बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णालीमा बढ्दै कोरोना, घट्दै सावधानी !

जनस्वास्थ्यविद् भन्छन्– कर्णालीमा भयावह स्थिति आउन सक्छ
आइतबार, २४ साउन २०७८, १५ : ३७
आइतबार, २४ साउन २०७८

कर्णालीमा साउन महिना सुरु भएसँगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर उकालो लाग्दो छ । असार सुरु भएसँगै संक्रमितको संख्या घट्ने र कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या बढ्ने गरेको थियो ।

त्यो समयमा कोरोना रोकथाम तथा नियन्त्रण हुनुमा निषेधाज्ञा पनि मुख्य कारण थियो । स्थानीय प्रशासनहरुले कोरोना संक्रमणमा कमी आएसँगै निषेधाज्ञालाई खुकुलो पार्दै लगेपछि संक्रमण दर फेरि उकालो लाग्न थालेको छ । परिणामस्वरुप प्रदेशमा सक्रिय संक्रमितको संख्या दैनिक बढ्दै गएको छ ।

विशेषज्ञहरुका अनुसार संक्रमणको दरमा कमी आए पनि जोखिम उत्तिकै थियो । सुनसान बनेका सहर–बजारमा स्थानीय प्रशासनहरुले निषेधाज्ञा खुकुलो पार्दै लगेपछि मान्छेको आवत–जावत ह्वात्तै बढ्यो । होटेल, रेस्टुराँ, तरकारी बजारदेखि बैंकहरू समेत धमाधम खुले । राजनीतिक दलहरुले पनि गतिविधिहरु बढाए । जनस्वास्थ्यका मापदण्डको ख्याल नै नगरी भिडभाड र भेला तथा कार्यक्रम सञ्चालन हुन थालेपछि अहिले पुनः संक्रमणको ग्राफ उकालो लाग्न थालेको विज्ञहरु बताउँछन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा हिजोआज मान्छेको आवतजावत निकै बढेको छ । तर, जनस्वास्थ्यका मापदण्ड पालना भएको देखिँदैन । मान्छेको भिडभाड हुने स्थलहरु विशेषगरी बैङ्क, बसपार्क र अन्य सार्वजनिक स्थलहरुमा सामान्यतया मास्कको समेत प्रयोग भएको पाइँदैन ।

बजारमा व्यापारीहरुले पनि मास्कको प्रयोग गरेको देखिँदैन । वीरेन्द्रनगरको मुख्य चोक, मंगलगढी, वीरेन्द्रचोक र एरिचोक आसपासका क्षेत्र निकै भिडभाड र आवतजावत हुने स्थान हुन् । यी स्थान वरपर व्यापार गर्नेदेखि लिएर सामान खरिदविक्री गर्नेहरुले जनस्वास्थ्यका मापदण्डको बेवास्ता गरिरहेको पाइन्छ ।

वीरेन्द्रनगरमा निकै भिड हुने क्षेत्रमा तरकारी बजार पनि एक हो । तरकारी पसलमा तरकारी विक्री गर्नेहरुले न मास्कको प्रयोग गरिरहेका छन्, न त सेनिटाइजर नै प्रयोग गर्छन् ।

सामान्य नागरिक र व्यापारीमात्रै नभएर सरकारी तथा गैरसरकारी निकायदेखि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले समेत जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही गरिरहेको सरोकारवालाहरुको भनाइ छ ।

‘मास्कको समेत प्रयोग गर्दैनन् । सामाजिक दुरी भन्नु त एकादेशको कथाजस्तै बनिसक्यो,’ हिमाल यातायात प्रालि सुर्खेतका प्रमुख भुपेन्द्रबहादुर शाहीले भने, ‘खै ! बुझेर पनि किन बुझ पचाएका हुन् ।’

यता स्थानीय प्रशासनहरुले विज्ञप्तिमार्फत जनस्वास्थ्यका मापदण्ड पालना गर्न बारम्बार आग्रह गरिरहेका छन् । यद्यपि कोरोनासँग नागरिकहरुले हेचक्य्राइँ र खेलाँची गरिरहेका छन् ।

सामान्यतया २०–२५ जनाभन्दा बढी व्यक्ति जम्मा गर्न नपाइने भनिएको छ । यद्यपि, यो नियम पालना भएको देखिँदैन । ‘सरकारी निकाय र राजनीतिक दलहरुबाटै यो नियम उल्लंघन भएको छ,’ सामाजिक अभियन्ता राजेश हमाल भन्छन्, ‘सरकारी निकायबाट हुने अधिकांश कार्यक्रमहरु होटेलमा हुने गरेका छन् । राजनीतिक दलहरुले कसरी जनतालाई आफ्नो पक्षमा पार्ने भनेर होडबाजी गर्दै गाउँबस्तीमा भेला र कार्यक्रमहरु गरिरहेका छन् ।’

कार्यान्वयन गर्ने निकायबाटै नियमको अवज्ञा हुने गरेकाले नागरिकहरुले पनि त्यसैको सिको गर्ने गरेको जनस्वास्थ्यविद्हरुको भनाइ छ ।

कर्णाली प्रदेशमा साउन १ गते ३५ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो । त्यस दिन डिस्चार्ज अथवा कोरोनालाई परास्त गर्नेको संख्या ५२ थियो ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार साउन लागेपछि दैनिक संक्रमितको संख्या वृद्धि हुने गरेको छ भने डिस्चार्ज हुनेको संख्या घट्दै गएको छ ।

साउन १ गते कर्णालीमा कुल संक्रमितको संख्या २९ हजार ३३३ थियो भने २० दिनपछि यो संख्या बढेर ३० हजार ७८९ पुगेको छ । निर्देशनालयका प्रमुख डा. रविन खड्काका अनुसार पछिल्लो समय संक्रमण दर निरन्तर उकालो लाग्न थालेको छ । कोरोना संक्रमण पुनः बढ्नुमा जनस्वास्थ्यका मापदण्ड पालना नहुनु नै मुख्य कारण रहेको उनले बताए । जनस्वास्थ्यका मापदण्ड पालनामा ध्यान नदिने हो भने आगामी दिनमा अझ भयावह अवस्था आउन सक्ने उनको चेतावनी छ ।

‘पछिल्लो समय कर्णालीका हिमाली जिल्लामा समेत दैनिक २०–३० जनासम्म कोरोना संक्रमित फेला पर्ने गरेका छन्,’ खड्काले भने, ‘असारमा शून्य संक्रमित रहेका जिल्ला तथा गाउँबस्तीमा पनि अहिले कोरोना संक्रमित भेटिने गरेका छन् ।’

स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले असार महिना रोपाइँको समय भएकाले त्यो बेलामा जनस्वास्थ्यका मापदण्डमा पालनामा लापरवाही गरेका कारण अहिले अवस्था गम्भीर हुन पुगेको हो ।

चेतनाको विगुल फुक्दै प्रहरी

कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही बढेपछि सुर्खेत लगायत कर्णालीका विभिन्न जिल्लामा प्रहरीले ‘तपाईको मास्क खोइ ?’ अभियान सञ्चालन गरेको छ ।

सुर्खेतमा गत मंगलबार र कालिकोट लगायत अन्य केही जिल्लामा बिहीबारदेखि यो अभियान थालिएको हो । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण दर पुनः बढेकाले जनचेतनाका लागि पनि यो अभियान संचालन गर्नु परेको प्रहरीको भनाइ छ ।

कर्णालीमा यस्तो छ कोरोनाको पछिल्लो ग्राफ

साउन १६ : संक्रमित–८४, डिस्चार्ज–७७, सक्रिय संक्रमित–६८७, मृत्यु– शून्य

साउन १७ : संक्रमित–१८, डिस्चार्ज–२३, सक्रिय ंंसंक्रमित–६७९, मृत्यु– शून्य

साउन १८ : संक्रमित–७७, डिस्चार्ज–७१, सक्रिय संक्रमित–७००, मृत्यु– शून्य

साउन १९ : संक्रमित–९२, डिस्चार्ज–५३, सक्रिय संक्रमित–७२९, मृत्यु– शून्य 

साउन २० : संक्रमित–१०३, डिस्चार्ज–४७, सक्रिय संक्रमित–७७२, मृत्यु– १

साउन २१ : संक्रमित–९८, डिस्चार्ज–३३, सक्रिय संक्रमित–८३७, मृत्यु– शून्य

साउन २२ : संक्रमित–१२७, डिस्चार्ज–६७, सक्रिय संक्रमित–८४६, मृत्यु– २

साउन २३ : संक्रमित–६०, डिस्चार्ज–१६, सक्रिय संक्रमित–८८०, मृत्यु– १

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप