शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यदल गठनका लागि प्रमुख निर्वाचन आयुक्तको निर्देशन

आइतबार, २४ साउन २०७८, १७ : २१
आइतबार, २४ साउन २०७८

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा समन्वय र सहकार्यको भावी रणनीतिसम्बन्धी प्रतिवेदन तयार गर्न कार्यदल गठनका लागि निर्देशन दिएका छन् ।

निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा सहकार्य र समन्वय सम्बन्धमा निर्वाचन आयोगमा जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारीहरूसँग आइतबार भएको अन्तरक्रियाका क्रममा प्रमुख आयुक्त थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनका लागि संविधान प्रदत्त अधिकारको उपयोग गर्दै संघ, प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य अभिवृद्धि गर्न आवश्यक रहेको औंल्याए । उनले यसका लागि आगामी दिनमा सहकार्यको आवश्यकता रहेको भन्दै कार्यदल गठनका लागि निर्देशन दिएका हुन् ।

आयोगका अनुसार कार्यदलमा आयोगबाट सचिवसहित ३ जना तथा प्रत्येक संघ महासंघबाट १÷१ जना जनप्रतिनिधि र १/१ जना कर्मचारी गरी जम्मा ९ जना रहनेछन् । कार्यक्रममा सहभागीहरूले व्यवस्थित र नियमित मतदाता नामावली संकलन, सहज र सुगम मतदान स्थल एवम् मतदान केन्द्रको व्यवस्था, निर्वाचन कार्यालयको भौतिक संरचना, मतदाता शिक्षाको प्रभावकारिता, मितव्ययी र प्रविधिमैत्री निर्वाचन, विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकार लगायतका विषयमा आ–आफ्नो धारणा राखेको आयोगले जनाएको छ । लोकतन्त्रको संस्थागत विकास एवम् सुदृढीकरणका लागि निर्वाचन नै आधारशिला रहेकोले यसका लागि निर्वाचन सम्बन्धी आयोगको हरेक कार्यमा समन्वय र सहकार्यका लागि सहभागी प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् भने आयोगका सचिव सुरेश अधिकारीले स्थानीय तहसँग सहकार्य र समन्वयका सन्दर्भमा भएका संवैधानिक व्यवस्था, कानूनी व्यवस्था, सहयोग एवम् समन्वयका क्षेत्र र आयोगबाट भइरहेका गतिविधिहरूका सन्दर्भमा संक्षिप्त प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा निर्वाचन आयुक्तहरू, महासंघ तथा संघबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, कार्यकारी निर्देशक तथा प्रतिनिधिहरू र आयोगको सचिवालयमा कार्यरत कर्मचारीहरूको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप