शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

कलाकारले लगाए कोरोनाविरुद्धको खोप

आइतबार, २४ साउन २०७८, १५ : २४
आइतबार, २४ साउन २०७८

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको संयोजनमा फिल्मकर्मीले कोरोना बिरुद्धको खोप लगाउन सुरु गरेका छन् । नेपाल सरकारले उपलब्ध गराएको भेरोसेल खोप आइतबार बिहानैबाट फिल्मकर्मीले लगाउन सुरु गरेका हुन् ।

फिल्मकर्मीका लागि पाटन ढोकास्थित पुरानो अशोक चलचित्र घर परिसरमा खोप कार्यक्रम राखिएको छ । बिहान ९ बजेदेखि सुरु भएको खोप कार्यक्रम दिउँसो ४ बजेसम्म चल्ने कलाकार संघले जानकारी दिएको छ ।
कलाकार संघले खोपका लागि तालिका समेत बनाएको छ । जसमा बिहान ९ देखि १० बजेसम्म कलाकारलाई, ११ देखि १२ बजेसम्म फिल्म निर्माता र सिनेमा हल व्यवसायीलाई, १ देखि २ बजेसम्म प्राविधिकलाई, २ देखि ३ बजेसम्म नृत्य र द्वन्द्व कलाकारलाई, ३ देखि साढे ३ बजेसम्म निर्देशकलाई र साढे तीन बजेपछि जनजाति महासंघ र अन्य संघसंस्थामा आबद्ध रहेका फिल्मकर्मीलाई भेरोसेल खोपको पहिलो डोज लगाइने कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

कलाकार संघले निकालेको तालिका अनुसार नै फिल्मकर्मीहरु कोरोनाविरुद्धको खोप लगाइरहेका छन् ।
अभिनेता भुवन केसी, पल शाह, पुष्प खड्का, धिरेन शाक्य, रेजिना उप्रेतीलगायत करिब एक हजार फिल्मकर्मीले समाचार तयार गर्दासम्म खोप लगाईसकेको कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए । सरकारले फिल्मकर्मीलाई दोस्रो मात्राको भेरोसेल खोप पनि चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रवक्तानिरौलाको भनाई रहेको छ ।

कोरोनाविरुद्धको खोप लगाएपछि फिल्म क्षेत्र पुरानो लयमा फर्किनेमा कलाकार संघले बिश्वास लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप