बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपकुलपति सिंहले जब आफ्नै मृत्युको खबर देखे...

आइतबार, २४ साउन २०७८, १७ : ३८
आइतबार, २४ साउन २०७८


शनिवार बेलुकी मध्यपश्चिम विश्वविद्यालयको लेटर प्याडमा  उपकुलपति प्रा.डा नन्दबहादुर सिंहको मृत्यु भएको सूचना सार्वजनिक भयो । विश्वविद्यालयका प्रशासन शाखाका अधिकृत दिनेश गौतमद्वारा हस्ताक्षर भएको लेटर प्याडमा भनिएको थियो ,‘ उपकुलपति नन्दबहादुर सिंहको बिरालोले (अण्डकोषमा) ....टोकेका कारण प्रदेश अस्पताल लग्ने क्रममा मृत्यु भयो ।  हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौँ । उपकुलपतिको दाहसंस्कार उहाँको गृह जिल्ला कालिकोट नै गरिने भएको छ। उहाँ पुर्न जीवित भएर भोली यस विषयमा पत्रकार सम्मेलन गर्न पनि सक्नुहुनेछ । मेरो दाहसंस्कार जुमबाट गर भनेर ।’ 

विश्वविद्यालयकै लेटरप्याडमा हस्ताक्षरसहितको मृत्युबारे सूचना आएपछि एकाएक सामाजिक सञ्जालमा हल्लाखल्ला भयो । यद्यपि, त्यो सूचना भने विश्वविद्यालयले निकालेको भने थिएन ।

 आफ्नो मृत्युको खबर स्वयम् उपकुलपति सिंहले पनि सामाजिक सञ्जालमै देखे ।  ‘ म अचम्मित छु ।  मैले आफ्नै मृत्युको खबर सामाजिक सञ्जालमा देख्नुपर्‍यो,’ सिंहले आइतबार पत्रकार सम्मेलनमा भने,‘म वास्तवमा जीवित छु । हिजो पाँच बजे त्यो मृत्युको खबर सामाजिक सञ्जालमा देखेँ । त्यो खबर देख्दा मेरा शुभचिन्तक, आफन्त लगायतलाई निकै दुखित बनायो ।’ 

उनले आफ्नो मृत्युको खबर फैलाउनेविरुद्ध आपराधिक व्यक्ति विरुद्ध दुईवटा साइबर अपराध सम्बन्धी मुद्दा दर्ता गराएको पनि उल्लेख गरे । 

सिंहले आफू विश्वविद्यालयका भिसी भएर आएदेखि नै एउटा आपराधिक नेतृत्व आफ्नो विरुद्धमा लागेको बताए ।  भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र पारदर्शितालाई आधार मानेर अघि बढेपछि मविरुद्ध एउटा नेतृत्व नै पछि लागेर यस्ता खालका अनैतिक कामहरू गरिरहेका छन्,’ उनले भने,‘यस्ता अपराधीहरूलाई कानुनको कठघरामा ल्याउनुपर्छ।’ 

आफूले प्रतिस्पर्धाका आधारमा योग्य मान्छे छानेर राम्रा मान्छेलाई विश्वविद्यालयमा राख्न खोज्दा आफ्ना मान्छे नराखेको रिस पोखिएको सिंहको आरोप छ। उनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर देउवा सरकार बने देखिनै आफुविरुद्ध यस्ता खालका प्रहारहरू भएको बताए ।

‘विश्वविद्यालयमा आइपर्ने समस्याको समाधानका लागि समाधान समिति समेत बनाएका छौ,’ सिंहले भने,‘विद्यार्थीहरू वार्तामा आउने तर बाहिर उपकुलपति वार्तामा आउँदैन भनेर हल्ला गर्नुहुन्छ । यस्तो स्थिति भइरहेका बेला म माथि आक्रमण हुनु दुर्भाग्य हो।’ 

उपकुलपति सिंहले ६ महिना अघि पनि आफूमाथि आक्रमण भएको स्मरण गर्दै त्यो बेला पनि झ्यालका सिसाहरू फुटाइएको बताए। सिंह भन्छन्,‘ मैले भ्रष्टाचार गर्दिन भन्न नपाउने, विश्वविद्यालयलाई बनाउँछु भन्न नपाउने । निजी कलेज पढाएर  विश्वविद्यालयको तलब खाइरहेकाहरूले नै म माथि यस्तो गरिरहेका छन् । साउन १३ गते राति मेरो निवासमै आक्रमण भयो।’ 

विश्वविद्यालयमा साउन ३ गतेदेखि विभिन्न विद्यार्थी सङ्गठनहरूले आ–आफ्ना माग राख्दै आन्दोलन गरिरहेका छन् भने प्राध्यापकहरू पनि सिंहको कार्यशैली विरुद्ध आन्दोलनमै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप