उपेन्द्रले मधेशमा कम्युनिष्टवाद लादेको आरोप

जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका नेताहरुले अध्यक्ष उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप लगाएका छन् । ठाकुर पक्षले आज मधेशका चार जिल्लामा गरेको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा नेताहरुले पार्टी विभाजनको मुख्य कारण पनि यादव रहेको आरोप लगाए । उनीहरुले पार्टी संगठित गर्न पुनः संघर्ष गरिने समेत बताए ।
बाराको कलैयामा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले अध्यक्ष यादवलाई मधेस विरोधी नेताको संज्ञा दिए । प्रदेश २ का पूर्वमन्त्री समेत रहेका सोनलले लोकतान्त्रिक धारलाई मधेसमा मजबुत बनाउन आफूहरु हरेक मोर्चामा लड्न तयार रहेको तर उपेन्द्र यादवले मधेसी दलको नाममा राजनीति गरेर मधेशमा कम्युनिष्टवाद लाद्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।
कम्युनिष्ट पृष्ठभूमिबाट राजनीति शुरु गरेका यादवले अहिले मधेसमा कम्युनिष्टवाद लाद्ने खेल खेलिरहेको आरोप समेत उनले लगाए । सोनलले जसपाको आधिकारिकताका विषयमा निर्वाचन आयोगले गरेको निर्णयको विरोधमा आफूहरु सर्वोच्च अदालत गएको धारणा राखेको उनको निजी सचिवालयले जनाएको छ ।
अध्यक्ष यादवले पटक–पटक मधेस र मधेशीलाई धोखा दिँदै आएको आरोप लगाउँदै उनले यसको मूल्याङ्कन मधेसी जनताले गर्ने बताए । जसपाका अर्का कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले हतारमा षडयन्त्र गरेर यादवले पार्टी एकता गरेको र त्यसैको परिणामस्वरुप अहिले पार्टी फुटको संघारमा पुगेको दावी गरे । उपेन्द्रले मधेस र मधेशीको हितमा काम नगरेको आरोप समेत उनले लगाए । नेता कर्णले सत्तामा पुग्नका लागि उपेन्द्रले पटक–पटक मधेश र मधेशी जनतालाई भर्याङ बनाएको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण