उपेन्द्र यादव यसकारण नजान सक्छन् सरकारमा
‘अब प्रधानमन्त्री हुन आँट गर्नुस्, मधेसको मात्र नेता हैन सिँगै देशको नेता बन्न आँट गर्नुस्, हामी तपाईसँग छौं’– जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य हिसिला यमीले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै आफ्नो फेसबुकमा लेखेको कुरा हो यो ।
नेतृ यमीले फेसबुकमा यस्तो धारणा राखेपछि सो पार्टीका नेता तथा कार्यकर्ताहरु कतै उपेन्द्र यादवलाई सरकारमा जानबाट रोक्ने प्रयास त होइन भनेर आशंका गर्न थालेका छन् । यस्तो आशंका उत्पन्न हुनु स्वाभाविक पनि हो ।
उपेन्द्र यादव निकट नेताहरु यसपाली अध्यक्ष यादवलाई सरकारमा जानबाट रोक्न धेरै प्रयास भइरहेको बताउँछन् । त्यसैको नयाँ शृङ्खला अन्तर्गत नेतृ यमीले फेसबुकमा यस्तो धारणा सार्वजनिक गरेको उनीहरुको भनाइ छ ।
पार्टीका कार्यकारिणी समितिका सदस्य महेन्द्र राय यादव भने कसले कहाँ के लेखे भन्ने कुरा पार्टीको सरोकारको विषय नभएको बताउँछन् । ‘जबसम्म पार्टीमा कुनै निर्णय हुँदैन, तबसम्म कुनै कुरालाई आधिकारिक मान्न हुँदैन,’ उनले भने, ‘बजारमा विभिन्न कुरा आइरहेका हुन्छन्, विभिन्न टिप्पणी भइरहेका हुन्छन्, तर जबसम्म पार्टीको आधिकारिक निर्णय हुँदैन, तबसम्म त्यस्ता कुनै कुरा आधिकारिक हुँदैनन् ।’
कार्यकारिणी समितिका सदस्य यादवका अनुसार अहिले पार्टीले सरकारमा जाने निर्णयमात्र गरेको छ, को जाने र को नजाने भन्ने विषयमा छलफल भएको छैन । उनले भने, ‘कतिवटा र कुन कुन मन्त्रालय पाउने भन्ने टुङ्गो लागेपछि मात्र मन्त्री चयनको विषयमा प्रवेश गरिन्छ । आज (आइतबार) सत्तारुढ गठबन्धनको साझा न्युनतम कार्यक्रम सार्वजनिक भएपछि मन्त्री र मन्त्रालयको विषयमा छलफल हुन्छ ।’
अध्यक्ष यादवलाई यसपाली सरकारमा नजान सुझाव दिने काम भइरहेको स्रोत बताउँछ । स्रोतका अनुसार जसपाका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई स्वयंले पनि यसपटक उपेन्द्र यादवलाई सरकारमा नजान सुझाव दिएका छन् ।
कार्यकारिणी सदस्यहरु राजेन्द्र श्रेष्ठलगायतका नेताले पनि निकट भविष्यमा चुनाव हुने भएकाले पार्टीका अध्यक्ष संगठनका काममा व्यस्त रहनुपर्ने भन्दै यादवलाई सरकारमा नजान सुझाव दिएको बताइएको छ । यसअघि पटक पटक सरकारमा सहभागी भइसकेको भन्दै यादवलाई यो पटक नजाँदा केही नबिग्रिने बरु पार्टीलाई फाइदा नै हुने भनेर नेताहरुबाटै सुझाव आइरहेको स्रोत बताउँछ ।
त्यसो त, उपेन्द्र यादवले आफू सरकारमा जाने गरी पार्टीमा निर्णय गराए पनि उनको लागि सहज अवस्था देखिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो क्याबिनेटमा यसपाली उपप्रधानमन्त्री नबनाउने नीति सोच बनाइसकेका छन् । उपप्रधानमन्त्री बनाएको खण्डमा गठबन्धन घटक सबैजसोले उपप्रधानमन्त्रीमा दाबी गर्ने भन्दै देउवाले कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने नीति लिएको बालुवाटार निकट स्रोत बताउँछ ।
प्रधानमन्त्री देउवा उक्त नीतिमा अडिग रहेको अवस्थामा उपेन्द्र यादवका लागि सरकारमा ठाउँ नमिल्न सक्छ । अध्यक्ष यादव यसअघि उपप्रधानमन्त्री भइसकेका कारणले मन्त्रीका रुपमा मात्र सरकारमा सहभागी नहुने उनी निकट नेताहरु बताउँछन् ।
काँग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री देउवासँग मन्त्रीका लागि प्रस्ताव गर्दा उपप्रधानमन्त्री पद विना नै सामेल हुने भएमात्र त्यसबारे सोच्न सकिने जवाफ दिएको स्रोत बताउँछ । स्रोतका अनुसार नेतृ कोइराला समक्ष प्रधानमन्त्री देउवाले यसपाली आफू कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने पक्षमा रहेको जवाफ दिएका थिए ।
काँग्रेसका महामन्त्री शशांक कोइराला निकट स्रोतले पनि प्रधानमन्त्री देउवाले यसपटक कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने योजना बनाएको जनाएको छ । तर काँग्रेसका अर्का महामन्त्री पूर्णबहादुर खड्काले उपप्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा छलफल भइरहेको जनाउँदै अहिले नै कुनै निष्कर्ष ननिस्केको बताए ।
जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारमा नजाने अवस्था सिर्जना भएमा पार्टीका तर्फबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने विषयमा पनि लफडा हुने देखिन्छ । जसपा भित्र पार्टीको नेतृत्व गरेर सरकारमा जाने दाउमा राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, रेणु यादवलगायतका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण