लेखानीमा झोलुङ्गे पुल, एक घण्टाको बाटो दश मिनेटमै
बागलुङको काठेखोला गाउँपालिका– ८ लेखानीका दुई गाउँ जोड्ने अग्लो र लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । लेखानी र कादेश गाउँ जोड्नेगरी निर्माण भइरहेको पुलको अधिकांश काम सकिएको हो ।
पूर्वाधार विकास कार्यालय बागलुङले लेखानीदेखि कादेश जोड्ने ३५९ मिटर लामो र खोलाको पानी सतहदेखि ९५ मी अग्लो पुल बनाएको हो । यो पुलले कादेशका झण्डै ४०० घरपरिवारलाई वडा कार्यालय, स्वास्थ्य चौकी र लेखानी माविमा जोड्छ ।
गण्डकी प्रदेश सरकारको दुई करोड ९३ लाख ८५ हजार ६५० रुपैयाँको लागतमा यो पुल तयार हुन लागेको हो । इञ्जिनीयर कृष्ण गौतमका अनुसार पुलको तारबार लगाउने तथा डेक राख्ने काम बाँकी छ । विसं २०७६ को जेठमा सम्झौता भए पनि कोरोना सङ्क्रमणले छ महिना म्याद थपेको मुक्तिनाथ निर्माण सेवाले केही समयमै कामसक्ने आश्वासन दिएको छ ।
घुमाउरो बाटोले एक घण्टा लाग्ने गरेकामा यो पुलले १० मिनेटमै लेखानी आउन सकिने जनाउँदै स्थानीय लालकुमारी पुनले खुशी व्यक्त गरे । “लेखानी गाउँमै तरकारी पठाउनुपर्दा पनि गाडी चाहिन्थ्यो, अब डोकोमै बोकेर पनि छिट्टै पठाउन सकिने भयो”, उनले भने, “गाउँपालिका केन्द्र जान झनै सजिलो भएको छ ।” यो बाटो छोटिएपछि पालिका केन्द्र आइपुग्न एक घण्टा छोटो हुने उनले बताए ।
दुई वर्षअघि वर्षात्मा यहाँ खसेको पहिरो र खोलाको बाढीले लेखानीदेखि कादेश जोड्ने सडक क्षतविक्षत थियो । खोलाको पुरानो झोलुङ्गे पुल पनि बगेपछि लेखानी मावि आउने विद्यार्थीले समेत सास्ती खेपेका थिए । खोला तर्न नसक्ने भएकाले अभिभावकले छोराछोरी पठाउन पनि सकेका थिएनन् । साउन र भदौ महिनामा धेरै बालबालिका विद्यालय आउनै नसक्दा पढाइ अवरुद्ध थियो । यो पुल बनेपछि भने सहजै यात्रा गर्न सकिने भएको हो ।
पछिल्लो समय अग्ला र लामा पुल बनाउन नेपाली प्राविधिक नै सक्षम भएको सो कार्यालय प्रमुख सोभियत खड्काले जानकारी दिए । “यस्ता पुल निर्माण हुँदा विद्यालय र बजार छोटिएर स्थानीयले सुख पाएका छन्”, उनले भने, “घण्टौँ हिँड्नुपर्ने बाटो १० मिनेटमा छोटिँदा बुढापाकालाई उपचारमा पहुँचसमेत बढेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी