शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेनामा सुधार : मट्टीतेल युगको अन्त्य, शाकाहारी भान्सा

पूर्णचन्द्र थापाको पूर्णकालमा के–के भयो ?
शनिबार, २३ साउन २०७८, २२ : ०९
शनिबार, २३ साउन २०७८

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा अबको एक महिनामा अवकाशमा जाँदैछन् । अवकाश पाउनुअघि साउन २५ बाट उनी घर बिदामा बस्दैछन् । कार्यकाल सकिनुभन्दा १ महिनाअघि बिदामा बसेर उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिने सैन्य परम्परा छ ।

प्रधान सेनापति थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई साउन २५ मा जंगी अड्डामा आयोजित समारोहमा बुझबुझारथ गरेर घर बिदामा बस्ने सैनिक प्रवक्ता (सहायकरथी) सन्तोषबल्लभ पौड्यालले रातोपाटीलाई बताए । १ महिना कायम मुकायम भएर शर्माले भदौ २४ देखी नेपाली सेनाको ४४ औं प्रधान सेनापतिको कमाण्ड समाल्ने छन् ।

४३ औं प्रधानसेनापति पूर्णचन्द्रले सेवानिवृत्त हुनुभन्दा ३ महिनाअघि जेठ २३ मा पत्रकारलाई साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु भएको घोषणा गरेका थिए ।

पूर्णचन्द्र थापाले ४३ औं  प्रधान सेनापतिको रुपमा ३ वर्ष काम गरेका छन् । सो अवधिमा पूर्णचन्द्र थापाले गरेका सम्झन लायक काम मध्येका मुख्य काम हो–‘आन्तरिक सुधार ।’ सैनिक अधिकृतहरु थापालाई सेनाभित्रको आन्तरिक सुधारका ‘रोलमोडल’का रुपमा चर्चा गर्छन् ।

४३ औं प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै थापाले ‘आन्तरिक सुधार’ गर्ने पहिलो जिम्मेवारी भएको घोषणा गरेका थिए । त्यसमा उनले आँट गरे, जर्नेललाई समेत बर्खास्त गरेर घरको बाटो देखाए । सैनिक अनुशासन, नैतिकता र आचरणको सवालमा थापाले कठोर निर्णय लिएका थिए ।

प्रधान सेनापतिको कमाण्ड समालेपछि उनले भ्रष्टाचार बिरुद्ध ‘शुन्य सहनशिलता’को अंगाले । भ्रष्टाचारमा संलग्न भएको आरोपमा थापाले उपरथी (पाइलट) सुधिर श्रेष्ठ, सहायकरथी प्रयाग शम्शेर र शुरेन्द्र बरसिंह रावल सहित १० जना सैनिक अधिकृतलाई कारवाही गरे । प्रधान सेनापतिले कारवाहीको डण्डा चलाउन थालेपछि कैयनले जागिर छाडे ।३ वर्षका अवधिमा ३ सय ४५ जना सैनिक अधिकारीमाथि कारवाही भएको छ ।

आन्तरिक सुदृढीकरणमा थापाले गरेको राम्रो शुरुवातलाई निरन्तरता दिने चुनौती अब शर्माको काँधमा आएको छ ।

थापाको समय आन्तरिक व्यवस्थापनमा बितेको तर, राष्ट्रिय चुनौतीमा ध्यान दिन नसकेको बताउँछन्, पूर्व उपरथी बिनोज बस्नेत । ‘राष्ट्रिय चुनौति जुन छन्, ती चुनौतीमा चाहिँ वर्तमान प्रधान सेनापतिको समय नपुगेको देखिन्छ’ पूर्व उपरथी बस्नेत भन्छन्–‘भावी प्रधानसेनापति शर्माले सरकार प्रमुख र राष्ट्र प्रमुखलाई राष्ट्रिय सुरक्षा र सामरिक सुरक्षाको महत्वबारे कन्भिन्स गर्न ठूलो भुमिका खेल्नुपर्छ ।’

सैनिक संरचनामा परिर्वतन

थापाको कार्यकालमा सैनिक संगठन ८ पृतनाबाट ३ प्लस एकको संरचनामा गएको छ । सो संरचना अपर्याप्त रहेको जानकारहरु बताउँछन् । त्यसलाई पुर्णता दिनुपर्ने जिम्मेवारी थापाले शर्मालाई छाडेका छन् । राष्ट्रिय सुरक्षामा सो संरचना मजबुद भएमा त्यसको जस थापाले नै पाउँछन् । संरचना मजबुद नभए अपजसको भागिदार पनि थापा नै हुनेछन् ।

‘भुगोलका आधारमा संगठनको पुनर्संरचना गर्दा नदिनालालाई मात्र लिन मिल्दैन’ बस्नेत भन्छन्–‘चिन र भारतमा सैनिक मुभमेन्ट गर्नसक्ने क्षमता धेरै छ त्यसैले नेपालको पनि डिफेन्स बलियो बनाउनुपर्छ ।’

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने जिम्मेवारी नेपाली सेनाको रहन्छ । केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन र त्यसपछिका राजनितिक गतिविधि प्रति नेपाली सेना चिन्तित थियो ।

भर्ना र शान्ति सेना

प्रधान सेनापति थापाको कार्यकालमा सेनाको अधिकृत क्याडेट र सैन्य भर्नामा हुने गरेका आर्थिक अपचलन र भनसुन रोकिएको दाबी गरिएको छ । भर्ना छनोट कार्यमा संलग्न १५५ जना सकल दर्जालाई विगत दुई वर्षको अवधिमा कारवाही गरिएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।

२०७५ बाट सेनामा ‘शान्ति सेना छनौट कार्यविधि’ लागु भएको छ । प्रधान सेनापतिले कार्यविधि लागु गरेर गलत प्रथा र प्रचलनलाई अन्त्य गरेर युएन मिसनमा सैनिकलाई समान अवसर दिने प्रयासको थालनी गरेका छन् । नेपाली सेनामा कार्यरत सवै सकल दर्जालाई कम्तिमा एकपटक शान्ति सेनामा सहभागी गराउने उद्देश्य सहित थापाले कार्यविधि लागु गरेका हुन् ।

जंगी अड्डामा कार्यरत एकजना उच्च अधिकृतले रातोपाटीसँग भने–‘शान्ति मिसनमा जान विगतको ‘कोटा प्रणाली’ र भनसुनमा चाहिँ कमी आएको छ ।’

नक्कली सर्टिफिकेट छानबिन र उमेर घटाएर किर्ते नागरिकता बनाउनेहरूमाथि पनि थापाले कैंची चलाएर राम्रो शुरुवात गरेका छन् ।

मट्टीतेल युगको अन्त्य

नेपाली सेनामा खाना पकाउने इन्धनको रुपमा विगत लामो समयदेखि मट्टीतेल प्रयोग गरिन्थ्यो । खाना पकाउन सहज र भान्सामा काम गर्नेहरुको स्वास्थ्यमा ध्यान दिँदै थापाले मट्टीतेल युगको अन्त्य गरे । सेनाका हरेक पल्टनको ब्यारेकमा आजभोलि खाना पकाउन एलपी ग्याँसको प्रयोग हुन्छ ।

थापाको कार्यकालमा नेपाली सेनाको भान्सामा पहिलोपटक शाकाहारी रासनको ब्यवस्था गरिएको छ । शाकाहारी सैनिकका लागि च्याउ, पनिर र फलफूलको रासन स्केल कायम गरिएको छ । प्रत्येक ब्यारेकमा वाटर ट्रिटमेन्ट प्लान्ट ब्यवस्था गरिएको छ ।   

पूर्णचन्द्र थापाले आन्तरिक सुधारलाई मजबुद बनाउन ‘सैनिक आचार संहिता–२०७६’ लागु गरेका छन् । आन्तरिक सुधारमा राम्रो सुरुवात गरेर थापा जंगी अड्डाबाट बाहिरिँदै छन् । अब, उनले गरेका राम्रो शुरुवातलाई निरन्तरता दिँदै राष्ट्रिय सुरक्षामा थपिएका चुनौतीसँग मुकाविला गर्नुपर्ने दायित्व प्रभुराम शर्माको काँधमा आएको छ ।

आन्तरिक सुधारतर्फ राम्रो प्रयास गरेका थापालाई दु्रतमार्गको अन्तर्राष्ट्रिय परामर्शदाता छनौटमा चाहिँ मनोमानी गरेको आरोप छ । संसदको लेखा समितीले त्यसबारे छानविन गरिरहेको छ । नेपाली सेनाले निर्माण संयोजन गरिरहेको दु्रतमार्गको विषयलाई लिएर तत्कालिन उप–प्रधान तथा रक्षामन्त्री  ईश्वर पोखरेल र सेनापतिको बीचमा द्वन्द्व भएको थियो । पछि, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेललाई रक्षामन्त्रीबाट हटाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप