शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

डीडीसीले जापान र स्वदेशी उपभोक्तालाई बेच्यो म्याद सकिएको घिउ

आइतबार, २४ साउन २०७८, ०९ : २३
आइतबार, २४ साउन २०७८

सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले म्याद गुज्रिएको बटरबाट बनेको तीन हजार मेट्रिकटन घिउ जापान पठाएको छ । उक्त घिउ पोखराको सुजल डेरीबाट ल्याई डीडीसीको गोदाममा राखिएको थियो । कोरोना महामारीको कारण विक्री नहुँदा धेरै दिनसम्म होल्ड भएका कारण उपभोग्य मिति सकिएको बताइन्छ । तर डीडीसीले सो बटरलाई घिउ बनाएर जापानलाई बेचेको छ ।

डिडिसीले जापानलाई मात्र होइन, त्यही बटर नेपाली उपभोक्तालाई समेत बेचेको छ । डीडीसीले करिब दुई लाख केजी म्याद सकिएको बटर आम उपभोक्तालाई बेचेको हो । सुजल डेरीबाट ल्याइएको बटरको प्याकमा कुनैमा आठ महिना अघि प्रयोगमा ल्याइ सक्नुपर्ने लेखिएको थियो भने कुनैमा १२ महिना अघि प्रयोगमा ल्याइ सक्नुपर्ने लेखिएको थियो । आठ महिना र १२ महिना म्याद सकिए पनि उपभोक्तालाई सो बटर बेचेर सकाएको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले २०७७ असोजमा गरेको अनुगमनका क्रममा सो बटरको म्याद सकिएको भन्दै त्यसलाई विक्री वितरण नगर्न निर्देशन दिएको थियो । महानगरपालिकाले अनुगमन गरिसकेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको गुणस्तर नियामक संस्था खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि अनुगमन गर्दा बटरमा गुणस्तर न्युन पाइएको थियो ।

गोदाममा बटर प्याकेजिङ र भण्डारण अव्यवस्थित देखिएको थियो । त्यसपछि त्यसलाई विक्री वितरण नगर्न विभागले पनि भनेको थियो । साथै कृषि मन्त्रालयले पनि त्यसको अनुगमन गरेको थियो र यसको गुणस्तर के कस्तो भनि त्यसको यथार्थ जानकारी गराउन भनेको थियो ।

त्यसपछि प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिको उपभोक्ता हित संरक्षण समितिले पनि अनुगमन गरेको थियो । अनुगमनको क्रममा म्याद सकिएको बटर तथा घिउ विक्री भएको पाइएपछि विक्री वितरण रोक्न सो समितिले पनि भनेको थियो । तर डीडीसीले यी सबैलाई बेवास्ता गर्दै झण्डै दुई लाख केजी बटर विक्री वितरण गरिसकेको छ ।


डीडीसीले विक्री वितरण नरोकेपछि गत असारमा गुणस्तर विभागले जिल्ला अदालतमा डीडीसीविरुद्ध मुद्दा दायर गरेको थियो । विभागका महानिर्देशक उपेन्द्र रायले आफूहरुले अनुगमन गर्दा गोदाममा राखिएको बटरको प्याकेजिङ तथा स्टेरिङ्ग अव्यवस्थित रहेको र गुणस्तरको मापदण्ड अनुसार पनि नपाइएपछि त्यसको विरुद्ध अदालतमा मुद्दासमेत दायर गरेको बताए । 

यसका बाबजुद डीडीसीले बटर बिक्री गरिरह्यो । डीडीसीले सुजल डेरीबाट ल्याएको सबै बटर बिक्री वितरण गरिसकेको छ । डीडीसीका सूचना अधिकारी राजेन्द्र आर्याल भन्छन्, ‘हामीले बेचेको बटरमा म्याद सकिएको थिएन, बजारमा अफवाह फैलाइएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार बटरको म्याद १८ महिनाको हुन्छ, तर यसमा आठ महिना र १२ महिना लेखिएको थियो ।’

उनले उपभोगका लागि निर्धारित समय पनि नगुज्रेको दावी गरे । बटरमा हुनुपर्ने सबै गुणस्तर रहेको अवस्थामा आफूहरुले बिक्री वितरण गरेको उनले बताए । यो बटरको यथार्थ जानकारी आफूहरुले मन्त्रालयलाई गराईसकेको र त्यहाँबाट आउने निर्देशनअनुसार आफूहरु अगाडि बढ्ने उनले बताए । 

कोरोनाको कारण गरिएको लकडाउनमा दुग्धजन्य पदार्थ भण्डारमा होल्ड भएपछि डीडीसीले सरकारलाई पटक पटक ध्यानाकर्षण गराएको थियो । त्यसको बारेमा मन्त्रालयमा पटक पटक छलफल पनि भएको थियो । म्याद गुज्रिएको बटर विक्री वितरण गरेको भन्दै अहिले डीडीसीको सबैतिर आलोचना भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप