शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिनावारी सुक्नेबेलाको समस्या: मेनोपज अर्थात् रजनोवृत्ति

शुक्रबार, २२ साउन २०७८, ०९ : ४६
शुक्रबार, २२ साउन २०७८

रजनोवृत्ति, मेनोपज वा महिनावारी सुक्नेबेला भएको भनेर एउटै अवस्थालाई बुझिन्छ । रजनोवृत्ति महिलाको जीवनको एउटा चरण हो जहाँ नियमित भैरहेको महिनावारी सधैंका लागि बन्द हुन्छ । यो एउटा निश्चित उमेरमा प्रजनन शक्तिको अन्त्य हुने सामान्य प्रक्रिया हो  । खास गरी रजनोवृत्ति ४५ बर्षबाट शुरु भएर ५५ बर्षमा अन्त्य हुने बताइएको छ । तर, कहिलेकाहीँ कुनै–कुनै महिलामा यो  ४० बर्षमा शुरु भएको पनि पाउन सक्छौं ।

यो अवस्थामा अण्डासयले हर्मोनहरु उत्पादन गर्दैन । कुनै–कुनै महिलाहरुको शल्यक्रिया गर्दा पाठेघर नै झिकिदिनुपर्ने हुन्छ । कुनै कुनैको अप्रेसन गरे पनि अण्डासय झिकिएको हुँदैन । त्यही अवस्थामा नै महिलाको हर्मोनको तह उत्पादन हुन छोड्छ । जसको पाठेघरको अप्रेसन गरिएको हुन्छ, त्यस्तो महिलामा रजनोवृत्तिको लक्षण अरु महिलाको भन्दा चाँडै हुने गर्दछ ।

जब महिला रजनोवृत्तिको चरणमा हुन्छन् उनीहरुको महिनावारीमा अनियमितता शुरु हुन्छ । यसको मतलव, कसैलाई महिनावारी छिटो हुन्छ, कसैलाई ढिलो हुन्छ । कसैलाई रक्तश्राव लामो समयसम्म हुन्छ, कसैलाई छोटो समयसम्म मात्र हुने गर्दछ । यसरी हेर्दा महिलालाई पहिलो महिनावारी हुँदा पनि निकै गाह्रो हुन्छ । हर्मोनहरुको परिवर्तनले गर्दा सही किसिमको मार्गरेखा पत्ता लागेन, पारिवारिक रुपमा राम्रो वातावरण भएन, राम्रो साथीसंगत भएन भने उदासीनता, एन्जाइटी, उच्च तहको तनाव हुन सक्छ ।

जसरी पहिलो महिनावारीलाई सन्तान उत्पादन गर्न सक्ने सुखद पक्ष मानिन्छ र महिलाको निम्ति आमा बन्न लायक अवस्था भनेर चिनिन्छ, त्यसै गरी रजनोवृत्तिको अवस्था पनि निकै सकसपूर्ण हुन्छ । यो अवस्थामा महिलाले हर्मोनमा परिवर्तन आउने कुराको महसुस गर्न सक्छन् ।

महिलामा हट फ्लेस हुने भनेको इस्ट्रोजिन हर्मोन उत्पादनमा कमी आउनु हो, जसले गर्दा एकैछिनमा तातो र एकैछिनमा चिसो महसुस हुन्छ, जुन ३० सेकेण्ड देखि  १० मिनेटसम्म रहिरहन्छ । जसले गर्दा महिला कामिरहेकी हुन्छिन्, डराइरहेकी हुन्छिन्, छाला रातो, नीलो भएको हुन्छ । विज्ञहरुले महिलाको यो अवस्थालाई जलवायु परिवर्तनसँग पनि तुलना गरेका छन् ।

हट फ्लेस प्रायःजसो एकदेखि दुई बर्षसम्म रहन्छ । रजनोवृत्तिमा महिलाको योनी सुख्खा हुने, सुत्न निकै कठिनाइ हुने, मनोभावना अर्थात स्वभावमा परिवर्तन हुने भैरहन्छ । यस्तो अवस्थामा शारीरिक सम्बन्ध राख्नु निकै पिडादायी हुन्छ । रजनोवृत्ति पछाडि यो सामान्य अवस्थामा आउने हुन्छ ।  रजनोवृत्ति उमेरसँगै आउने यो यउटा प्राकृतिक परिवर्तन हो । धुम्रपान तथा लागू औषध प्रयोगकर्तामा भने यो चाँडै देखा पर्न सक्छ ।

महिलामा  रजनोवृत्ति भएजस्तै यो समस्या पुरुषमा पनि देखा पर्दछ । तर, पुरुषमा हुने रजनोवृत्तिको खासै चर्चा गरिँदैन । पुरुषमा हुने रजनोवृत्तिलाई मेल मेनोपज वा एन्डोपोज भन्ने गरिन्छ । यो खासगरी ४० बर्ष देखि ६० बर्षसम्म रहने गरेको विज्ञहरुले बताएका छन् । यो उमेरमा पुरुषहरुमा हर्मोनहरु असन्तुलित भई महिलालाई जस्तै गाहे हुन्छ । उनीहरुलाई पनि महिलालाई मानसिक र शारीरिक कठिनाइ हुन्छ ।

यो समयमा पुरुषमा यौन इच्छा घट्ने, आफूलाई कमजोर भएको महसुस गर्ने, थकित हुने र उदास वा घरिघरि स्वभाव बदलिरहने, शारीरिक छटपटी हुने, मानसिक थकान हुने, तनाव हुने, उत्साहमा कमी आउने, निदाउन गाह्रो हुने वा निद्रा नपर्ने, कुनै कुरामा ध्यान केन्द्रित गर्न नसक्ने खालको हुन्छ ।

मध्यम उमेरमा पुरुषहरुमा टेष्टोष्टेरोन हर्मोनमा कमी आउँछ । जसबाट पुरुषले गहिरो स्वर, बलियो मांशपेसी, अनुहार र शरीरमा भएका रौंहरु प्राप्त गर्दछ । यसमा कमी आउनासाथ विस्तारै पुरुषहरुको शुक्राणुमा पनि कमी आउँछ । अथवा पुरुषहरुको यौन सन्तुष्टिमा कमी आउनुका साथै टेष्टोष्टेरोन हर्मोनमा कमी आएको महसुस गर्दछन् । जसले गर्दा पुरुषमा शारीरिक र मानसिक परिवर्तन हुने गर्दछ ।

पुरुष मेनोपजमा मुख्य गरी लिङ्गले काम नगर्ने वा उत्तेजित नहुने, यौन चाहनामा कमी आउने, उदास हुने जस्तो लक्षण देखा पर्दछ । खास गरिकन अत्याधिक तनाव, धुम्रपान तथा मद्यपानको लत, अनिद्रा वा गहिरो निन्द्रा नपर्ने, केही औषधीहरुको प्रयोग, आरामदायी अभ्यास, शारीरिक अभ्यासको कमी आदिले गर्दा पनि टेष्टोष्टेरोन हर्मोनमा कमी आउँछ, जसले गर्दा पुरुषहरुमा मेनोपज वा एन्डोपोज हुने गर्दछ ।

समग्रमा कुनै निश्चित उमेरमा महिलाको अण्डासयले  इस्ट्रोजिन र प्रोजेस्ट्रोन नामक हर्मोन उत्पादन गर्दैन । जुन हर्मोन प्रत्यक्षरुपमा महिलाको प्रजनन क्षमतासँग जोडिएको छ । जसले महिलाको महिनावारी सधैंका निम्ति बन्द हुुने गर्दछ । जुन समय महिलाको निम्ति निकै कठिनाइको अवस्था हो ।

रजनोवृत्तिका चरणहरु

पूर्वरजनोवृत्ति: यो महिलाको रजनोवृत्ति अगाडिको चरण हो । यो चरणमा महिलाको महिनावारी नियमित हुन्छ । कहिलेकाहीँ असन्तुलित पनि हुन सक्छ । तर, रजनोवृत्तिको केही लक्षण भने देखिँदैन । केही हर्मोनसम्बन्धी परिवर्तन आए पनि महसुस हुनेखालको परिवर्तन आएको हुँदैन । अथवा शारीरिकरुपमा महसुस हुनेखालको कुनै लक्षणहरु देखिँदैन । यो चरणमा महिलाको प्रजनन क्षमतामा कुनै कमी हुँदैन । बच्चा जन्माउन सक्ने क्षमता यथावत रहन्छ । इस्टोजिन र प्रोजेस्टेरोन हर्मोन समेत सन्तुलित हुन्छ ।

पूर्वमेनोपज चरण: यो चरणमा मेनोपजको लक्षणहरु देखिन शुरु गरेको हुन्छ । यसलाई मेनोपजको सङ्क्रमण काल पनि भनेर चिनिन्छ । यो चरणमा महिनावारीमा उतार चढाव आउन शुरु गरिसकेको हुन्छ । यो चरणमा इस्ट्रोजिन हर्मोनमा कमी आउन थालिसकेको हुन्छ । यो चरणमा पुर्ण रुपमा डिम्बको उत्पादन बन्द भैसकेको हुन्छ । यो चरण १ देखि ४ बर्षसम्म चलिरहन सक्छ ।

यो चरणमा शरीर तातो चिसो हुन सुरु हुन्छ । स्तन नरम हुँदै जान्छ । यौन इच्छामा कमी आउँछ । अनियमित महिनावारी शुरु हुन्छ । मनोवैज्ञानिक परिवर्तन समेत आउँछ । योनी सुख्खा हुन्छ । यौन सम्बन्ध राख्न कठिनाइ हुन्छ । सोचाइ छिनछिनमा परिवर्तन हुन्छ । सुत्न कठिन हुन्छ, थकित हुन्छ । आच्छयूँ आइरहने, छिटोछिटो पिसाव लागि रहने हुन्छ  ।

यदि महिनावारि पूरै बन्द भएन भने यो चरणमा महिला सन्तान जन्माउन सक्षम हुन्छ । यो चरणमा हुने शारिरिक परिवर्तनले सन्तान उत्पादन गर्ने क्षमताको अन्त्य गरिदिन्छ । त्यसैले यो चरणलाई जलवायु परिवर्तनसँग पनि तुलना गर्न सकिन्छ ।

पूर्वमेनोपज चरण स्  यो चरणमा पूर्णरुपमा महिनावारी बन्द हुन्छ । यो प्रायः ४५–५५ बर्षसम्म हुन सक्छ । यो एउटा महिलाहरुको निम्ति विशिष्ट खालको चरण हो । यो १२ महिनासम्म लगातार महिनावारी बन्द भएको महसुस गर्ने विशिष्ट चरण पनि हो । जहाँ डिम्बासयले पुर्ण रुपमा  डिम्ब उत्पादन गर्न बन्द भैसकेको हुन्छ ।

यो चरणमा राति पसिना आउने, शरीर क्षण भरमा चिसो, क्षण भरमा तातो हुने, एकदमै सानो–तिनो कुरामा रिसाउने, चिडचिड गर्ने, सानो कुरामा पनि रोइहाल्ने, डिप्रेसनमा जाने, चिन्तित हुने, निन्द्रामा गडबडी हुने, हैरान हुने, छाला सुख्खा हुने, योनी सुख्खा हुने, छिनछिनमा पिसाब लाग्ने हुन्छ ।

पोस्ट मेनोपज चरण  ः महिलाले  महिनावारी गडबड भएको महसुस गरेको लगातार १२ महिनापछिको अवस्थालाई पोष्ट मेनोपज भन्ने गरिन्छ । महिनावारी बन्द भएको एकबर्ष पछिको अवस्था जसलाई हामी पोष्ट मेनोपज भनेर बुझ्ने गरिएको छ । अथवा यसलाई पोष्ट मेनोपजको निरन्तरताको अवस्था पनि भन्न सकिन्छ । यो असामान्य अवस्था भने होइन ।

यो अवस्थामा महिलाको शरीर क्षणभरमै तातो र क्षणभरमै चिसो भैहाल्छ । राति पसिना आउँछ, मुटुको चाल बढ्छ, निन्द्रामा गडबढी हुन्छ, छिनछिनमा सोचाइमा परिवर्तन आउँछ । दिक्क मान्ने, उदास हुने, चिन्तित हुने र पिसावको समस्या पनि आउँछ । योनी सुख्खा हुन्छ । यौन संसर्गको निम्ति निकै कठिनाइ हुन्छ । इस्ट्रोजिन हर्मोन उत्पादन हुन छोड्छ भने मुटुको समस्या आउन सक्छ । हड्डी निकै कमजोर हुन्छ । यो अवस्थामा ध्यान पु¥याउन सकिएन भने हड्डी भाँचिन पनि सक्छ ।

रजनोवृत्तिका प्रकारहरु

प्राकृतिक मेनोपज: मेनोपजको यो अवस्थामा महिलाको महिनावारी प्राकृतिकरुपमा नै समाप्त हुन्छ । खास गरी प्राकृतिक रुपमा इस्ट्रोजिन र प्रोजेस्टेरोन सधैंका निम्ति बन्द हुन्छ ।

अपरिपक्व मेनोपज: यो अवस्था मनोपोज हुनु भन्दा अगाडि नै हुने अवस्था हो । अर्थात, ४० बर्षको वरिपरि नै महिलामा मेनोपज हुने गर्दछ । विभिन्न कारण जस्तैः डायविटिज, थाइराइड, विभिन्न किसिमका अप्रेसनहरु आदिका कारणले गर्भासयमा रक्तसञ्चार हुँदैन, जसले गर्दा हुनुपर्ने उमेर अगाडि नै मेनोपज हुने गर्दछ ।

कहिलेकाहीँ आफ्नो रक्त सम्बन्धमा यो समस्या रहेछ भने पनि यस्तो हुन सक्छ । त्यस्तै, महिला धुम्रपान तथा मद्यपानको लतमा रहिछन् भने पनि यो समस्या हुन सक्छ । कहिलेकाहीविना कारण पनि यो समस्या देखिन सक्छ ।

 कृत्रिम मेनोपज:स् महिलामा अर्बूद्ध वा क्यान्सरजस्तो जटिल प्रकृतिको रोग लागेर दुवै गर्भाशयको अप्रेसन गर्नुपर्ने अवस्थामा पनि कृत्रिम प्रकृतिको मनोपोज हुने गर्दछ । कृत्रिम मनोपोजमा तत्कालै हर्मोन बन्द हुन्छ र मनोपोजको लक्षणहरु देखिन थाल्छ । त्यस्तो अवस्थामा निकै जटिल प्रकृतिको लक्षणहरु देखिन्छ र महिलाले निकै सास्ती भोग्नुपर्ने हुन्छ ।

रजनोवृत्तिका लक्षणहरु

शारीरिक लक्षणहरुः

· शरीर एकैछिनमा तातो र चिसो हुने

· बारम्बार पसिना आउने तर प्रायजसो राति बढी हुने

· थकित हुने

· शरीरमा शक्ति नहुने वा कमजोर हुने

· शरीरको पछाडिको भागमा दुखाइ हुने

· स्तनको बृद्धि हुने

· स्तनको दुखाइ हुने

· वाकवाक लाग्ने

· तौल बढ्ने

· टाउको दुख्ने

· हड्डी र जोर्नीहरु दुख्ने

· मुटुको धुकधुकी बढ्ने

· कपाल झर्ने

· छाला सुख्खा हुने

· छालामा असामान्य खालको स्पर्शको अनुभुति हुने

· योनी सुख्खा हुने, पिसावको मार्गमा सङ्क्रमण र असंयम हुने

· योनी र मुत्रासयको घेरा पातलो हुने

· महिनावारीमा अनियमितता आउने वा रक्तश्राव हुने

· योनप्रतिको मनोभावनामा परिवर्तन आउने

· यौन संसर्गका निम्ति कठिनाइ हुने

मनोवैज्ञानिक लक्षणहरु

· एन्जाइटी हुने वा चिन्तित हुने

· यौन चाहानामा कमी आउने

· चिटचिढाहट हुने तथा छिनछिनमा सोचाइमा परिवर्तन आउने

· ध्यान केन्द्रित गर्न गाहे हुने

· आत्म विस्वासमा कमी आउने

· स्मरण शक्तिमा कमि आउने

· निन्द्रामा गडबढी हुने

· उदास हुने

· बिर्सने

रजनोवृत्तिका कारणहरु

· उमेरः रजनोवृत्ति उमेरसँगै प्राकृतिक रुपमा सधैको निम्ति बन्द हुने एउटा प्रक्रिया हो । यो महिलाको निश्चित उमेरमा हुने गर्दछ ।

· हर्मोन परिवर्तन: महिलाको अण्डासयले  इस्ट्रोजिन र प्रोजेस्ट्रोन नामक हर्मोन उत्पादन गर्दैन । अण्डासयले इस्ट्रोजिन हर्मोन उत्पादन बन्द गर्नाले रजनोवृत्ति हुने गर्दछ ।

· रजनोवृत्ति हुनु अगाडि नै मेनोपज हुनु: विभिन्न कारणले जस्तैः धुम्रपान तथा मद्यपानको लत हुँदा,  विभिन्न किसिमको दीर्घ रोगको औषधीको प्रयोग गर्नाले आदि कारणले पनि मेनोपज हुने उमेर भन्दा अगाडि नै मेनोपज हुन्छ ।

· क्यान्सरको कारण: अर्बूद्ध वा क्यान्सर लागेका कारण दुबै डिम्बासयको अप्रेसन गर्नु पर्दा पनि रजनोवृत्ति हुन सक्छ ।

रजनोवृत्तिको उपचार विधि

· जीवनशैलीमा सुधारः खानपानमा विशेष ध्यान दिन जरुरी छ । शारीरिक कसरत, पौडी खेल्नु, योगा ध्यान, कोफिनको प्रयोग नगर्ने जस्ता कुरामा ध्यान दिन जरुरी छ ।

· हर्मोनको पुनस्थापना: खासगरी रजनोवृत्तिमा हर्मोनको पुनःस्थापना गर्ने पनि एउटा उपचार विधि हो ।

· कग्नेटिभ बिहेवियर थेरापी: मेनोपजमा खासगरी एन्जाइटी, उदासीनता हुन्छ । त्यसलाई ठीक गर्नका लागि यो थेरापी प्रयोग गरिन्छ ।

· भावनात्मक सहयोग: यो समस्यामा परिवारको सहयोग निकै महत्वपूर्ण कुरा हो । उनीहरुको मनोवैज्ञानिक असर कम गर्नको निम्ति परिवारले महिलाको यस्तो समस्यामा भावनात्मक सहयोग निकै अत्यावश्यक हुन्छ ।

(खिमा रिजाल मनोविद एवं मनोविमर्शकर्ता हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खिमा रिजाल
खिमा रिजाल
लेखकबाट थप