शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो छालामा कस्तो सन्स् क्रिम वा मोस्चराइजर लगाउने ?

अनुहारलाई सफा, चम्किलो र आकर्षक बनाउने तरिका (भिडियोसहित)
शनिबार, २३ साउन २०७८, ११ : ५०
शनिबार, २३ साउन २०७८

अनुहारलाई सफा, राम्रो अनि आकर्षक बनाउने इच्छा सबैलाई हुन्छ । त्यसैले डण्डीफोर, कालोपोतो, चाया आउन नदिन तथा अनुहारको छालालाई हेरचाह गर्न बजारमा उपलब्ध विभिन्न प्रकारका क्रिम, मोस्चराइजर प्रयोग गर्ने पनि प्रशस्त छन् ।

क्रिम तथा मोस्चराइजर भन्नासाथ सबै प्रभावकारी तथा फाइदाजनक हुन्छन् भन्ने हुँदैन । कस्तो प्रकारको मोस्चराइजर तथा क्रिम लगाउने भन्नेबारे ज्यादै कम व्यक्तिलाई जानकारी हुने छाला रोग विशेषज्ञहरु बताउँछन् ।

अहिले गर्मी मौसम छ । योे मौसममा घामबाट छालालाई जोगाउनका अतिरिक्त कालोपोतो, चाया, डण्डिफोर, चिल्लो पन तथा सुक्खापन हटाउन कस्ता क्रिम प्रयोग गर्न सकिन्छ भन्नेबारे रातोपाटीले विज्ञमार्फत नै जानकारी गराउने प्रयास गरेको छ । प्रस्ततु छ, अनुहार सफा, चम्किलो र आकर्षक बनाउने सन्दर्भमा छाला तथा कपाल रोग विशेषज्ञ स्मृति श्रेष्ठका सुझाव र टिप्स–

अनुहारमा ‘सन्स् क्रिम’, ‘मोस्चराइजर’ लगाउनुभन्दा अघि आफ्नो छाला कस्तो प्रकारको छ भन्ने थाहा हुन जरुरी हुन्छ । छाला सामान्यतया ४ प्रकारको हुन्छ । त्यसैले आफ्नो छाला कुन प्रकारको छ भन्ने पहिचान गरेर त्यही आधारमा सन्स् क्रिम, मोस्चराइजर लगायतका क्रिम प्रयोग गर्न सकिन्छ ।

छालाका प्रकार

१. तैलीय छाला

२. तैलीय सामान्य किसिमको छाला

३. सामान्य छाला

४. धेरै सुक्खा छाला

आफ्नो छाला कुन प्रकारको हो भन्ने कसरी थाहा पाउने ?

छाला रोग विशेषज्ञ विना नै घरमै बसेर सामान्य तरिकाबाट आफ्नो छालाको प्रकार थाहा पाउन सकिन्छ । जब सामान्य फेसवासले अनुहार धोएर एक छिनसम्म मोस्चराइजर नलगाइकन सुक्खा छाडिदिँदा अनुहारको सम्पूर्ण भागबाट धेरै चिल्लो निस्कन्छ कि कुनै कुनै भागबाट मात्रै चिल्लो पदार्थ आउँछ ? अनुहारमा केही पनि फरक हुँदैन कि केही समयपछि अनुहार सुक्खा भएर कसिलो र असजिलो हुन्छ ? यी विषयमा आफैले विचार गर्ने हो भने छालाको प्रकार सहजै थाहा पाउन सकिन्छ ।

अनुहारबाट धेरै चिल्लो पदार्थ आउँछ भने तैलीय छाला (ओयली स्किन) भनेर थाहा पाउनुपर्छ ।

अनुहारमा कतै चिल्लो पदार्थ आउँछ र कतै आउँदैन भने तैलीय सामान्य किसिमको छाला (कम्बिनेसन स्किन) हो भनेर थाहा पाउनुपर्छ ।

केही पनि हुँदैन अर्थात् अनुहार सामान्य नै रहन्छ भने आफ्नो छाला सामान्य छ भनेर बुझ्नु पर्छ । सामान्य छाला भएका मानिस भाग्यमानी मानिन्छन् ।

मुख धोएको एक छिनपछि छाला कसिलो र कक्रक्क हुने, हास्न गाह्रो हुने भएमा ‘ड्राई’ अर्थात् खुक्खा छाला हो भनेर बुझ्न सकिन्छ ।

कस्तो छालामा कस्तो सन्स् क्रिम वा मोस्चराइजर लगाउने ?

अनुहारमा चिल्लो बढी आउँछ भने जेल बेसमा उत्पादन गरिएका मोस्चाराइजर लगाउनुपर्छ । गर्मी याममा जेल बेसमै उत्पादन भएका मोस्चराइजरमै आक्को जेल भनेर लेखिएका जेलहरुको प्रयोग गर्नुपर्छ । यस्तै जाडो याममा मध्यमखालका जेल बेसका क्रिमहरु प्रयोग गर्नुपर्छ ।

— कम्बिनेसन स्किन अर्थात् तैलीय सामान्य किसिमको छाला हुनेहरुलाई भने अरुलाई भन्दा गाह्रो हुन्छ । जस्तै ओयली स्किनवाला फेसवासले अनुहार सफा गर्दा सुख्खा क्षेत्र कक्रक्क हुन्छ । तैलीय सामान्य किसिमको छाला भएको अनुहारको बीचबीचमा सुख्खा क्षेत्र हुन नदिनका लागि त्यस भागमा हल्का फरक खालको मोस्चराइजर लगाउनुपर्छ । यस्तो छाला हुनेहरुले जेन्टल अर्थात छालालाई कोमल बनाउने खालको प्रोडक्टले अनुहार सफा गर्नुपर्छ । यस्ता छाला भएकाले सन्स् क्रिम वा मोस्चाराइजर लगाउँदा जेल बेसका क्रिमहरु प्रयोग गर्नुपर्छ । जेल बेसका सन्स् क्रिम र मोस्चाराइजरले छालालाई सुक्खा र डिहाइडे«ड बनाउन हुँदैन ।

—सामान्य स्किन भएकाहरुलाई भने सजिलो छ । यस्तो छाला हुनेले सामान्य, मुलायम तथा कोमल बनाउने बेसमा उत्पादन भएका सामग्री प्रयोग गर्नुपर्छ ।

—सुक्खा छाला भएकाहरुले छालालाई कोमल बनाउने खालको फेसवासहरुको प्रयोग गर्नुपर्छ । क्रिम, लोसन प्रयोग गर्नुपर्छ ।

 —सुक्खा छाला हुनेहरुले दिनमा ३÷४ पटक सन्स् स्क्रिम लगाउनु अगाडि मोस्चाइरजर प्रयोग गर्न अतिआवश्यक पर्छ ।

यी ४ प्रकारका बाहेक अन्य प्रकारका छाला पनि हुनसक्छ । छाला स्वस्थ राख्नका लागि तथा हेरचाह गर्न विभिन्न किसिममा सन्स् क्रिम प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्था सिर्जना भएमा विशेषज्ञलाई नै भेट्नुपर्छ ।

साथीभाइको सुझावको आधारमा जुन पायो त्यही सन्स् क्रिम र मोस्चराइजर अनुहारमा प्रयोग गर्न हुँदैन । किनभने एक जनालाई रामो काम गरेको सन्स् क्रिम र मोस्चराइजर अर्कोलाई राम्रो काम नगर्ने पनि हुन सक्छ । त्यसैले आफ्नो छाला पहिचान गरेरमात्रै क्रिमहरुको प्रयोग गर्नुपर्छ ।

कस्तो सन्स् क्रिम लगाउने भन्ने कुरा मौसम र कस्तो कोठामा बस्ने गरेको छ भन्नेमा पनि भर पर्छ । जस्तै, एसी भएको कोठामा बस्दा एसीमात्रै दिन्छ । तर, मोस्चराइजर दिने एसीभित्र मेसिन छैन भने ओयली स्क्रिनवालाको छाला पनि सुक्खा बनाउँछ । यस्तो बेलामा मोस्चराइजर क्रिम लगाउनु पर्छ ।

ओयली र कम्बिनेसन स्किन हुनेहरुले प्रयोग गर्ने सन्स् क्रिम र मोस्चराइजरमा ‘कमडोजेनिक’ भनेर लेखेको छ कि छैन भन्ने थाहा पाउन एकदमै जरुरी हुन्छ । यसले डण्डीफोर ल्याउन सक्छ । तपाईले प्रयोग गरेको क्रिमहरु जेल बेससँगै कमडोजेनिक छ भने स्किन जुनसुकै प्रकारको भए पनि बिहान वा साँझ मोस्चराइजर, सन्स् क्रिम प्रयोग गर्न बिर्सन हुँदैन । स्किन हेरचाहका लागि जति सन्स् क्रिम महत्वपूर्ण छ, त्यति नै मोस्चराइजर पनि महत्वपूर्ण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप