शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

माधव पक्षको रणनीति : केपी ओलीको भण्डाफोर, समानान्तर गतिविधि

सोमबार, २५ साउन २०७८, १५ : ०४
सोमबार, २५ साउन २०७८


काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा शुक्रबार सम्पन्न माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओली पक्षलाई बैठक रोकेर सहमतिमा आउन आग्रह गरेको थियो । ओली पक्षले गर्न लागेको बैठक, सदस्यता नवीकरण र स्थानीय तहका अधिवेशनहरू रोक्न माधव पक्षको माग थियो ।

तर, माधव पक्षको मागलाई बेवास्ता गर्दै सोमबार केपी ओलीको अध्यक्षतामा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बोलाइएको छ । २४ गते आइतबार बस्ने भनिएको बैठक दस्तावेज लेखन लगायतको आन्तरिक तयारी नपुगेकाले मात्रै सोमबार सारिएको हो ।

अब ओली पक्षले एक्लै अगाडि बढ्न खोजेपछि माधव नेपाल पक्षले कस्तो रणनीति अपनाउला ? यसबारे एमालेभित्र र बाहिर चासो बढेको छ ।      

के हो माधव पक्षको माग ?

शुक्रबार सम्पन्न नेपाल पक्षको बैठकको निर्णयमा भनिएको थियो, ‘पार्टी एकताका लागि कुराकानी र वार्ता चलिरहेको अवस्थामा एकपक्षीय ढंगले सदस्यता नवीकरण, अधिवेशन, पुनर्गठन र सम्मेलन गर्नेजस्ता काम अघि बढाउनु एकतालाई भाँजो हाल्ने काम हुन जान्छ । त्यसैले तत्काल सदस्यता नवीकरण लगायतका सबै संगठनात्मक गतिविधि रोक्न यो बैठक सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

करिब ७० जना केन्द्रीय सदस्यको उपस्थितिमा बसेको माधव पक्षको बैठकले पार्टी एकताको सम्भावना औंल्याउँदै आफ्नो निर्णयमा भनेको थियो, ‘अहिलेसम्म भएका १० बुँदे सहमति लगायतका सहमतिहरुले एकताको आधार तयार गरेका छन् । १० बुँदे लगायतका सहमतिलाई कार्यान्वयन गर्दै एकताका थप आधारहरू तयार पार्न कुराकानी र वार्ता निरन्तर भइरहेको छ । हामीले पार्टीलाई एकतावद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न आवश्यक छ ।’

कार्यदलले एकताका लागि प्रयत्न गरिरहेको बताउँदै नेपाल समूहको केन्द्रीय कमिटी बैठकले यस सम्बन्धमा थप निर्णयहरु गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको थियो ।

सुरुमा माधव नेपाल पक्षले ०७५ साल जेठ २ मा फर्कनुपर्ने माग राखेको थियो । महाधिवेशन आयोजक कमिटी विघटन गरेर पार्टीलाई पूर्वसंरचनामै फर्काउनुपर्ने उसको अडान थियो । ओली पक्ष जेठ २ मा फर्कन तयार त भयो, तर पूर्वमाओवादीका बादल समूहका नेताहरुलाई साथमै राखेर एकतर्फी बैठकबाट जेठ २ मा फर्कने निर्णय भएको भन्दै माधव नेपाल समूह बैठकमा गएन ।

यस्तै गोलचक्कर चलिरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते अकस्मात् विश्वासको मत लिने निर्णय गरे, जसले माधव नेपाल पक्षलाई नैतिक संकट आइलाग्यो । यसका बावजुद माधव नेपालसहित २२ सांसदले प्रधानमन्त्री देउवाको पक्षमा मतदान गरे । नेपाल पक्षकै केही सांसदले मतदान गरेनन् भने ओली पक्षबाट प्रेम आलेसहित ८ सांसदले देउवालाई भोट हाले ।

देउवालाई विश्वासको मत दिएलगत्तै माधव नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधियो । तर, बीचैमा ओलीले ‘आम माफी’ को घोषणा गरे । यद्यपि यो आम माफीको घोषणालाई माधव नेपालले ‘महाराजाधिराजबाट आम माफी भयो रे’ भन्दै व्यंग्य गरे ।

यही क्रममा पार्टी एकताका लागि आगामी महाधिवेशनसम्म बराबरी हैसियतमा दुईजना अध्यक्ष बनाएर जान सकिने प्रस्ताव एमालेभित्र जन्मियो । यो प्रस्तावमा ओलीले सकारात्मक रहेको बताए भने माधव नेपालले चाहिँ आफू दोस्रो अध्यक्ष नबन्ने तर अरुलाई दोस्रो  अध्यक्ष बनाएर अघि बढेमा सहयोग रहने बचन दिए ।

अन्तिमसम्म आइपुग्दा ओली समूहले माधव पक्षलाई दोस्रो अध्यक्ष पनि नदिने र महाधिवेशनको तयारीमा अघि बढ्ने निर्णय लिएको छ । यसैको तयारीस्वरुप भदौको तेस्रो साता विधान अधिवेशन गरेर विधान संशोधन गर्ने, वडा अधिवेशन र पालिका अधिवेशनहरू गर्ने र सदस्यता नवीकरण गर्नेसम्मको तयारीमा ओली समूह अगाडि बढेको छ ।  

जेठ २ मा फर्कनेदेखि शुरु भएर दोस्रो अध्यक्ष हुँदै अहिले माधव नेपाल पक्षको माग राजनीतिक एजेण्डातर्फ ‘डाइभर्ट’ हुन थालेको छ । जस्तो कि– संसद विघटन गरेकोमा ओलीले आत्मालोचना गर्नुपर्ने, संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई आत्मसाथ गर्नुपर्ने, पुनःस्थापित संसदलाई पूरै कार्यकाल चल्न दिनुपर्ने र देउवा सरकारलाई ढालेर केपी ओलीले पुनः प्रधानमन्त्री बन्ने कसरत रोक्नुपर्ने माधव नेपाल पक्षका राजनीतिक मागहरु हुन् । यी मागहरुलाई पार्टी एकताको बटमलाइनका रुपमा माधव नेपाल पक्षले अगाडि सारेको देखिन्छ ।

माधव नेपाल पक्षले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने निर्णय गरिरहँदा ओली पक्षले चाहिँ अदालतको फैसलाको देशव्यापी भण्डाफोर गर्ने यसअघि नै निर्णय गरिसकेको छ । त्यसैगरी, नेपाल पक्षले देउवा सरकारलाई विश्वासको मत दिएको छ भने ओली पक्षले विपक्षमा भोट हालेको अवस्था छ ।  यसरी दुई समूहमा जेठ २ मा फर्कने प्राविधिक सहमति जुटे पनि राजनीतिक एजेण्डामा चाहिँ झन् झन् दुरी बढ्दै गएको छ ।

के हो माधव पक्षको भावी रणनीति ?

विहीबार र शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुले तीन/तीन मिनेट बोलेका थिए । सुझाव दिनेमध्ये बहुमत सदस्यहरुले केपी ओलीसँग झुक्न नहुने र आवश्यक परे नयाँ पार्टी खोज्नुपर्ने बताएका थिए ।

केही सीमित नेताहरुले चाहिँ ओलीलाई ‘सरप्राइज’ दिँदै निःशर्त मिल्न माधव नेपाललाई सुझाएका थिए । एक नेताले त्यसो भनिरहँदा बैठक हलमा हाँसो छाएको थियो । बैठकको मूल ‘ट्रेन’ विद्रोहकै पक्षमा देखिएको नेताहरु बताउँछन् ।

अन्ततः दुई दिने बैठकले कार्यदलले एकताको प्रयास जारी राखेको भन्दै एकतामा जोड दिने र थप निर्णय स्थायी कमिटीले लिने बताएको थियो ।

तर, बुद्धनगर बैठकले माग गरेअनुसार ओली पक्ष लचिलो नदेखिएको र एकतर्फी रुपमै अघि बढेको हुनाले अब माधव नेपाल पक्षको रणनीति कस्तो होला ?

यो प्रश्नमा माधव नेपाल पक्षका एक नेताले रातोपाटीसँग भने, ‘ओलीजीले एम्नेस्टी इज ग्रान्डेड भनिसक्नुभएको हुनाले अब कारवाही पक्कै गर्नुहुन्न होला, कारवाही भयो भने पार्टी विभाजन हुन्छ ।’

यदि कारवाही भएन, तर एकलौटी ढंगबाट अघि बढ्न खोजियो भने  एमालेमै रहेर देशव्यापीरुपमा केपी ओलीको भण्डाफोर गर्ने र आफूहरुले पनि समानान्तर रुपमा पार्टीका कार्यक्रमहरु स्थानीय तहसम्म लिएर जाने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप