बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

देउवा सरकारलाई गिज्याउने दुई दृश्य : खोप केन्द्रमा भद्रगोल, प्रमाणीकरणमा बेथिति

राति नै आउनेले कुपन पाए, बिहान ३ बजे आउने जिल्लै !
शुक्रबार, २२ साउन २०७८, १६ : २७
शुक्रबार, २२ साउन २०७८

देशमा रोजगारीको वातावरण छैन । सरकारले रोजगारी सिर्जना गर्न त परै जाओस्, विदेशिने युवाका लागि कोरोना खोपको प्रमाणपत्र पनि सहज र व्यवस्थित ढङ्गले वितरण गर्न सकेको छैन । खोप लगाएको प्रमाणपत्र लिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले सर्वसाधारणको भीड छ ।

भीड हेर्दा जुलुसजस्तो देखिन्छ, युवाहरू आक्रोशित भएर नारा लगाउनुपर्ने अवस्थामा पुगिसकेका छन् । प्रमाणपत्रका लागि कोही चार दिनदेखि धाइरहेका छन् । धाउँदा–धाउँदा काम नबनेपछि केही युवाहरू रित्तै हात घर फर्किएका छन् ।

‘ट्याक्सी रिजर्भ गरेर राति नौ बजे आएको, बिहान ६ बजे बल्ल कुपन पाइयो,’ अछाम घर भएका रविन शर्माले भने,‘अझै कति लाइन बस्नुपर्ने हो, दस्ताबेज लिएर कहाँ–कहाँ जानुपर्ने हो, थाहा छैन ।’ उनी कतार जाने तयारीमा छन् ।

त्यसका लागि खोप लगाएको प्रमाणपत्र लिन हप्ता दिनअघि नै काठमाडौँ आएका हुन् । केही दिनअघि छाउनस्थित सैनिक अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएको उनले बताए । ‘त्यहीबाट प्रमाणपत्र दिएको भए यति धेरै झन्झट हुने थिएन । होटल भाडा र खाना खर्च गर्दा १० हजारभन्दा धेरै खर्च भइसक्यो, दुख दिने काम मात्रै भयो ।’

बिहान ३ बजे टेकु आइपुगेका धनुषाका सूर्यकुमार मण्डलले भने कुपनै पाएनन् । उनी साउदी जानका लागि प्रमाणपत्र बनाउन आएका हुन् । ‘रातिदेखि लाइन बस्नेहरूले बल्लतल्ल कुपन पाएछन्, हामीले पाएनौँ । त्यसपछि पुलिस रिपोर्ट लिनका लागि मन्त्रालय गएको, त्यहाँ पनि हाकिम ११ बजे बल्ल आए, गुनासो गर्दा उल्टै फाइल रोकिदिए,’ उनले भने ।

गाउँमै जोन्सन एन्ड जोन्सनको खोप लगाएर काठमाडौँ छिरेका यी युवा प्रमाणपत्र नपाउने पक्का भएपछि फेरि गाउँ फर्कदैछन् । ‘गौशालामा कोठा भाडामा लिएर चार दिनदेखि धाइरहेको छु,’ उनले भने,‘मेरो भिसा रिन्युका लागि प्रक्रिया चलिरहेको छ । टिकट काट्न पनि बाँकी छ । पहिले खोप लगाएको प्रमाणपत्र बनाऊ भनेको यहाँ यस्तो भीड रहेछ । ४ दिन काठमाडौँ बस्दा ८–९ हजार खर्च भइसक्यो, अब भिसा रिन्यु भएर टिकट काटेपछि मात्रै काठमाडौँ आएर प्रमाणपत्र लिने हो ।’

१ लाख ३० हजार रुपैयाँ म्यानपावरलाई तथा थप ३० हजार भिसा रिन्यु गर्दा बुझाइसकेको यी युवाले बताए । काठमाडौँमा बस्दा उनको ८–९ हजार खर्च भइसक्यो । ‘अब, फेरि अर्को पटक आउँदा कति खर्च हुने हो । यस्तो सर्टिफिकेट गाउँबाटै दिएको भए सजिलो हुने थियो ।’

खोप केन्द्रमा भद्रगोल

खोपको प्रमाणपत्र वितरण गर्ने ठाउँ मात्रै नभएर खोप केन्द्रमा पनि व्यवस्थापन भद्रगोल छ । काठमाडौँको रामकोटमा भेरोसेल खोपको दोस्रो डोज लगाउन बसेका स्थानीय ध्रुवराज गिरीले यहाँको व्यवस्थापन भद्रगोल रहेको बताए । ‘१० बजे सुरु हुन्छ भनेर बिहानै ८ देखि खाना नखाई श्रीमतीसहित लाइनमा बसेको, १२ बज्दासम्म पनि सुरु नहुने भयो,’ उनले भने,‘प्रेसरको औषधी खानुपर्छ । दुनियाँ काम छ । यस्तो लापरबाहीले जनतालाई मार पर्छ भनेर बुझ्नुपर्छ नि ।’

कतिपयले सेटिङका भरमा लाइन नै नबसी खोप लगाएको उनको गुनासो थियो । ‘पावरमा भएका मानिसलाई बेलुकै सेटिंग गरेर लगाइदिने, अरूलाई नगर्ने,’ उनले भने । जुनसुकै ठाउँमा गएर पनि सहज ढङ्गले खोप लगाउन पाइन्छ भनेर नगरपालिकाले भनेको छ । तर, यहाँ त्यस्तो  छैन । दुःख दिने काम मात्रै भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप