ad
x
समाचार

पहिलो संसद भवन : भित्तामा उम्रियो बर पिपल (फोटो/भिडियो)

ऐतिहासिक भवन भत्काउने कि जोगाउने ? सम्पदा प्रेमी के भन्छन् ?

person explore access_timeसाउन २२, २०७८ chat_bubble_outline0

 


विक्रम सम्वत् २०१५ सालमा नेपालको पहिलो संसद बैठक बसेको भवन अहिले कस्तो होला ? सिंहदरबारस्थित संसद सचिवालय परिसरमा पुग्नुभयो भने तपाईले यो भवन दयनीय अवस्थामा भेट्न हुनेछ ।



राणाकालीन ग्यालरी बैठक भवनका रुपमा रहेको नेपालको पहिलो संसद भवन सरकारी उपेक्षामा परेको धेरै भइसक्यो । ०४६ सालमा बहुदल आएपछिका तीन कार्यकाल ०४८, ०५१ र ०५६ को संसद बैठक यही भवनमा बस्ने गरेको थियो । ०६३ सालमा ६०१ जना सांसद बनेपछि साँघुरो भएकाले संसद नयाँ बानेश्वरमा भाडामा सरेको हो ।  

२०७२ सालको भूकम्पले सामान्य असर पु–याएपछि यो भवन हालसम्म अलपत्र अवस्थामै छ । भवनको केही भाग भुकम्पले चर्काएको छ भने उचित संरक्षण नहुँदा भवनको भित्ताको चारैतिर बर, पिपल, चाँप, पानीअमला जस्ता वनस्पति मौलाएका छन् । भवनको छानामा प्लाष्टिक ओढाइए पनि भित्ताभरि पानी चुहिँदा भवन धराप बनेको छ । भित्ताभरि विभिन्न प्रकारका झार तथा वनस्पति ढाकिएको छ ।

भवनभित्र असरल्ल रुपमा पुराना कुर्सी, टेबल, दराज लगायतका पुराना फर्निचरका सामान थुपारिएको देख्न सकिन्छ ।

भूकम्पपछि सरकारले अति प्रभावित र सामान्य प्रभावित गरेर ३२ जिल्लामा भत्केका सार्वजनिक तथा निजी भवन पुनर्निर्माणका लागि भूमिका खेल्यो । तर, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयबाट झन्डै २ मिनेटको दुरीमा रहेको यो भवन हालसम्म उपेक्षामा परेको छ ।

२०७६ पुस २९ गते बसेको संसदको विकास तथा प्रविधि समितिले सो भवन भत्काएर अर्को भवन बनाउन निर्देशन दिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समितिले यो भवन भत्काएर नयाँ भवन भत्काउन निर्देशन दिएको हो । तर, ऐतिहासिक महत्वको भवन भत्काउने वा मर्मतसम्भार गरेर संरक्षित गर्ने भन्ने विषयमा ठोस निर्णय हुन सकेन ।

पुरातत्व विभागले यो भवनलाई प्राचीन स्मारक मानेको छ । यसलाई मर्मत सम्भार गर्दा होस् वा भत्काएर नयाँ बनाउँदा, यसको स्वरुप, वास्तुकला, साइज, निर्माण शैली र निर्माण सामग्री परिवर्तन गर्न नपाइने विभागको धारणा छ ।

यता संघीय संसद सचिवालयले पनि यो भवन भत्काउन चाहेको छैन ।  संसद सचिवालयले भवनको मर्मत सम्भार गरेर संसदीय संग्रहालय बनाउने धारणा राखेको छ । हालै सभामुख अग्निप्रसाद सापकोटाले भवनको निरीक्षण गर्दै यसलाई संरक्षण गर्न र संसदीय संग्राहालयका रुपमा विकास गर्न सुझाव दिएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भने यो भवन भत्काएर विदेशी पाहुनालाई स्वागत सत्कार गर्ने स्टेट हल निर्माण गर्ने प्रक्रिया अघि बढाएको थियो । परराष्ट्र मन्त्रालयले यो भवन भत्काएर बिदेशी पाहुना आएका बेला उनीहरुको खानपान तथा बसोबासको व्यवस्था गर्न मिल्ने भवन बनाउने गरी काम थाल्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

तर, प्राधिकरणले सो कामबाट हात झिकेर अहिले यो भवनको जिम्मा शहरी विकास मन्त्रालयलाई दिएको पुनर्निर्माण प्राधिकरणका प्रवक्ता भगवान अर्यालले रातोपाटीलाई बताए ।

अघिल्लो सरकारले विदेशी अतिविशिष्ट पाहुनाहरुका लागि खाने, बस्ने र बैठक गर्ने नयाँ स्टेट हल निर्माण गर्न निर्देशन दिए पनि प्राधिकरणले काम अघि बढाएन । प्राधिकरणका प्रवक्ता अर्यालले भने, ‘ प्राधिकरणको समय सकिन लागेकाले यो भवन भत्काएर अर्को नयाँ स्टेट हल बनाउने काम प्राधिकरणले नभ्याउने भएकाले यो आयोजनालाई शहरी विकास मन्त्रालयमार्फत अगाडि बढाउने निर्णय भएको हुनाले प्राधिकरणले काम सुरु नगरेको हो ।’

अहिले सिंहदरबार परिसरमै नयाँ संसद भवनको निर्माण कार्य भइरहेकाले सो निर्माण सम्पन्न भएपछि सहरी विकास मन्त्रालयले स्टेट हलका रुपमा यो भवनको मर्मत वा पुनर्निर्माणको काम गर्ने गरी मुख्य सचिवस्तरीय निर्णय भएको प्रवक्ता अर्यालले बताए ।

ग्यालरी बैठक : राणाकालको नाटकदेखि गणतन्त्रको नारासम्म गुञ्जिएको भवन

यो भवन जुद्ध समशेरले बि.सं. १९३७ सालमा बनाएको थिएटर (नाटकघर) हो । नाटक, सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गर्ने उद्देश्यले यो भवन बनाइएको थियो । यो भवन मुगल शैली, नेवारी शैली र नव शास्त्रीय शैलीमा बनेको स्मारक रहेको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले रातोपाटीलाई जानकारी दिए । 

२००७ सालमा प्रजातन्त्र आएपछि यो भवनको हलमा राजनीतिक कार्यक्रम सुरु हुन थाल्यो । २०१५ सालमा पहिलो संसद बैठक बसेदेखि पञ्चायत कालमा राष्ट्रिय पञ्चायतको प्रतिनिधि सभा बैठक, बहुदलीय प्रजातन्त्र आएपछि प्रतिनिधि सभाको बैठक बस्ने गथ्र्यो । २०६२÷६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आएपछि बनेको अन्तरिम संसद बैठकसमेत यही भवनमा बसेको थियो ।

संयोग नै मान्नुपर्छ राणाकालीन नाटक, प्रहसन र सांस्कृतिक कार्यक्रम हुने यो भवनमा गणतन्त्रको नारासमेत गुञ्जने अवसर पायो ।

२०६४ सालमा संविधान सभाको निर्वाचन सम्पन्न भएपछि ६ सय १ जना सभासद भएपछि उनीहरुका लागि ठाउँ नपुग्ने भएका कारण नयाँ बानेश्वरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संसद भवनका रुपमा प्रयोग गर्न थालिएको थियो ।

नयाँ बानेश्वरमा संसद भवन सुरु भएपछि २०६३ सालपछि यो भवन प्रयोगविहीन अवस्थामा पुग्यो । २०७२ सालको भूकम्पले भवनको केही भागमा क्षति  पुगेपछि  यसलाई प्लाष्टिक ओडाएर राखिएको छ । ठाउँ ठाउँमा पानी चुहिएका कारण भवन अझै जीर्ण बन्ने अवस्थामा पुगेको छ । यो भवन मर्मतसम्भार हुनेछ वा भत्काएर यही स्वरुपमा पुनर्निर्माण हुनेछ वा अर्कै नयाँ आधुनिक भवन बन्नेछ, त्यसबारेमा हालसम्म कुनै टुङ्गो लागेको छैन । 

हेर्नुहोस भिडियो :

संसदीय संग्रहालय बनाउने पक्षमा संसद सचिवालय

यो भवन पुनर्निर्माणका लागि बजेट स्वीकृत भएर आए पनि  पुनर्निर्माण प्राधिकरण, संघीय संसद सचिवालय र पुरातत्व विभागबीच पटकपटक छलफल भएको छ । तर, प्राविधिकले भवन जोगाउन नसक्ने रिर्पोट दिएपछि काम अघि नबढेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले रातोपाटीलाई बताए ।

पाण्डेले पुरातात्विक सम्पदा भएका कारण यो भवनको अवस्थाबारे थप अध्ययन गरेर मात्र अगाडि बढ्नुपर्ने बताए । उनले नयाँ संसद भवन बनिरहेकाले सो सम्पन्न भएपछि पुरानो संसद भवनलाई संसदीय संग्रहालय, संसदीय पुस्तकालयका रुपमा विकास गर्नुपर्नेमा संसद सचिवालयको धारणा रहेको उल्लेख गरे ।

ऐतिहासिक सम्पदा भएकाले यसलाई संरक्षण गरेर जानुपर्ने पाण्डेले बताए । हालै मात्र सभामुख अग्निप्रसाद सापकोटाले पनि पुरानो संसद भवनको अवलोकन गरेका थिए । सो अवसरमा सभामुख सापकोटाले सम्बन्धित निकायसँग छलफल गरेर आउने दिनमा अझ बढी संरक्षण  गर्ने, भवनलाई के कसरी जोगाउन सकिन्छ, त्यस अनुसार अगाडि बढ्न सुझाव दिएको प्रवक्ता पाण्डेले जानकारी दिए । सभामुखको सुझाव अनुसार संघीय संसद सचिवालयले आवश्यक प्रक्रिया चाल्ने उनले बताए ।

पुरातत्व विभाग भन्छ – मर्मत गर्न नसके अर्को बनाउनुपर्छ

यो भवन प्राचीन स्मारक रहेको पुरातत्व विभागले जनाएको छ । प्राचीन स्मारक भवन प्राविधिक जाँचका आधारमा कमजोर भए त्यसको मर्मतसम्भार गर्नुपर्ने र निकै नै  कमजोर भए त्यसलाई भत्काएर त्यही साइज, शैली र पहिले प्रयोग भएकै निर्माण सामग्रीबाट बनाउनुपर्ने पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘यो बि.सं. १९३७ सालमा जुद्धसमशेरले बनाएको थियटर हो । मुगल शैली, नेवारी शैली र नव शास्त्रीय शैलीको वास्तुकला रहेको यो भवन प्राचीन स्मारक हो । प्राविधिक जाँच गर्दा निकै नै कमजोर छ भने हुबहु त्यहीरुपमा तिनै सामग्री, त्यही स्वरुप, त्यही साइजमा पुनर्निर्माण गर्नुपर्ने हुन्छ ।’

गौतम थप्छन्, ‘यदि प्राविधिक जाँचबाट भवनमा धेरै क्षति पुगेको छैन भने त्यसलाई रेट्रोफिट गर्नुपर्ने हुन्छ । अहिलेसम्म त्यो भवनको प्राविधिक जाँचको रिर्पोट पुरातत्व विभागमा आएको छैन ।’

महानिर्देशक गौतमले रिर्पोट आइसकेपछि त्यसको ग्रेडिङ गरिने र सो भवन ३ ग्रेड भन्दा माथिको भयो भने भत्काउनुपर्ने उल्लेख गरे । उनले भने, ‘पुरातत्व विभागको मान्यता के हुन्छ भने कच्ची भवनहरु जुन स्मारकका रुपमा पहिचान भइसके, तिनीहरुलाई त्यही स्वरुप, त्यही साइज, त्यही शैली, त्यही बास्तुकृति र त्यही निर्माण सामग्रीहरु प्रयोग गरेर बनाउनुपर्ने हुन्छ । यसको रिर्पोट आइसकेपछि मात्रै के गर्ने भन्ने हाम्रो निर्णय हुन्छ ।’

न्यौपानेले पुनर्निर्माण गर्दा वा मर्मत गर्दा भवनको बाहिरी स्वरुपमा कुनै परिवर्तन गर्न नपाइने बताए । उनले पुरातत्व क्षेत्रका प्राविधिकले सो भवनको प्राविधिक जाँच र विश्लेषण गर्दा भवनको क्षतिको अवस्था, बलियोपनाको अवस्था इञ्जिनियरिङ कोणबाट विश्लेषण गरेपछि रेट्रोफिट गरेर बचाउन सकिन्छ भने रेट्रोफिट गरेर बचाउने, तर निकै नै कमजोर संरचना छ भने सोही वास्तुकृति, सोही साइज, सोही डिजाइनमा बनाउनुपर्ने गौतमले बताए ।

राजनीतिक उत्पत्तिको प्रत्यक्षदर्शी भवनलाई मास्नुहुँदैन

कनकमणि दीक्षित, वरिष्ठ पत्रकार

भूकम्पले जर्जर पारेको सिंहदरबारको मुख्य भवनको पश्चिम मोहोडा भत्काएर नयाँ बनाउने भएपछि सम्पदाप्रेमीहरुले यसको विरोध गरेका छन् । उनीहरुले ऐतिहासिक भवन नमासी त्यसमा रहेका वास्तुकलाको संरक्षण गर्दै मर्मतसम्भार गरेर बचाउन अभियान चलाएका थिए । तिनै अभियन्तामध्ये एक हुन् वरिष्ठ पत्रकार कनकमणि दीक्षित ।

दीक्षितले नयाँ प्रविधि भित्र्याएर राणाकालीन समयमा बनाइएका  भवनहरु सम्पदाको रुपमा रहेकाले यसको संरक्षण गर्नुपर्ने बताए । उनले नेपालको पहिलो संसद भवनको रुपमा रहेको ग्यालरी बैठक भवनको संरक्षण गर्नुपर्ने बताए ।

दीक्षितले रातोपाटीसँग भने, ‘त्यसले संसद भवनका रुपमा काम ग–यो । त्यो भवन बचाइराख्नका लागि हामीलाई अलिकति मात्रै भए पनि त्यो भवनको माया ममता जाग्नुपर्ने हो । त्यो भवन नेपालको राजनीतिक उत्पत्तिको प्रत्यक्षदर्शी हो । त्यसैले इतिहास बिर्सने क्रममा कर्मचारीतन्त्रले, राजनीतिज्ञले जताततै भत्काउन मात्रै तल्लिन भइरहेका बेला त्यो भवनको मर्मत हुनुपर्छ ।’

भूकम्पले भत्काएको सिंहदरबारको पश्चिम मोहोडा मर्मत सम्भार गर्दा एउटा सीप हासिल गरेकाले यो भवन पनि मर्मत सम्भारमा प्रयोग गर्न सकिने दीक्षितको धारणा छ । उनी भन्छन्, ‘इतिहास बुझेर पनि राणाकालीन वास्तुकला बुझेर पनि यसलाई मर्मतसम्भार गर्नुपर्छ । यो भवनभित्र धेरै काम गर्न सकिन्छ । ग्यालरी बनाउन सकिन्छ । संसदीय संग्रहालय बनाउन सकिन्छ ।’

दीक्षित थप्छन्, ‘हामी संस्कृति बिर्सिएका, आधुनिक संस्कृति बनाउनै नजान्ने जमातजस्तो भइरहेका छौँ । त्यहाँभित्र विभिन्न साँस्कृतिक क्रियाकलाप गर्न सकिन्छ । त्यसकारण त्यो भवनलाई माया गर्नुप–यो भन्ने मेरो आग्रह छ । यो भवनले सकी नसकी नेपालको पहिलो संसद भवनको रुपमा काम गरेको हो । यो भवनभित्र ठूला ठूला पिल्लरहरु छन् । यी पिलरहरुका बीचमा  मान्छेहरु बस्थे । अरु काम गर्नका लागि अहिले त अन्य जति पनि भवनहरु छन् । त्यसकारण यसलाई भत्काउने काम गर्नु हुँदैन ।’

सरकारले सो स्थानमा बिदेशी पाहुनाका लागि बैंकेट हल बनाउन खोजेको भए यही भवनलाई मर्मत गरेर त्यो रुपमा प्रयोग गर्न सक्ने दीक्षितको सुझाव छ । पुरानो भवनमा  ऐतिहासिकता हुने भएकाले विदेशी पाहुनालाई ल्याएर देखाउँदा उनीहरु पनि त्यसमा लालायित हुने उनले बताए ।

उनले अगाडि भने, ‘अहिलेको नयाँ बिल्डिङ न हामी राम्ररी बनाउन सक्छौँ, न हामी त्यसमा राम्ररी फिनिसिङ गर्न सक्छौँ । न डिजाइन राम्रो हुन्छ । आधुनिक भवनहरु खासै राम्रा छैनन् । राणाकालीन भवनहरुका अलिकति भए पनि ऐतिहासिकता हुन्छ नै, अलिकति वास्तुकलात्मक रवाफ हुन्छ । त्यो रवाफ मेटाएर हामी आधुनिक भवन बनाउँछौँ, जुन हेर्नलायक नै हुँदैन ।’

सिंहदरबारभित्र रहेको पहिलाको महालेखा परीक्षकको कार्यालयको भवन तत्कालीन राजा वीरेन्द्रले आफैंले निरीक्षण  गरेर बनाएकाले  वास्तुकला, फिनिसिङको हिसावले पछिल्लो आधुनिक युगमा बनेको हेर्नलायक भवन रहेको उनले बताए ।

दीक्षितले रातोपाटीसँग भने, ‘आजकाल बानी के भएको छ भने आँखा चिम्लेर भत्काइहाल्ने । सिंहदरबारभित्रका आधुनिक वास्तुकला हेर्नुस, कुनैपनि हेर्न लायक नै छैन । फिनिसिङ पनि राम्रो  छैन । ठेकेदारलाई काम गर्न दिएको हुन्छ, हाम्रो नेपालको गरिमा बोक्ने वास्तु त्यहाँभित्र छँदैछैन । आजभोलि बनेका बिल्डिङहरु कुनै पनि हेर्न लायक छैनन् ।’ 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।