ad
प्रेरक

प्रेरक प्रसङ्ग : सम्राट बने भीखारी

person explore access_timeसाउन २२, २०७८ chat_bubble_outline0

बाबु व्यासको आज्ञा अनुसार ब्रह्मज्ञान प्राप्त गर्न जनक समक्ष गएका शुकदेवले फर्कने बेला भने–


‘महाराज ! गुरुदक्षिणा दिन चाहन्छु, भन्नुस् के दिऊँ ?’



शुकदेवको कुरा सुनेर राजा जनक मुसुक्क हाँसे । केही बेर विचार गरी उनको परीक्षा गर्ने उद्देश्यले भने–



‘मलाई केही पनि चाहिन्न । भगवान्ले चाहिँदो दिएका छन् । दिने नै भए त्यस्तो चीज देऊ, जो तिमीलाई काम लाग्दैन ।’



गुरुको कुरा सुनेर शुकदेव विचार गर्न लागे त्यस्तो चीजका बारेमा । सोच्दै जाँदा आफ्नै घमण्ड र अहङ्कारलाई भेटे र त्यही दिएर बाटो लागे ।



धेरै पहिलेदेखि पढिँदै र सुनिँदै आएको यस कथामा के कति सत्यता छ थाहा छैन तर घमण्ड र अहङ्कारको अवस्था भने त्यस्तै छ । न यो काम लाग्छ न सुख नै दिन्छ । संसारमा कुनै पनि काम नलाग्ने चीज छ भने घमण्ड र अहङ्कार नै छ । यस बाहेक सबै चीज काम लाग्छन्, सबैको केही न केही उपयोगिता छ ।



काम नलाग्ने चीज भगवान्को सृष्टिमै छैन । त्यस्तो चीज उनले सृष्टि गरेकै छैनन् । एउटा देशको राजा, मन्त्री, प्रधानमन्त्री त कति बढी बेर्फुसदी हुन्छन् । रातदिन कुदाकुद र दौडादौडी गरिरहेका देखिन्छन् भने भगवान् त संसारकै मालिक कहाँ फुर्सद कि काम नलाग्ने चीज सृष्टि गर्दै बसुन् । काम नलाग्ने चीज भनेका यिनै घमण्ड र अहङ्कार नै हुन्, जो मान्छेले सृष्टि गरेका छन्, मान्छेद्वारा सृष्टि भएका हुन्, मान्छेका कारण सृष्टि भएका हुन् ।

यो भनेको त्यस्तो शत्रु हो, जो मानिसकै साथमा रहेर मानिसलाई नै दुःख दिने गर्छ । यसको सृष्टिकर्ता पनि मानिस नै हुन्, यसबाट दुःख पाउने पनि मानिसले नै हुन् । यसैका कारण बढे बढे राजामहाराजहरूले दुःख पाएका छन् । यसैका कारण रावणको वंश नाश भएको छ । हिरण्याक्षा, हिरण्यकशिपु, कंश, जरासन्ध जस्ता एकसेएक राजामहाराजाहरू समाप्त भएका छन् । कौरवहरू समाप्त भएका थिए यसैका कारण, यादवहरू समाप्त भएका थिए यसैका कारण । उनीहरूलाई स्वयं कृष्णले पनि रोक्न सकेनन् । आफ्नै अगाडि सन्तानहरू आपसमा काटाकाट गरेर सकिए कृष्ण हेरेकोहे¥यै भए । न रोक्न सके न बोल्न नै ।

यस सम्बन्धमा ग्रीसेली सम्राट् अलेक्जेन्डर सम्बन्धित एउटा प्रसङ्ग निकै चासोपर्दो छ । उनी एकपटक विजय यात्राको क्रममा भारतसम्म आइपुगेका थिए । उनले झण्डै आधा विश्वमाथि विजय पाइसेका थिए । भारत आउनुको उद्देश्य बाँकी विश्वमाथि विजय पाउनु थियो । घुम्दै जाँदा एक दिन बाटामा त्यस्तो भिखारीलाई भेटे, जसको साथमा एउटा फुटेको हाँडी बाहेक केही थिएन ।

उनको अवस्था देखेर अलेक्जेन्डरलाई दया लाग्यो । साथमा लिएर जाने विचार गरी एउटा सिपाहीलाई बोलाउन पठाए तर उनी मानेनन् । सम्राट्को आग्रहलाई अस्वीकार गर्दै भने–

‘अहँ जान्न । तिमी त के तिम्रा सम्राट् नै आएर भने पनि जानेवाला छैन ।’

सिपाहीले निकै कर ग¥यो तर टसमस भएनन् । आफ्नो आग्रह जावो भीखारीले अस्वीकार गरेको देखेर अलेक्जेन्डरलाई रिस उठ्यो । त्यतिबेला उनको नाम सुन्ने बित्तिकै सारा विश्व काम्थ्यो । उनले बोलेको भरमा मरेको मानिस बाँच्ने बाहेक सबै काम हुन्थ्यो । त्यस्ता मानिसकोे कुरा एउटा भिखारीले अस्वीकार गर्दा रिस उठ्नु स्वभाविकै थियो ।

रिसले चुर भएका अलेक्जेन्डर आफैँले आएर भने–

‘बोलाउन पठाएको होइन ? किन आएनौ ? म को हुँ थाहा छ ? विश्वविजयी सम्राट् हुँ । नाम सुन्ने बित्तिकै संसार डराउँछ । भन कारण के हो ? अन्यथा जे पनि हुन सक्छ ।’

‘महाशय ! तपाईँ अझै सपनामै हुनुहुन्छ जस्तो लाग्यो ।’ उनको कुरालाई हल्कारूपमा लिँदै भिखारीले भने–

‘मैले त भिखरी नै देखिरहेको छु । कसरी विश्वास गरुँ कि आधा विश्वको विजेता हुनुहुन्छ भनेर ?’

भिखारीको कुरा सुनेर अलेक्जेन्डर थप रिसाए । आँखा रातो पार्दै भने–

‘यस्तो कुरा गर्ने तिमी को हौ ? म कसरी भिखारी भएँ ? अहिले नै प्रमाणित गर्ने आदेश दिन्छु । होइन भने यहीँ समाप्त हुनेछौ ।’

अलेक्जेन्डरको कुरा सुनेर भिखारीले मुस्कुराउँदै भने–

‘मानिलिनुस् विजय अभियानमा हुनुहुन्छ । एक दिन फौजसित छलिएर कुनै मरुभूमिमा पुग्नुभयो । हप्तौँसम्म फौजको पत्ता लागेन । पानीसमेत खान नपाएर प्राणै जाला जस्तो भइरहेको छ । त्यतिबेला एकलोटा पानी लिएर आएको कुनै मानिस देख्नुभयो भने के गर्नुहुन्छ ?’

‘यो पनि सोध्ने कुरा हो र ? पानी देऊ भन्छु नि । त्यतिबेलाको आवश्यकता भनेको पानी नै त हो ।’

‘दिएन भने ?’

‘पैसा दिएर किन्छु ।’

‘कतिमा किन्नुुहुन्छ ?’

‘जति भन्छ त्यति नै ।’

‘भन्नाले ?’

‘प्रष्टै छ नि, साथमा भएको सबै मागे पनि दिन्छु ।’

‘त्यति गर्दा पनि मानेन भने ?’

‘आफूले जितेका आधा राज्य दिन्छु ।’

‘तैपनि मानेन भने ?’

‘पूरै राज्य दिन्छु भन्छु ।’

त्यसपछि केही हाँसे जस्तो गर्दै भिखारीले भने–

‘अब त बुझ्नो भो सम्राट् ! नाथे एकलोटा पानीमा सट्टापट्टा हुन सक्ने चीजको मालिक भएर पनि यति ठूलो घमन्ड ? एकलोटा पानी बराबर जितेर पनि संसार जितेको घमन्ड गर्दै हुनुहुन्छ भने के भनौँ तपाईँलाई ? धिक्कार छ तपाईँको घमन्ड र अहङ््कारलाई ।

भिखारीको कुरा सुनेर अलेक्जेन्डर नराम्ररी झस्के । भिखारी भित्तैसम्म पुग्ने गरी बोलेका थिए तर सम्राटसँग कुनै जबाफ थिएन । त्यसपछि उनी यति बढी बिरक्तिए कि तत्कालै विजय अभियान रोकी भिखारी बनेर हिँडे, कता गए पत्तै भएन ।

यो एउटा उदाहरण हो । वास्तवमा जहाँ पनि घमन्ड र अहङ्कारको नतीजा यस्तै हुन्छ । जसले यसलाई जित्न सकेको छ ऊ सुखी हुन्छ । जसले सकेको छैन उसले दुःख बाहेक केही पनि पाउँदैन । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।