शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लाको ताजाकोटमा जनयुद्धको झल्को !

शुक्रबार, २२ साउन २०७८, ११ : ००
शुक्रबार, २२ साउन २०७८

‘कसले भन्छ यहाँ क्रान्ति सफल हुँदैन
कसले भन्छ योद्धाको जित हुँदैन
एकदुई मार हुन सक्छ
तर, मुटु इस्पात बन्छ’

पूर्ण घर्तीको शब्द रचना र मोहित विद्रोहीको आवाज तथा संगीतमा रहेको यो क्रान्तिकारी गीतले जनयुद्धको झल्को दिन्छ । शान्ति प्रक्रियापछि यस्ता खालका गीतहरु बिरलै सुनिन्छन् ।

बिहीबार हुम्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने ताजाकोटको छप्रेलामा यो र यस्तै अन्य क्रान्तिकारी गीत घन्किए । ती गीतमा ‘योङ कम्युनिस्ट लिग’ (वाईसीएल)का सदस्यहरुले नाचगान गरे । स्थानीयवासीका अनुसार ती दृश्यले जनयुद्धकै समयका सांस्कृतिक कार्यक्रमको झल्को दिएको थियो ।

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपाल, ताजाकोटले आयोजना गरेको उक्त कार्यक्रममा झण्डै तीन हजार नेता तथा कार्यकर्ता सहभागी थिए । त्यहाँ झण्डै ५ सयको संख्यामा वाईसीएलकै युवा थिए । ताजाकोटमा वाईसीएलका विभिन्न तीन कमिटीमा झण्डै ५ सय सदस्य छन् । वाईसीएल ताजाकोटले केही समय अगाडिदेखि नै प्रत्येक वडामा कमिटी गठन गरेको थियो ।

वाईसीएलका ताजाकोट गाउँपालिका अध्यक्ष गणेश मल्ल भन्छन्, ‘अहिले धेरैले सोध्ने गर्दछन्– वाईसीएल खोई ? भनेर । मेरो दाबा छ, केन्द्रदेखि स्थानीय तहसम्म अपवाद छोडेर वाईसीएल संगठन बनेको छ ।’

उसो त ताजाकोट नेकपा माओवादी केन्द्रको आधार इलाका नै हो । ताजाकोटका पाँचवटै वडामा माओवादीको वर्चश्व छ ।

लामो समयदेखि संगठन विस्तार र कार्यकर्तामा उत्साह भर्ने काम नभएको समयमा यस्ता कार्यक्रमले क्रान्तिकारी विचारधारा बोकेका कार्यकर्तालाई गोलवद्ध गर्न मद्दत पुग्ने माओवादी केन्द्रका स्थानीय नेताहरु बताउँछन् ।

वाईसीएलका गाउँ कमिटी अध्यक्ष मल्लले पार्टीमा युवाहरुको आकर्षण कायमै छ भन्ने सन्देश दिनका लागि पनि यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।

उनले भने, ‘माओवादीका केन्द्रीय नेताहरु आफ्ना एजेण्डाबाट ब्याक हुनु हुँदैन, जनताबाट टाढा हुनु हुँदैन । हरेक दुर्गम बस्तीमा, पहाडी तथा विपन्न क्षेत्रमा माओवादीको बाहुल्यता छ र हरेक क्षेत्रमा माओवादी छन् भनेर सन्देश छर्नु आजको आवश्यकता हो ।’ सोही अनुसार माओवादीको ‘लालकिल्ला’मा जनयुद्धको आभाष दिलाइएको उनले बताए । 

‘धेरैलाई लाग्न सक्छ कि माओवादी सकियो । अहँ, सकिएको छैन, जनताकै बीचमा छ,’ उनी भन्छन् ।

बिहीबारको कार्यक्रममा माओवादी जिल्ला अध्यक्ष लालकेश जैसी, पार्टी जिल्ला कमिटी सदस्य एवं ताजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ल, गाउँपालिका कमिटी अध्यक्ष ईन्द्र लगायतको उपस्थिति रहेको मल्लले जानकारी गराए ।

अध्यक्ष मल्लका अनुसार बिहीबारको भेलामा नेकपा एमाले र काँग्रेस त्यागेर २७ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप