ०७७/०७८ मा आत्महत्याका घटनामा १०.८० प्रतिशतले वृद्धि भएको हो । 

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बागमती प्रदेशमा कूल ९ सय ३५ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ३६ जनाले आत्महत्या प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्क रहेको छ ।

बागमती प्रदेशमा विष सेवन, भुण्डिएर, हाम फालेर र अन्य केही माध्यमको प्रयोग गरी आत्महत्या हुने गरेको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश हेटौँडाका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

 

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा प्रदेशमा झुण्डिएर गरेर सबैभन्दा बढी झुण्डिएर ६९७ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै विष सेवन गरेर २ सय २२ जना, पानी वा भीरमा हाम फालेर १२ जना र अन्य धारिलो हात हतियारको प्रयोग गरेर ४ जनाले आत्महत्या गरेका थिए ।

गत आर्थिक वर्ष २०७७/७८ मा भने झुण्डिएर ७ सय ७७ जना, विष सेवन गरेर २ सय ४३ जना, आफ्नै ज्यानमा आगो लगाएर २ जना, पानी वा भीरबाट हाम फालेर १२ जना र करेन्ट लगाएर २ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

आत्महत्या गर्नेको सङ्ख्या चितवनमा सबैभन्दा बढी 

जिल्लागत रूपमा हेर्ने हो भने बागमती प्रदेशको १३ वटा जिल्ला मध्ये चितवनमा सबैभन्दा बढी व्यक्तिहरूले आत्महत्या गरेका छन् । 

गत आर्थिक वर्ष २०७७/७८ मा चितवनका २ सय १९ जनाले आत्महत्या गरेका छन् भने अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १ सय ७९ जनाले विभिन्न माध्यमको प्रयोग गरी आत्महत्या गरेका छन् । 

त्यस्तै गत आर्थिक वर्ष २०७७/०७८ मा मकवानपुरका १ सय ४० जना, सिन्धुलीका ६२ जना, रामेछापका ६५ जना, दोलखाका ७० जना, काभ्रेका १ सय ३६ जना, सिन्धुपाल्चोकका १ सय १० जना, नुवाकोटका ८६ जना, धादिङका १ जना ४२ र रसुवाका ६ जनाले विभिन्न माध्यमको प्रयोग गरी आत्महत्या गरेको प्रहरीले उल्लेख गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भने मकवानपुरमा १ सय ४६ जना, सिन्धुली ८१ जना, रामेछापका ५० जना, दोलखाका ५८ जना, काभ्रेका १ सय ३६ जना, सिन्धुपाल्चोक १ सय १५ जना, नुवाकोटका ६५ जना, धादिङका ९७ जना र रसुवाको ८ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

आत्महत्या दुरुत्साहन मुद्दा दर्तामा कमी

बागमती प्रदेशमा आत्महत्याको घटनामा वृद्धि आए पनि आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्तामा भने कमी आएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा दर्तामा कमी आएको छ । 

बागमती प्रदेशका १३ जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा आत्महत्या दुरुत्साहन सम्बन्धी कूल १५ वटा मुद्दा दर्ता भएको थियो भने गत आर्थिक वर्ष २०७७/०७८ मा १४ वटा मात्र आत्महत्या दुरुत्साहनका मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा चितवनमा ७ वटा, दोलखामा २ वटा, काभ्रेमा ३ वटा, सिन्धुपाल्चोकमा १ वटा, नुवाकोटमा १ वटा र धादिङमा १ वटा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

गत आर्थिक वर्ष २०७७/०७८ मा भने चितवनमा ३ वटा, सिन्धुलीमा ३ वटा, रामेछापमा १ वटा, सिन्धुपाल्चोकमा ४ वटा, नुवाकोटमा १ वटा र धादिङमा ३ वटा मुद्दा दर्ता भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप