बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

‘ओलम्पियन’ सांसद सुरेन्द्र हमालको प्रश्न – पदाधिकारीहरु विदेश घुम्न जाने कि खेलाडीको मनोबल बढाउन जाने ?

पदकको खडेरी यसरी अन्त्य हुन सक्छ
शनिबार, २३ साउन २०७८, १० : ३३
शनिबार, २३ साउन २०७८



 

लुम्बिनी प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल राजनीतिमा जति चर्चित छन्, त्योभन्दा धेरै खेलाडीका रुपमा परिचित व्यक्तित्व हो । प्रदेशमा नेपाली काँग्रेसभित्र इमान्दार र अध्ययनशील नेताको छाप बनाएका हमाल खेलाडीका रुपमा भने देश–विदेशमा चिनिएको नाम हो । उनी भारोत्तोलनमा नेपाललाई पहिलोपटक अन्तर्राष्ट्रिय पदक ल्याउने खेलाडीका अतिरिक्त अन्तर्राष्ट्रियस्तरको ‘ए’ लेभलका रेफ्री पनि हुन् ।

बाँकेको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित हमाल प्रदेशसभामा नेपाली काँग्रेसको प्रमुख सचेतक भएर २ वर्ष जिम्मेवारी सम्हाले । केही महिना अघि उनले सचेतक पद छाडेर सांसदको भूमिकामा मात्र आफूलाई सीमित राखेका छन् ।

उनले नेपालका तर्फबाट विभिन्न प्रतियोगितामा सहभागी हुँदै १३ वटा पदक भित्र्याएको गौरवमय इतिहास छ । खेल जीवनमा नेपालको बलियो व्यक्ति (स्ट्रोङ्गेस्ट म्यान अफ नेपाल) २०४१ उपाधि पाएका उनी बेस्ट लिफ्टर (सर्वोत्तम खेलाडी) २०४१ बाट पनि पुरस्कृत भए ।

सन् १९८३ मा दमास्कसमा भएको ३५ औं एसियन च्याम्पियनशीपमा उनले कास्य पदक जिते । भारोत्तोलनमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक ल्याएर वाहवाही पाएका हमालले २०४१ सालमा सर्वोत्तम खेलाडीको उपाधि  पाए । जसमा आफूसँगै दलबहादुर गुरुङ र बैकुण्ठ मानन्धर पनि सहभागी रहेको उनी स्मरण गर्दछन् । अन्तर्राष्ट्रियस्तरको भारोत्तोलन सन् १९८२ मा नयाँ दिल्लीमा, अमेरिकाको लस एजेल्समा ओलम्पिक १९८४ मा पनि उनले नेपालको प्रतिनिधित्व गरेका थिए ।

हमाल अर्को विशेषता भनेको भलिबल, क्रिकेट, भारोत्तोलन  खेलमा राष्ट्रिय खेलाडी बन्न सफल हुनु हो । ‘म अन्तर्राष्ट्रिय रुपमा भारोत्तोलनमा नेपालका लागि पदक जित्ने पहिलो खेलाडीका रुपमा चिनिएँ,’ उनी भन्छन्, ‘तर मैले अन्य खेलमा पनि राष्ट्रियस्तरमा भाग लिएको छु, मेडल प्राप्त गरेको छु ।’

खेलकुदपछि नेपाली काँग्रेसमा रहेर उनले राजनीतिक इनिङ सुरु गरे । आफ्नो परिवारको राजनीतिक पृष्ठभूमिका कारण काँग्रेसमा आवद्ध भएको उनले बताए ।

उनी २०४९ सालमा नेपालगञ्ज नगरपालिकाको उपमेयरमा निर्वाचित भए । २०५४ मा मेयरमा उम्मेदवार भए । नेपाली काँग्रेसको जिल्ला कोषाध्यक्ष, महाधिवेशन प्रतिनिधि, केन्द्रीय खेलकुद विभागको सदस्य भएर भूमिका निर्वाह गरिसकेका उनी अहिले लुम्बिनी प्रदेशसभा सदस्यका रुपमा क्रियाशील छन् ।

खेलमा केही सुधार गर्ने अठोट राख्ने उनी लुम्बिनी प्रदेशमा क्रिकेट, भारोत्तोलन, सुटिङ, फुटबल, कुस्ती, जुडो, भलिबल खेलको प्रशस्त सम्भावना देख्छन् ।

नेपाललाई पदक प्राप्तिका लागि उनको यस्तो छ सुझाव

नेपालमा खेलको सम्भावना छ । नेपालीहरुले गर्मी र चिसो दुवै सहन सक्ने क्षमता राख्छन् । प्राकृतिक रुपमै खेललाई सहज हुने बनाएको छ । अर्कोतिर खाना पनि त्यस्तै छ ।

खेलकुदमा सरकारले कम ध्यान दिएको छ । लगानी निकै कम गरेपछि उपाधि आउन सक्ने सम्भावना पनि कम हुन्छ । हामीले पहिले खेलाडी उत्पादनमा ध्यान दिनुपर्छ । खेलाडी उत्पादन आजको आजै हुने होइन । स–साना बच्चाहरुलाई तालिम दिँदै लैजानुपर्छ । १०÷१२ वर्षका बच्चाहरुलाई उनीहरुको हाइट र रुची अनुसार खेलको तालिममा सरकारले लगानी गर्नुपर्छ । कम्तीमा ती बच्चाहरु राखेर उचित डाईटसँगै दक्ष प्रशिक्षकको व्यवस्था गर्नुपर्छ भने बेलाबेलामा प्रतियोगिताहरु आयोजना गर्नुपर्छ ।  किनकि खेलाडीको क्षमता जाँच्नका लागि प्रतियोगिताहरु आवश्यक हुन्छ । 

सरकारले योजना बनाएर यति सालमा यो खेलबाट यो उपाधि हासिल गर्ने भन्ने प्रस्ट खाका बनाउनु पर्छ । कुन वर्ष कुन स्तरमा पुग्ने र कुन स्तरको पदकलाई लक्ष्य बनाउने भन्दै क्रमशः आफ्नो स्तरवृद्धि र लक्ष्य तर्जुमा गरेर त्यसअनुसार तयारी गर्नुपर्छ । जसमा खेलाडी र प्रशिक्षक दुवैको दायित्व हुन्छ भने सरकारले लगानीको व्यवस्था गर्नुपर्छ ।

विभिन्न मुलुकले खेलकुदमा विस्तृत योजना बनाएर बच्चाहरुलाई सानैदेखि प्रशिक्षणमा राखेर कुन खेलमा कसलाई अघि बढाउने भन्ने योजना बनाउँछन् । तर हामी खेलकुदमा राजनीति गरेका हुन्छौं । अन्तर्राष्ट्रिय प्रतियोगितामा को जाने भनेर तँछाड मछाड गरिरहेका हुन्छौं ।

हालै भएको ओलम्पिक पनि यस्तै भयो । वामदेव गौतमको श्रीमती विदेश गएको चर्चा भयो । उनी जुन खेलको अध्यक्ष हुन्, त्यही खेलबाट जानुपर्नेमा अर्को खेलबाट जान किन मरिहत्ते गर्ने ? हाम्रोमा त्यस्ता प्रतियोगितामा खेलाडी कम र पदाधिकारी धेरै जाने चलन छ । त्यो रोक्नुपर्छ । पदाधिकारीहरु खेलाडीको हौसला बढाउन जाने कि आफै विदेश घुम्न जाने भन्ने सवाल पनि छ ।

खेलाडीलाई प्रोत्साहन गर्नेभन्दा आफुहरु घुम्नका लागि जाने काम भइरहेको छ । त्यसले खेलको गुणस्तर र पदक जित्नका लागि सहयोग गर्दैन, बरु नराम्रो सन्देश जान्छ ।

तराईका धेरै भूभाग भारतसँग जोडिएकोले यहाँ खेलको प्रचुर सम्भावना छ । साउथ एसिया नै क्रिकेटको उर्वर भूमि बनेको छ । नेपालले क्रिकेटमै विश्वकप खेल्ने सम्भावना छ । तर खेलकुदमा राजनीति नगरी प्रस्ट भिजन र सरकारले पनि आवश्यक लगानी गर्न जरुरी हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप