मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युवा : अवसर र अर्थपूर्ण सहभागिता

आइतबार, २४ साउन २०७८, १५ : २२
आइतबार, २४ साउन २०७८

युवाको उमेर अधिकांश देशमा १५ देखि ३५ वर्षका बीचमा कायम गरिएको पाइए पनि संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्क जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको छ । नेपालको सन्दर्भमा नेपालको अन्तरिम संविधानले १५ देखि २९ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको थियो भने राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ ।

‘युथभिजन–२०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ । वि.सं. २०६८ को जनगणनाअनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत रहेको पाइन्छ ।

संयुक्त राष्ट्रसङ्घको १७ डिसेम्बर १९९९ मा सम्पन्न ५४ औँ साधारण सभाले अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । युवा दिवस मूल रूपमा युवाका मुद्दाका पक्षमा आवाज मुखरित गर्नु, बनेका राष्ट्रिय अन्तर्राष्ट्रिय संवैधानिक व्यवस्था, ऐन, कानुन तथा घोषणापत्र कार्यान्वय गर्नु, नभएकालाई बनाउनु र आवश्यकताअनुसार समय सापेक्ष संशोधन गर्न वकालत गर्नु नै मुख्य उद्देश्य हो ।

यसका अतिरिक्त युवा लक्षित मुद्दा तथा सवालहरू कार्यान्वयन गर्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकरात्मक दबाब सिर्जना गर्नु पनि हो । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरुक गराउन दिवसको घोषणा गरिएको हो । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नव प्रवद्र्धन’ रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको घोषणासँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइँदै आइरहेको छ । नेपालमा भने सन् २००४ देखि मनाउन थालिएको हो । प्राप्त उपलब्धिको रक्षा, सवाल तथा मुद्दाहरूको यथोचित सम्बोधन तथा चुनौतीहरूको सामाना गरी विश्व परिवेश तथा नेपाल अनुकूल हुने गरी युवालाई राष्ट्रिय तथा सामाजिक अभियानहरूमा स्वयंसेवकका रूपमा व्यापक परिचालन गर्नुपर्छ ।

युवालाई अधिकार मात्र हैन, कर्तव्यप्रति पनि उत्तिकै सचेत र जिम्मेवार बनाउनुपर्छ । दिवस मनाउन मात्रका निमित्त नभई राष्ट्र, राष्ट्रियताप्रति सजग तथा समर्पित भई सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्नमा तन, मन र वचनले लाग्न प्रेरित गर्नु नै दिवसको सार्थकता हुनेछ ।  

यस युगमा ऊर्जाशील र प्रतिभावान युवाहरू आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तनमा अग्र दस्तामा रही सबल, प्रतिस्पर्धी र आत्मनिर्भरतातिर अघि बढिरहेका छन् । देशमा राजनीतिक अनुकूलता र स्थिरता रहेको अवस्थामा युवाको सक्षम नेतृत्वको आवश्यकता रहेको छ । राज्यका हरेक अङ्गमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक, न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउन अर्थपूर्ण र क्रियाशील रूपमा लाग्नुपर्ने जिम्मेवारी आएको छ । युवाहरू बौद्धिक, सिर्जनशील, सीपयुक्त उद्यमी र जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी अध्ययन, रोजगार, जीविकोपार्जन र अवसरका निमित्त लाग्नु टड्कारो आवश्यकता छ ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार स्थानीय तहमा निर्वाचित (१६ देखि ४० वर्ष उमेर समूह) का युवाहरूको सङ्ख्या १३ हजार ८ सय ९३ अर्थात ३९.६५ प्रतिशत रहेको छ । प्रदेश तहमा २३.६३ प्रतिशत, प्रतिनिधि सभामा १३.९ प्रतिशत र राष्ट्रिय सभामा ६.७७ प्रतिशत रहेको पाइन्छ । युवा परिषद्को उपस्थिति सबै प्रदेश र जिल्ला तथा स्थानीय तहमा पुगिसकेको छ ।

यसरी राज्य सञ्चालनका तह र तप्कामा युवाको उपस्थिति तथा कार्यक्रमले अझ थप बल, ताकत, ऊर्जा र क्रियाशीलता अभिवृद्धि भएको छ । जसबाट युवाहरू नीति निर्माणमा सार्थक सहभागिता, आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा सहभागिता वृद्धि भएको छ ।

यसका अलावा अझ आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, भौतिक, बौद्धिक विकासका लागि केही थप कार्य गर्नुपर्ने अनुभूति भइरहेको छ । युवामा नैतिकता, चारित्रिक गुण तथा अनुशासन विकास गरी परिवर्तित विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्नसक्ने सभ्य, सुशील तथा स्वाभिमानी देशभक्त, पौरखी, सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही, ऊर्जाशील युवा बनाउनका निमित्त अन्तर्राष्ट्रिय जगत र राज्य थप बलपूर्वक लाग्नुपर्छ ।

समय परिवेश, परिस्थिति र परिवर्तन अनुसारको आवश्यक क्षमता विकास गरी ज्ञान, सीप, क्षमता, अनुभव तथा सिर्जनशीलतालाई मूलधारमा प्रवाहीकरण गर्न राज्यका नीति तथा कार्यक्रम निर्देशित हुनु जरुरी छ । युवालाई स्वदेशमा नै रमाउने, कमाउने र जमाउने वातावरण सिर्जना गर्नुपर्छ ।

विदेशिएका युवाहरूको संरक्षण, ज्ञान, सीप, पुँजीको प्रवद्र्धन एवं उपयोगका लागि ठोस नीति तय गर्नुपर्दछ । राजनीतिक नियुक्ति गर्दा युवाद्वारा युवाका लागि गरिनुपर्दछ । श्रमशक्ति सर्वेक्षण २०७४/७५ अनुसार नेपालमा बेरोजगारीको दर ११.४ प्रतिशतलाई तथ्याङ्कमा हैन अवस्थामा देखिने खालका कार्यक्रम तय गर्नुपर्छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी, गैह्र सरकारी सङ्घसंस्थाहरूका कार्यक्रमहरू एकद्वार प्रणालीमा तल्लो तह र वास्तविक लक्षित वर्गमा पुग्नु र पु¥याउनुपर्छ । नीति तथा कार्यक्रमहरू प्रगति विवरण र तथ्याङ्कमा प्रस्तुतीकरणका लागि मात्र नभई लाभान्वित वर्गको गुणस्तरीय जीवनका लागि हुनु पर्दछ ।

 विज्ञान तथा प्रविधि, खोज, अनुसन्धान तथा अन्वेषणमा युवा शक्तिलाई प्रोत्साहन गरिनु पर्दछ । बौद्धिक तथा दक्ष युवाहरूको पलायनलाई देशमै अवसर र महत्त्व दिइनुपर्छ । खेलकुद तथा मनोरञ्जनमार्फत शारीरिक र मानसिक विकासको अवसर, युवा नेतृत्व विकास, सहभागिता र परिचालन गरिनुपर्छ ।

जब युवा शक्तिलाई राजनीतिक स्वार्थभन्दा माथि उठाएर सवालहरूमा एकताबद्ध गरिँदैन तबसम्म भाषण र दस्तावेजको चाङ बढाउनुबाहेक केही हँुदैन । राजनीतिक दलको भर्‍याङ बनाई परिचालन गर्नु, बेरोजगार, अभाव, प्रभाव र दबाबका कारण युवाहरूलाई अल्मल्याई त्याग र बलिदानीको भ्रम गराउनु, भ्रष्ट चरित्र, हत्या हिंसामा सहभागी बनाई स्वार्थ पूरा गर्नमा परिचालन गराउँदा पुराना पुस्तालाई अपराधको प्रायश्चित हुनुपर्ने हो तर हुन सकेको छैन । कतै यस्तै सवाल, चासो, मतलब नगर्दा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना त गर्नु पर्दैन ?

युवाको क्षमता विकास गरी देशभक्त, कर्मठ, अनुशासित र उद्यमशील बनाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा युवाको सार्थक सहभागिताका लागि लक्षित कार्यक्रम ल्याइनुपर्छ । स्थानीय तहमा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, वातावरण संरक्षण, पूर्वाधार विकासमा खबरदारी र साझेदारी, राहत, खोज तथा उद्धार, विषम परिस्थितिमा जनचेतना अभिवृद्धि लगायत सामाजिक कार्यमा सङ्गठित गरी परिचालन गरिन ढिला गर्नु हुँदैन ।

नेपालमा युवाका मुद्दा केही सम्बोधन हुन थाले पनि उच्च प्राथमिकतामा राखेर नीति, बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नभएका कारण लाभान्वित बन्न सकिरहेका छैनन् । स्वरोजगार बनाउने कार्यक्रम मात्र नभई उत्प्रेरणा दिने खालका कार्यक्रम तय भए पनि नतिजामुखी परिणाम आउन नसक्नुमा दोषी को ?

युवालाई सिर्जनशील, दक्ष, सीपयुक्त, उद्यमी तथा जिम्मेवार नागरिक बनाउन कसको भूमिका के र कति ? ठोस रूपमा राष्ट्रका भविष्यका कर्णधार, वर्तमानका साझेदार, विकास र परिवर्तनका संवाहकका रूपमा नेतृत्व विकास हुने कहिले ? राज्यले युवाहरूको ऊर्जा र प्रतिभाबाट लाभ लिने कहिले ? अनुत्तरित हुने कहिलेसम्म ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तिलक कार्की
तिलक कार्की
लेखकबाट थप