शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ओली समूहमा ‘हार्डलाइनर’ हावी, सुवास नेम्वाङ निराश

सोमबार, २५ साउन २०७८, १३ : २५
सोमबार, २५ साउन २०७८


काठमाडौं । नेकपा एमालेको केपी ओली समूहमै मूलतः दुई धार देखा परेका छन् । दुईमध्ये एउटा धार शक्तिशाली हुँदा अर्को धार कमजोर हुने सिलसिला शुरु भएको छ ।

ओली समूहभित्र नेकपा हुँदैदेखि एउटा धारको नेतृत्व ईश्वर पोखरेल, विष्णु रिमाल लगायतले गर्दै आएका थिए । यो धारमा पोखरेल र रिमालबाहेक ओली नजिकका अन्य नेताहरु पनि सहभागी हुँदै आएका छन्, जसमा पछिल्लो समय शंकर पोखरेल थपिएका छन् ।

उता, अर्को धारको नेतृत्व एमाले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ लगायतका नेताहरुले गरेका छन् । यो धारमा विष्णु पौडेल पनि समाविष्ट छन् ।

ओली समूहमा ईश्वर पोखरेल नेतृत्वको धारलाई ‘हार्डलाइनर’ भनेर बुझिन्छ । जबकि यो धारका नेताहरु ओलीबाहेक अरु कसैलाई नेता मान्न तयार नहुने मात्रै होइन कि पार्टीका आन्तरिक विवादमा समेत यो वा त्यो बहानामा मिल्नै लागेका विषयमा समेत अड्को थापेर बिथोल्ने काम गर्छन् ।

‘ओली समूहमा दुई धार प्रष्ट छ । एउटा धारको नेतृत्व ईश्वर पोखरेल लगायतका नेताले गर्छन् भने अर्को धारको नेतृत्व सुवास नेम्वाङलगायतले गर्छन् । पोखरेल नेतृत्वको धार आफूलाई ओलीको ‘हार्डलाइनर’ भन्न रुचाउँछ । जो ओलीले गर्ने हरेक निर्णयमा हावी हुन खोज्छ’, ओली निकट एमालेका एक स्थायी समिति सदस्य भन्छन्, ‘नेम्वाङ धार भने अलि सफ्ट छ । जसले पार्टीका विवाद मिलाउन मध्यमार्गी उपायको खोजी गर्ने गरेको छ । तर, यो धारको प्रयासलाई पोखरेल नेतृत्वको धारले मन पराउँदैन ।’

खासगरी ओली समूहमै विभाजित फरक धारका नेताहरुले ओलीलाई आफ्नो पक्षमा ल्याउने कसरत गर्दै आएका छन् । ओलीले चाहिँ पार्टीभित्र आइपर्ने समस्याका बारेमा यी दुवै धारलाई प्रयोग गर्दै आफ्ना स्टेपहरु चाल्ने गरेका छन् । तर, यसरी कदम चाल्दा एउटा पक्ष सधैं असन्तुष्ट हुने गर्दछ ।

ओली समूहका ती नेता रातोपाटीसँगको अनौपचारिक कुराकानीमा भन्छन्, ‘संसद विघटन गर्ने क्रममा पनि दुई धारबीच एकमत हुन सकेन । त्यतिमात्रै होइन, पछिल्लो समय एमाले एकताको प्रयासमा पनि दुईधार कहिल्यै एकमत भएन ।’

उनका अनुसार माधव पक्षसँग एकता गर्ने सवालमा पनि ईश्वर पोखरेल र सुवास नेम्वाङको फरक–फरक बुझाइ छ । नेम्वाङ पक्ष शक्ति बाँडफाँट गरेर भए पनि एकता गर्नुपर्ने पक्षमा छ भने पोखरेल पक्ष कुनै हालतमा माधव नेपालसँग शक्ति बाँडफाँट गर्नुहुँदैन भन्ने पक्षमा छ ।

यही दुई धारका कारण केही समयअघि ओलीले आफ्ना निकटस्थहरुमार्फत माधव नेपाललाई अध्यक्ष बनाएर अघि बढ्न सकिने बताएका थिए । ओली यसमा सहमत भएपछि नेताहरुले माधव नेपालसमक्षलाई सोही सन्देश सुनाएका थिए । त्यसमा नेता नेपालसमेत लचक भएपछि एमाले विवाद समाधानउन्मुख भएको आँकलन समेत गरिएको थियो ।

तर, यो कुरा थाहा पाएपछि पुनः ओली समूहको पोखरेल धारले असहमति जनायो । पोखरेल समूहले असहमति जनाएपछि ओली आफैंले गरेको दुई अध्यक्षको प्रस्तावबाट पछि हट्न पुगेका छन् । जसले गर्दा सफ्ट धारवाला सुवास नेम्वाङहरु अहिले निराश बन्न पुगेका छन् । 

स्रोतका अनुसार गत साउनको पहिलो साता एमालेको ओली पक्षले माधव नेपाल समूहका २२ नेतालाई स्पष्टीकरण सोधेर कारवाही गर्न बैठक बोलाएको थियो । तर, सुवास नेम्वाङ लगायतका नेताहरुले कार्यदलले एकता प्रस्ताव तयार पारेको र एकता वार्ता समेत जारी रहेको भन्दै माधव समुहका नेताहरुमाथिको कारवाही रोक्न सफल भएका थिए ।

यसपछि माधव पक्षलाई कारवाही गर्नुपर्छ भन्ने पोखरेल खेमाका नेताहरु तुलसीलाल प्रतिष्ठानमा आयोजित स्थायी समिति बैठकपछि निरास भएर फर्केका थिए । माधव नेपाल समूहलाई कारवाहीको घोषणा हुन्छ भन्ने सोचेका पोखरेल खेमाका नेताहरु अध्यक्ष ओलीले एकाएक ‘एम्नेष्टी इज ग्रान्टेड’ भनेपछि ब्याक हुन बाध्य भएका थिए ।

योबीचमा एमाले एकताका लागि ओली र माधव समुहका दोस्रो तहका नेताहरुले अनेकन प्रयासहरु गरे । त्यसका लागि ओली र नेपाल दुवैलाई भेटेर उनीहरुले कुराकानी समेत गरे । माधव पक्षको केन्द्रीय समिति बैठक यही विचमा बस्यो भने ओली पक्षको स्थायी समिति बैठक पनि बस्यो ।

माधव पक्षले ओली पक्षलाई विधान महाधिवेशन लगायतका सांगठनिक प्रक्रिया अघि नबढाउन ओली पक्षको ध्यानाकर्षण नै गरायो । विधान संशोधन लगायतका प्रक्रिया अघि बढाउन बोलाएको केन्द्रीय समिति बैठक रोक्न माधव पक्षले आग्रह गरेको थियो । तर, अध्यक्ष ओलीले आइतबारको बैठक एक दिन मात्रै पर सारे । जब कि उक्त दिनको बैठक पर सार्नुमा माधव नेपाल पक्षको भावना समेट्न नभई आफ्नै समूहका नेताहरुले प्रतिवेदन तयार पार्न नसकेकाले हो । तर, ओली पक्षले माधव समूहको मागअनुसार बैठक एक दिन पर सारेको भनेर प्रचार गरे ।  

आजको बैठकमा को हावी होला ?

बैठक रोक्ने माधव समूहको मागविपरीत ओली पक्षको आज केन्द्रीय समिति बैठक बस्दैछ । केन्द्रीय समिति बैठकअघि बस्ने स्थायी समितिबाट अध्यक्ष ओलीको राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमखु विष्णु पौडेलको विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिनेछ ।

स्थायी समितिमा तीनवटै प्रतिवेदनमा एकमत बनाएर केन्द्रीय समितिमा पेश गर्ने तयारी छ । यी तीनवटै प्रस्ताव पारित गर्ने र महाधिवेशनको प्रक्रिया अघि बढाउने पक्षमा ओलीसहितका नेताहरु लागेका छन् ।

तर, नेम्वाङ पक्षका नेताहरु अझै पनि पार्टी एकताका लागि केही दिन पर्खेर मात्रै यी बैठकहरू राख्नुपर्ने पक्षमा छन् । नेम्वाङ धारको यो प्रस्तावमा पोखरेल पक्षले असहमति जनाएको बुझिएको छ । यदि आजको बैठकबाट ओली समूहले फटाफट सबै निर्णय गरेर अघि बढेमा एमाले एकताप्रति ओली समूह नै इमान्दार नभएको सन्देश जाने एमालेका एक नेताको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप