शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नीतिकथा : भाग्य निर्माणको तरिका

सोमबार, २५ साउन २०७८, १० : ४४
सोमबार, २५ साउन २०७८

एकदिन एउटा व्याधा चौतारामा बसेर बाँड बनाउँदै थिए । त्यतैबाट बेहुला लिएर बाजागाजा सहित जन्ती गयो तर उनले थाहै पाएनन् । उनी बाँड बनाउने काममा यति बढी व्यस्त थिए कि त्यसबाहेक अन्यत्र ध्यानै गएन । एकैछिनपछि एक जना सज्जन हस्याङफस्याङ गर्दै आएर सोधे–

‘ओ दाजु ! यताबाट जन्ती गएको देख्नुभयो ?’

ती सज्जन पनि जन्ती नै थिए, जन्त जानै आएका थिए तर घरबाट निस्कन ढिलो भएकाले छलिएका थिए । उनको कुरा सुनेर व्याधाले टाउको हल्लाउँदै भने–

‘खोइ, थाहा भएन ।’

सज्जनले सोधे–

‘कति बेलादेखि यहाँ हुनुहुन्थ्यो र ?’

उत्तरमा उनले भने–

‘छन त बिहानैदेखि छु तर मलाई थाहा भएन ।’

सज्जनले आश्चर्य मान्दै भने–

बिहानैदेखि छु भन्नुहुन्छ फेरि थाहा छैन भन्नुहुन्छ । प्रष्ट भन्नुस् न, किन जिभ्रो चपाउनुुहुन्छ ।’

उनको कुरा सुनेर व्याधाले टाउको उठाउँदै भने–

‘हो भाइ ! प्रष्टै भन्दैछु । म ठहरेँ शिकारी । बाँड अलिकति बाङ्गो भयो भने निशाना चुक्छ र शिकार लाग्दैन । बेलुका परिवार भोकै हुन्छन् । त्यसैले यही काममा यति बढी व्यस्त थिएँ कि अन्यत्र मेरो ध्यानै गएन ।’

भागवतमा व्यासजीले भनेका यस कथामा केकति सत्यता छ उनै जानून् तर यसले लक्ष्य प्राप्त गर्न काममा कति ध्यान दिनुपर्दोरहेछ भन्ने कुराका उत्तर भने राम्रैसँग दिएको छ ।

जीवनमा सबै सफल हुन चाहन्छन् । सफलता सबैको लक्ष्य हुन्छ । सबै सफलताकै कुरा गर्छन् । सफलताकै प्रयास गर्छन् । बालकदेखि वृद्धसम्म सबैको उद्देश्य सफलता हो, प्रयास सफलताको हो । असफलता कसैलाई पनि मन पर्दैन । असफल हुन कसैले पनि काम गरेका हुँदैनन् । विद्यार्थीको उद्देश्य परीक्षामा पास हुनु हो । शिक्षकको उद्देश्य विद्यार्थीलाई पास गराउनु हो । व्यापारीको उद्देश्य पैसा कमाउनु हो, राजनीतिज्ञको उद्देश्य सांसद, मन्त्री, प्रधानमन्त्री हुनु हो । सर्वसाधारण जनताको उद्देश्य सुखपूर्वक जीवन यापन गर्नु हो तर तिनैले मात्र सफलता हासिल गरेका हुन्छन् जोजसले उद्देश्यमा ध्यान दिएका छन्, लक्ष्यमा ध्यान दिएका छन र त्यसलाई पूरा गर्ने काममा ध्यान दिएका हुन्छन् । सफलताको मूल सूत्र भनेकै यही हो ।

उल्लिखित कथाका पात्र व्याधाले भने जस्तै अलिकति मात्र पनि तलमाथि प¥यो भने, चुक भयो भने काम अधुरो हुन्छ र काम अधुरो भएपछि फल पनि अधुरो हुन पुग्छ । आखिर असफलता भनेकै के हो र । यही फल अधुरो हुनु नै त हो । त्यसैले पूरा फल प्राप्त गर्न काम पनि पूरा हुनुपर्छ । यसमा अलिकति पनि चुक हुनुहुँदैन । जुन काममा लागिएको छ त्यसैमा पूरा ध्यान केन्द्रित गर्नुपर्छ । त्यतिबेला संसारै उल्टे पनि त्यसबाट ध्यान हटाउनुहुन्न, हट्न दिनुहुन्न ।

प्रायः मानिस भाग्यको कुरा गर्छन् तर यो भनेको पनि आफैँ हुने कुरा होइन, बनाउनुपर्ने कुरा हो । यो कसैले बनाइदिएर बन्ने कुरा होइन । आफैँले बनाउनुपर्ने कुरा हो । जसरी एउटाले खाएर अर्को अघाउँदैन । आफू अघाउन आफैँले खानुपर्छ त्यसैगरी भाग्य पनि आफैँले बनाउनुपर्छ, अरुले बनाइदिएर बन्दैन, बन्न सक्दैन । अरुले बनाइदिएको भाग्य अरुकै बन्छ । आफ्नो बन्दैन । भाग्य भनेकै यही सफलता नै हो । त्यही सफलताले नै बनाउने हो । काम पूरा भयो त फल प्राप्त भयो, भाग्य पनि बन्यो, काम पूरा भएन, सफलता पनि मिलेन, भाग्य पनि बनेन ।

प्रयास बिना केही पनि हुँदैन । ढलेको सिन्को उठाउन पनि केही न केही गर्नैपर्छ । ‘न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा : ।’ अर्थात् जङ्गलका मृगहरू आफैँ आएर बाघको मुखमा पस्दैन भन्ने नीतिशास्त्रमै उल्लेख छ । सिंहहरू पनि जङ्गलमै बस्छन् । मृग, जरायो, आदि उनीहरूका आहारा पनि जङ्गलमै हुन्छन् । तैपनि तिनैले मात्र आहार प्राप्त गर्न सक्छन्, जसले दौडमा ध्यान पु¥याएका हुन्छन् । यतिबेला अलिकति मात्र ध्यान चुक्यो भने निशाना पनि चुक्छ र उनीहरूले भोकै बस्नुपर्ने हुन्छ । सफलता पनि त्यस्तै हो ।

उदाहरणलाई लोकसेवलाई नै लिन सकिन्छ । लोकसेवा पास गरी जागिर खाने उद्देश्य सबैको हुन्छ । सबैले पढ्छन्, परीक्षा दिन्छन् । सफलता त्यही पढाइमा छ, परीक्षामा छ । अनि फल पनि त्यसैमा छ, सुब्बा छ, खरिदार छ, अधिकृत छ, सचिव, उपसचिव सबै त्यसैमा छ, त्यसैभित्र छ तर सबैलाई सफलता भने सबैलाई मिल्दैन । तिनै परीक्षार्थी मात्र सफल हुन्छन्, जसले पढाइमा बढी ध्यान केन्द्रित गर्न सकेका छन्, लक्ष्यमा ध्यान केद्रित गर्न सकेका छन् । जसले बढी ध्यान केन्द्रित गर्न सक्यो उसले एकैचोटीमा नाम निकाल्यो जसले सकेन उसले पटकपटक दिँदा पनि सकेन । जीवनका हरेक कुरामा यही नियमले काम गरेको हुन्छ ।

हरेक अवस्थामा जुन काम गर्ने हो, जुन काममा जाने हो त्यही हुनुपर्छ । त्यही हुने प्रयास गर्नुपर्छ, त्यही भएर जानुपर्छ । त्यो बाहेक अर्को हुनुहुन्न । बालक समक्ष जाँदा बालक नै भएर जानुपर्छ । वृद्ध समक्ष जाँदा वृद्ध नै भएर जानुपर्छ । यसको अर्थ हो विद्यार्थीले विद्या नै हुनुपर्छ । शिक्षकले शिक्षक नै हुनुपर्छ । कृषकले कृषक नै हुनुपर्छ । व्यापारीले व्यापारी नै हुनुपर्छ । भान्छामा पकाउन जाँदा भान्छे नै हुनुपर्छ । डाइभरले गाडी चलाउँदा डाइभर नै हुनुपर्छ । यस बाहेक अर्को सोच्नु हुँदैन, हुने प्रयास गर्नुहुँदैन । अन्यथा काम अधुरो हुन्छ । काम अधुरो हुनासाथ फल अधुरो हुन्छ र दुःख पाउनुपर्छ ।

सारमा भन्नुपर्दा जो जुन काममा गएको हो त्यही भएर गयो ऊ सफल पनि भयो र सुख पनि पायो । जो एकैसाथ धेरै हुन खोज्यो उसले सफलता पाएन र दुःख बाहेक केही पनि पाएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप