बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको संस्थापन इतर पक्ष जिल्ला सभापतिहरूको बैठक ठमेलमा

सोमबार, २५ साउन २०७८, १० : १०
सोमबार, २५ साउन २०७८

नेपाली काँग्रेसको संस्थापन इतर पक्षीय जिल्ला सभापतिहरूको बैठक बस्दै छ । पार्टीको १४ औँ महाधिवेशनको सुनिश्चितता र सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दबाब सिर्जना गर्न बैठक बस्न लागेको काठमाडौँका जिल्ला सभापति सबुज बानियाँले रातोपाटीलाई जानकारी दिए । आज अपराह्न १२ बजेपछि ठमेलको एक होटेलमा बैठक सुरु हुने छ ।

नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीका अनुसार आजको बैठक करिब ४० जिल्ला सभापति सहभागी हुने छन् । १५ जना बढी अहिले नै बैठक स्थल पुगिसकेको केसीले रातोपाटीलाई बताए ।

उनले भने, ‘समयमा महाधिवेशन गरेर पार्टीलाई वैधानिक सङ्कटबाट जोगाउनुपर्छ । त्यसका लागि हामीले पार्टी नेतृत्वलाई दबाब दिन बैठक बस्दै छौँ ।’ संस्थापन इतरको बैठकमा पार्टीको केन्द्रीय नेताहरूलाई भने बोलाइएको छैन ।

​केसीले भने, ‘हामी जिल्ला सभापतिका बीचमा मात्र छलफल गर्न खोजेका हौँ । केन्द्रीय नेताहरूलाई बोलाइको छैन । आजको बैठक पनि जिल्ला सभापतिहरूको नियमित बैठककै निरन्तरता हो ।’

संस्थापन इतर पक्षका काठमाडौँ उपत्यकामा उपलब्ध करिब २०/२२ जना जिल्ला सभापतिहरुबीच बेला बेला बैठक बस्दै आएको छ । उनीहरूले राष्ट्रिय र आन्तरिक पार्टी राजनीतिबारे साझा धारणा सार्वजनिक गर्दै आएका छन् । पार्टी महाधिवेशन अनिश्चित हुन थालेपछि यसपटक भने संस्थापन पक्षका अधिकांश जिल्ला सभापतिबीच छलफल हुँदैछ । 

केही दिनअघि मात्र जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप