मानव अपहरण मुद्दामा फरार एक जना पक्राउ
शुक्रबार, २२ साउन २०७८, १० : २७
मानव अपहरण तथा शरीर बन्धक र जबरजस्ती चोरी मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–९ का ३४ वर्षीय अर्जुन थेबे भनिने अर्जुन पेहिम लिम्बु छन् ।
उनलाई जिल्ला अदालत झापाले २०७३ माघ ५ गते मानव अपहरण र चोरी मुद्दामा ९ वर्ष एक महिना १५ दिन कैद र नगद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी पठाएको प्रहरीले जानकारी दिएको छ ।