मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका लागि स्वर्ण जित्ने नीरजलाई पुरस्कारको बहार, ३ घण्टाभित्र १३.७५ करोड नगद पुरस्कार घोषणा

आइतबार, २४ साउन २०७८, ०७ : ५५
आइतबार, २४ साउन २०७८

ज्याभलिन थ्रोअर नीरज चोपडाले ओलम्पिक एथ्लेटिक्समा स्वर्ण पदक जितेर भारतको १२१ वर्षको खडेरी अन्त्य गरेका छन् । शनिबार खेलिएको फाइनल प्रतिस्पर्धामा ८७.५८ मिटरको उत्कृष्ट थ्रोका साथ चोपडाले पदक जित्न सफल भएका हुन् ।

राष्ट्रपति रामनाथ कोविन्ददेखि लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले नीरजलाई यस ऐतिहासिक जीतको बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले फोन गरेरै नीरजलाई बधाई दिएका थिए । त्यस्तै, गृहमन्त्री अमित शाह, सेना प्रमुख, राहुल गान्धीदेखि सोनिया गान्धीसम्मले उनलाई बधाइ दिएका छन् ।

पदक जितेपछि नीरजलाई पुरस्कारको वर्षा पनि शुरु भएको छ । पदक जितेको ३ घण्टामा नै नीरजलाई १३.७५ करोड भारतीय रुपैयाँ बराबरको नगद पुरस्कार दिने घोषणा भएको थियो । राज्य सरकारदेखि लिएर रेलवे, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र इन्डियन ओलम्पिक एसोसिएसनले आ–आफ्नो तर्फबाट पुरस्कार घोषणा गरेका छन् ।

हरियाणा राज्यका मुख्यमन्त्रीले नीरजलाई ६ करोड रुपैयाँ नगद र प्रथम श्रेणीको सरकारी जागिर दिने घोषणा गरेका छन् । मुख्यमन्त्री मनोहर लाल खट्टरले नीरजलाई ५० प्रतिशत छुटमा फ्ल्याट पनि दिने बताएका छन् । बीसीसीआईले नीरजलाई १ करोड दिने घोषणा गरेको छ भने पञ्जाब सरकारले पनि उनलाई २ करोड रुपैयाँ नगद दिने बताएको छ । मणिपुर सरकारले नीरजलाई १ करोड रुपैयाँ दिने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप