बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ अटो ब्राण्ड ‘चाङ्गन’ छिट्टै नेपाली बजारमा भित्रिँदै

आइतबार, २४ साउन २०७८, ११ : ४४
आइतबार, २४ साउन २०७८

चिनियाँ उत्पादनको नम्बर वान विशिष्ट अटो ब्राण्ड ‘चाङ्गन’ नेपाली बजारमा छिट्टै भित्रिने भएको छ । चाङ्गन ब्राण्डका लागि नेपाली आयातकर्ता एमएडब्लु वृद्धि अटो कपले छिट्टै चाङ्गनका उत्कृष्ट प्यासेन्जर कार नेपाली बजारमा भित्र्याउन लागेको हो । 

यस विषयमा चिनियाँ अटो उत्पादक चाङ्गन अटो ग्रुपसँग नेपाल स्थित एमएडव्लु बृद्धिसँग औपचारिक सहमति भइसकेको छ । हालैमात्र भएको दुई पक्षको सहमतिअनुसार उक्त ब्राण्ड छिट्टै नेपाली बजारमा भित्र्याइने कम्पनीले जनाएको छ । 

सन् २०२१ मा चाङ्गन ब्रान्डका प्यासेन्जर गाडीहरू चीनमा सबैभन्दा बढी बिक्री हुन सफल भएको थियो । त्यसैगरी सन् २०२० मा यस ब्राण्डका २० लाख युनिट गाडीहरू विश्वका ६० भन्दा बढी मुलुकहरूमा बिक्री वितरण भएको थियो । हाल चीनमा बिक्री वितरण हुने र त्यहाँबाट निर्यात हुने अधिकांश फोर्ड र माज्दा गाडीहरू चाङ्गन अटो ग्रुपले नै उत्पादन गर्ने गर्छ । 

एमएडव्लु स्कोडा, जीप, जेसिबी, यामाहा, फोटोन र एमएएन जस्ता अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्डहरूको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता हो । यो अटोमोबाइल क्षेत्रमा काम गर्ने देशकै दोस्रो ठुलो कम्पनी पनि हो । सेडान, पिकअप, एसयुभी र इभीको साथसाथै अवार्ड विनिङ्ग युनिआइ श्रेणीका ब्राण्डहरू उत्पादनकर्ता चाङ्गनले नेपाली बजारमा आफ्नो एक बेग्लै छवि बनाउन सफल हुनेमा एमएडव्लुका अध्यक्ष विष्णु अग्रवालले विश्वास व्यक्त गरेका छन् । 

अग्रवालका अनुसार भविष्यमुखी बनावट र नविन प्रविधिले सम्पन्न चाङ्गन ब्राण्डले समग्र नेपाली अटोमोबाइल उद्योगलाई नै नयाँ गती दिन सहयोग गर्नेछ । साथै एमएडब्लु चाङ्गन गाडीको ग्राहकहरूको लागि उत्कृष्टभन्दा उत्कृष्ट सेवा, सुबिधा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको समेत उनले बताएका छन् ।

उता चाङ्गन अटो ग्रुपका उप–महाप्रबन्धक देङ्गले एमएडव्लुसँग साझेदारी गर्दै नेपाली बजारमा अन्तर्राष्ट्रियस्तरको उत्पादन ल्याउन पाउँदा आफूहरू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिएका छन् ।  ‘देशकै दोस्रो ठुलो अटोमोटिभ ग्रुपले आफ्नो ग्राहक केन्द्रित बिक्री सेवाको लागि ख्याती कमाएको छ । साथै यस सहकार्यमार्फत चाङ्गन ब्राण्ड आफ्नो सर्वोत्कृष्ट उत्पादनमार्फत ग्राहकवर्गको बदलिँदो आवश्यकता र चाहनाहरूलाई परिपूर्ति गर्नेतर्फ उन्मुख रहेकोमा कुनै दुइमत छैन’ देङ्गलेले दाबी गरेका छन् ।

पहिलो चरणमा सेडान, पिकअप र एसयुभी र दोस्रो चरणमा विभिन्न विद्युतीय गाडीहरू नेपालमा बिक्री वितरण गर्ने योजना चाङ्गन अटो ग्रुपको रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप