शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

किसानका दुःख : मकै बँदेल र बादँरले खाए, खसी बोका बाघले खायो

शनिबार, २३ साउन २०७८, ०९ : ०१
शनिबार, २३ साउन २०७८

नगरकोट । घोगा लाग्न सुुरु भएको हजारौं रोपनी बारीमा लगाएको मकै बँदेल र बाँदरले नष्ट गर्दा किसानहरुलाई लाखौं नोक्सानी भएको छ । जंगलबाट आहार खोज्दै आएको बाघले खसी÷बाख्रा खाइदिँदा अर्को नोक्सानी थपिएको छ । 
काभ्रेको मण्डनदेउपुर नगरपालिकाको विभिन्न स्थानमा किसानले छरेको मकैको बोट बँदेलले भाँचिदिँदा नोक्सान भएको हो ।

बाँदरले खोस्टा नंगाएर मकै खाने भएको उत्पादनमा कमी हुने किसानहरुको भनाई छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर १ हलेदेका नविनराज बस्ताकोटीका अनुसार छिट्टै छरेको मकैका बोटमा घोगा लाग्ने समयमा बँदेल आएर नष्ट गरिदिएका छन् । 

रातोपाटीसँग बस्ताकोटीले भने ‘हाम्रो मात्र १७ रोपनी बारीमा लगाएको मकै नष्ट भयो ।’ वरपर अन्य दाजुभाइ सबैको बारीमा बँदेल परेर हैरान भएको उनले बताए । विगतमा लेकका वन नजिकैका बारीमा मात्रै हुनेको बँदेलको आतंक बिस्तारै बेसी तिर पनि देखिन थालेको छ । 

अलि चिसो स्थानमा किसानले फागुनको अन्तिम साताबाट नै मकै छर्न थाल्छन् । बालीमा यसरी नोक्सान हुँदा किसानको लगानी र दुःख दुबै खेर गएको स्थानीयहरुको भनाइ छ । 
बारीमा आएको बँदेलको हुलले मकैका बोट, घोगा खाने गरेको किसानको भनाई छ । 

नियन्त्रण गर्न किसानहरुले विभिन्न उपाय अपनाएपनि त्यो प्रभावकारी नभएको वडा नम्बर १ का जनप्रतिनिधि रामप्रसाद ढकालले बताए ।  उनले भने ‘बँदेलको मात्र आतंक होइन बाँदर पनि थपियो बाली नष्ट गर्न ।’ पशु चौपायालाई बाघले खाइदिँदा ठुलो रकम घाटा हुनेको छ ।  

वर्षेनी बढ्दै छ नोक्सानी 

विगत केही वर्ष यता जंगली जनावरहरुको आंतकले किसानहरुको नोक्सानीमा वृद्धि हुँदै गएको छ । वडासदस्य समेत रहेका ढकालका अनुसार एउटै टोलमा मात्रै ५० रोपनी भन्दा धेरै क्षेत्रफलमा लगाएको मकै नष्ट भयो । 
किसानले दशैंमा बिक्री गर्ने सोचले पालेका चार वटा खसी बाघले खाइदिँदा एक लाख बराबरको नोक्सान भएको छ । 

मण्डनदेउपुरको हलेदे, ढाडागाउँ, गैरीगाउँ, गिर्धरे, रानीवन छाप, रोहिनी, चिते, नयाँ गाउँलगायतका स्थानमा बर्षेनी बँदेल र बाँदरको आतंक बढ्न थालेको छ । आहारको खोजीमा बाघ जस्ता जनावर बस्तीमा छिर्दा पशुलाई मात्र नभएर मानिसलाई समेत खतरा हुन थालेको स्थानीयहरुको भनाइ छ । सरोकारवाला निकायले वैज्ञानिक र जैविक विधि अपनाएर जंगली जनावरको नियन्त्रण गर्नुपर्ने स्थानीयहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप