शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

म्याद सकिएको दुग्धजन्य पदार्थ बिक्री वितरण गरिएको डीडीसीद्वारा स्वीकार

आइतबार, २४ साउन २०७८, १५ : ३९
आइतबार, २४ साउन २०७८

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले उपभोग्य मिति गुज्रिएको दुग्धजन्य पदार्थ बिक्री गरिएको स्वीकारेको छ । डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा लकडाउनको समयमा गोदाममा थन्किएर प्याकेजिङमा उल्लेख गरिएको उपभोग्य मिति गुज्रिएको बटर बिक्री गरिएको स्वीकारेको छ । यद्यपि डीडीसीले उपभोग्य मिति गुज्रिए पनि बटरको गुणस्तरमा ह्रास नआएको सो प्रतिवेदनमा दाबी गरेको छ ।

प्याकेजिङ भएको मितिले ८ महिना र १२ महिनासम्म उपभोग गर्न मिल्ने लेखिएको भए पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार त्यसको म्याद प्याकेजिङ भएको मितिले १८ महिना हुने डीडीसीको तर्क छ । बटरको रङ, बास्ना, फ्रि फ्याटी एसिड, पेरोक्साइड भ्यालु, ¥यानसिडीटीलगायतका गुणस्तर कायम रहेको डीडीसीले पठाएको प्रतिवेदनमा उल्लेख रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

डीडीसीले सुजल डेरीबाट बटर ल्याएर आफ्नो गोदाममा राखिएको थियो । प्रतिवेदन अनुसार डेरीबाट ल्याएको बटरको कुनै बाकसमा वेस्ट विफोर आठ महिना र कुनैमा वेस्ट विफोर १२ महिना उल्लेख थियो । उल्लेख म्यादको समयपश्चात ती बटर कच्चा पदार्थको रुपमा प्रयोग गरिएको डीडीसीले स्वीकार गरेको छ ।

संस्थानमा मौज्दात सम्पूर्ण बटर कोडेक्स अनुसार प्याकेजिङमा उल्लेखित मिति पश्चात पनि गुणस्तरयुक्त रहेमा प्रयोग गर्न सकिने डीडीसको प्रतिवेदनमा उल्लेख छ । कोरोनाको पहिलो लहरमा देशभर लकडाउनका कारण डीडीसीबाट उत्पादित दुग्ध पदार्थको बिक्री वितरणमा समस्या भएपछि ठुलो परिमाणमा बटरको मौज्दात रहेको र उक्त बटर प्रयोग गर्नका लागि योग्य नै रहेका कारण बिक्री गरिएको डीडीसीको जिकिर छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०७७ असोज २९ गते अनुगमन गर्दा बटर राखिएको गोदाम व्यवस्थित नभएको र त्यसलाई व्यवस्थित गर्न निर्देशन दिएको डीडीसीले प्रतिवेदनमा पनि उल्लेख गरेको छ । गोदाम व्यवस्थित नभएको कारण दुध तथा दुग्ध पदार्थको गुणस्तरमा कमी आएको ठहर विभागले गरेको थियो । गोदामलाई व्यवस्थित गरी दुग्धजन्य पदार्थलाई नियन्त्रण गर्न विभागले निर्देशन दिएको थियो । तर सो निर्देशनलाई डीडीसीले उल्लंघन गरेपछि विभागले अदालतमा मुद्दा दायर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप