‘दुर्गेश थापाले एकपछि अर्को झुट बोलिरहेका छन्’
गायक दुर्गेश थापाको नयाँ तीज गीत ‘ख्यास्स पुतली’बारे नेपाली गीत सङ्गीत क्षेत्रमा मात्र नभई सामाजिक सञ्जालमा समेत बहस भइरहेको छ । तीज पर्वका लागि भनेर दुर्गेशले सार्वजनिक गरेको उक्त गीतले कला, संस्कृतिमाथि प्रहार गरेको भन्दै लोक तथा दोहोरी गीत प्रतिष्ठानले उनलाई सार्वजनिक बहिष्कारको निर्णयसमेत गरेको छ ।
दुर्गेशले भने प्रतिष्ठानले आफूमाथि अन्याय गरेको बताउँदै आएका छन् । प्रतिष्ठानले आफूलाई कुरा राख्ने मौका नदिएको, पक्षपाती व्यवहार गरेको र आफ्नो गीत अश्लील र छाडा नभएको दुर्गेशको दाबी छ ।
दुर्गेशको गीतमाथिको विवादबारे नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानको उपमहासचिव एवम् प्रतिष्ठान अन्तर्गत गठित ‘विकृति, विसङ्गति न्यूनीकरण विभाग समिति’का संयोजक सर्जक शिव हमालसँग रातोपाटीले वार्तालाप गरेको छ ।
प्रस्तुत छ, हमालसँगको कुराकानीको सम्पादित अंश–
गायक दुर्गेशलाई तपाईंहरुले कारबाही गर्नुभयो, एउटा कलाकारलाई यसरी किन कारबाही गरिएको ?
हिजोदेखि आजसम्मका दुर्गेशका गीत के कति गलत थिए र छन् भन्ने कुरा ऐनाजस्तै सबैमा छर्लङ्ग छन् । कोही कसैलाई थाहा छैन भने युट्युबमा हेर्न सकिन्छ । प्रतिष्ठानको कारबाही व्यक्तिगत होइन, संस्थागत निर्णय हो । गीत सङ्गीतमार्फत समाजलाई अराजकतामा कसैले पनि लैजानु हुँदैन । त्यसैले प्रतिष्ठानले कारबाही गरेको हो । एउटा व्यक्ति, जो गलत छ, त्यस्तो व्यक्तिसँग समाज र संस्था डराएर पछि हटेको इतिहास अहिलेसम्म छैन ।
प्रतिष्ठानको निर्णय आफूमाथिको व्यक्तिगत प्रतिशोध हो भनेर दुर्गेशले भनेका छन् नि ?
यो दुर्गेशको केटाकेटीजस्तो कुरा हो । पुरै संस्थाले गरेको निर्णय कसरी व्यक्तिगत इगो, प्रतिशोध हुनसक्छ ? हरेक व्यक्तिको चर्चा र लोकप्रियता आ–आफ्नै किसिमको होला । दुर्गेशको पनि छ । त्यो कसैले खोसेर खोस्न सक्ने कुरो पनि होइन । त्यो हिसाबले पनि किन प्रतिशोध साँध्नु प¥यो र ? दुर्गेश फेरि दोहोरी गायक विधाको पनि होइन । ऊ जस्तो राम्रो कलाकार, गायक, गीत सङ्गीतको क्षेत्रमा छ, त्यो गर्वको विषय हो । हाम्रो भनाइ यति मात्र हो कि कसैले पनि गीत सङ्गीत बिगार्नु भएन । यदि कसैले त्यसो गर्छ भने प्रतिष्ठान चुप लागेर बस्दैन । उसको विरुद्ध उत्रिन्छ ।
प्रतिष्ठान अदालत बन्न खोजेको आरोप पनि छ नि ?
हामी कसरी अदालत बन्यौ ? हामीले पनि प्रतिष्ठान अदालत होइन भन्दै आएका छौँ । यदि अदालत भएको भए दुर्गेशलाई सिधै कठघरामा उभ्याउँथ्यौँ । दुर्गेशको विषयमा संस्थाले जे निर्णय गरेको छ, त्यो नैतिक धरातलमा टेकेर एउटा नसियतमात्र दिएको हो । उसको नैतिक सबै अधिकार सुरक्षित छन् । खान, बोल्न, हिँड्न लगायत सबै क्रियाकलाप गर्न पाएकै छ । संस्थाले फौजदारी अभियोग लगाएको त छैन नि ! आफ्नो अधिकार प्रयोग गर्दा समाज र संस्कृति बिगार्न पाइन्छ भन्ने त कतै छैन होला नि !
यसअघि पनि त्यसखालका गीत बजारमा आएको भन्ने दुर्गेशको तर्क निराधार हो र ?
मलाई लाग्छ, दुर्गेशले जस्तो क्रियाकलाप र छाडा गीत सङ्गीत कुनै अग्रजले अहिलेसम्म ल्याएको र बनाएको छैन । यदि रहेछ भने पनि विगतमा के के नराम्रो भए, त्यो सुधार्न लाग्ने हो । नराम्रो कुरा केही भइहालेको रहेछ भने त्यसलाई निरन्तरता दिने होइन, सच्याउने हो । हिजोलाई त कसैले फर्काउन सक्दैन । हिजोको गल्ती सच्याएर भविष्य राम्रो बनाउने हो, होइन र ? हिजो उसले यस्तो गरेको थियो, आज मैले त्यही गरेँ भनेर कसैले भन्न मिल्दैन । आफ्नो नैतिकता, सोच र विवेक यो ठाउँमा प्रयोग गर्न सकिन्छ नि !
दुर्गेशले आफ्नो गीतमा प्रयोग भएको शब्दलाई समाजबाटै टिपेर ल्याएको, त्यो अश्लील नरहेको दाबी गरेका छन् त ?
दुर्गेशले के भनेका छन्, के भन्छन् त्यो उनको व्यक्तिगत कुरो हो । उनका गीतमा शब्दले अश्लील भन्न खोजेको छ कि छैन भन्ने कुरा त भिडियो हेर्दा प्रस्ट भइहाल्छ नि । यदि ती शब्द अश्लील र छाडा भावमा प्रयोग नभएका भए भिडियो किन त्यसरी बनाइयो ? गीतमा भएको अश्लीलता भिडियोमार्फत प्रस्ट्याउन खोजिएको होइन र ? काम एकथरी गर्ने, बाहिर एकथरी बोल्ने ? अहिले अप्ठ्यारो प¥यो भनेर रोइलो गर्ने ?
कस्तो गीत सङ्गीतलाई अश्लील र छाडा मान्ने ?
जुन गीत सङ्गीत परिवार, आफन्तसँग बसेर सुन्न सकिँदैन, सामूहिक भेलामा बजाएर नाच्न सकिँदैन, एउटा चेलीले आफ्नो परिवारका पुरुष सदस्यसँग बसेर हेर्न र सुन्न सक्दिनन्, त्यस्तो गीत अश्लील हो । जुन गीतले समाज तथा बालबालिकालाई सकारात्मकभन्दा नकारात्मक बाटोमा हिँड्न प्रेरित गर्छ र गरिरहेको हुन्छ त्यस्ता गीत नै अश्लील र छाडा हुन् । छाडा शब्द गीतमा राखेको मात्र होइन, दुर्गेशले भिडियो पनि छाडा बनाएको छ । बाहिर छाडा होइन भनेरमात्र छाडा नहुने होइन ।
गाउँघरमा मेला, रत्यौलीमा पनि त्यस्ता शब्द प्रचलनमा आएकै पाइन्छ नि ?
गाउँघरको रत्यौलीमा चल्नु र रेकर्डिङ गरेर ल्याउनु फरक पाटो हो । रत्यौलीको परिवेश र सामाजिक परिवेश फरक पाटो हो । रत्यौलीमा नाचेकी महिला भोलिपल्ट घरमा गएर त्यसरी नै नाच्छिन् त ? हामी स्रष्टाले त्यस्ता विषयवस्तु सिंगारेर ल्याउने हो, बिगारेर ल्याउने होइन ।
प्रतिष्ठानले कोहीलाई काखा र कोहीलाई पाखा गरेको आरोप लागेको छ । के संस्थाले पनि गुटको प्रतिनिधित्व गरेको हो ?
संस्थाभित्र त्यस्तो कुनै गुट छैन । संस्थाले सबैलाई एउटै हिसाबले हेरेको छ । दुर्गेशको सम्बन्धमा यो केटाकेटी छ, अब सुध्रिएला भनेर धेरैपटक संस्थाले छुट दिएको छ । संस्थाका पदाधिकारीलाई त यस्तो छुट पनि दिइन्न । ‘भुत्रो मायाजाल’ गीत ल्याउनेलाई हामीले संस्थाबाट निकालेका थियौँ । पछि उहाँ सच्चिनु भयो ।
वसन्त थापाको ‘ओइ भन्न नपाउँदै’ पनि सुधार्न लगाएर फेरि ल्याइएको हो । संस्थामा ४० हजार सदस्य छन् । ती सबैले गल्ती गरेका छैनन् । कहिलेकाहीँ गल्ती गर्नु ठुलो कुरो होइन । गल्ती गरेर नसच्चिनु र बारम्बार दोहो–याउनु ठुलो कुरो हो । दुर्गेश आफू गल्ती गर्छ, सुध्रिँदैन अनि अर्काको उदाहरण देखाउँछ ।
तपाईंहरुले स्पष्टीकरणका लागि समेत दुर्गेशलाई बोलाउनुभएन रे, म्यासेन्जरबाट पत्र पठाइयो रे, किन ?
म प्रतिष्ठानभन्दा बाहिरको व्यक्ति होइन । संस्थाको उपमहासचिव हुँ । संस्थाले बनाएको विकृति, विसङ्गति न्यूनीकरण विभाग समितिको संयोजक हुँ । अहिले दुर्गेशलाई हुलाकमार्फत चिठ्ठी पठाउनुपर्ने होइन होला ।
एउटा संस्थाको अध्यक्ष र विकृति न्यूनीकरण समितिको संयोजकको हस्ताक्षरसहित संस्थाको आधिकारिक लेटर हेडमा दिएको पत्रलाई आधिकारिक होइन भन्ने हो भने अर्कै कुरा हो । संस्थाको लेटर हेड जसले पायो त्यसले प्रयोग गर्न मिल्छ र ? अहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिँदा छिमेकी राज्यको सरकार प्रमुखले हुलाकबाट चिठ्ठी पठाएजस्तो मलाई लाग्दैन । अहिले जुन प्रविधि छ, त्यो सदुपयोग गर्ने हो । अहिले दुर्गेशले एकपछि अर्को झुटो बोलिरहेका छन् । प्रतिष्ठानले बुझेको छ, सर्वसाधारणले पनि यो बुझ्नु जरुरी छ ।
अर्को कुरा, दुर्गेशले कोहीसँग कुरा भएको छैन पनि भन्ने गरेका रहेछन् । त्यो पनि गलत हो । दुर्गेशसँग मैले गरेको पटकपटकको सम्वाद सबै रेकर्डमा प्रमाणको रुपमा सुरक्षित छन् । केहीपटक भेटसमेत भएको थियो । शिव हमाल संस्था बाहिरको मानिस भए उनको नजरमा भित्रको मानिस को रहेछ ? प्रष्ट पार्नुप¥यो ।
दुर्गेशसँग संस्थागत रुपमा तपाईंको भेट भएको हो त ?
हो, पटकपटक भएको छ । गीत निकाल्नु अगाडि पनि मैले यस्तो गीत नल्याऊ भनेको थिएँ । उनले ‘दाइ मेरो गीत हिपहप हो । लोकदोहोरीसँग लेनादेना छैन’ भनेर गीत सच्याउन मानेनन् । ‘यो रिपोर्ट संस्थामा गर्छु । जे गर्छ संस्थाले गर्छ’ भनेर उनीसँग म छुटेको थिएँ । अहिले उनी आफ्नो स्वार्थका लागि भेट भएको छैन भन्छन् । ढिलो न चाँडो सर्वसाधारणले सत्य थाहा पाउँछन् । त्यसैले भेट भएको छैन भनेर फटाहा बोल्न मिल्दैन ।
दुर्गेश संस्थाको सदस्य होइन र ?
म संस्थामा छैन भनेर दुर्गेशले बाहिर भनिरहेका छन् । यो कुरो पनि उनको अर्को झुट हो । दुर्गेश लोक तथा दोहोरी गीत प्रतिष्ठानको छैठौंं महाधिवेशनमा केन्द्रीय सदस्यमा उठेर हारेको व्यक्ति हो । सदस्य नभएको व्यक्ति कसरी महाधिवेशनमा उठेर हा–यो त ? यो प्रश्न उसलाई नै सोध्नुप–यो ।
सदस्य बाहिरको व्यक्तिले संस्थाको कार्यसमितिमा उठ्ने हैसियत राख्छ र ? लोकदोहोरी गायक नभए पनि लोकदोहोरी गीतको मोडल त हुन् दुर्गेश । मेरो ‘हाँस्न सिकायौँ, रुन सिकायौँ’ गीतबाट उनी अभिनयमा चम्किएका हुन् । लोकदोहोरी गायक नभए पनि उनी यो देशको नागरिक हुन् । नागरिकलाई संस्कृति बिगारेर समाजलाई गलत सन्देश दिने अधिकार त पक्कै छैन होला ।
अब फिल्ममा जस्तै गीत संगीतमा पनि सेन्सर आवश्यक देखिएको हो ?
– गीत संगीतमा अहिले देखिएको अश्लील होडबाजीले सेन्सरको अवश्यकता देखिएको धारणा कतिपय राखेका छन् । पहिलो कुरो, सेन्सर भन्ने त पहिला आफ्नो दिमागबाट गर्नुप¥यो । आफूले बनाउने गीतले समाजमा असर गर्छ कि गर्दैन, लोकसंस्कृति बिगार्छ कि बिगार्दैन । पहिले आफैले बिचार गर्नुपर्छ । यो भयो भने कसैले बन्देज लगाउनै पर्दैन ।
अहिले हामी आफ्नो सिर्जनाको मालिक भएका छौँ । स्वतन्त्र रुपमा सिर्जना गर्न पाएका छौँ । भोलि राज्यले सेन्सर लगाएर गीत काट्ने अवस्था आयो भने सिर्जनामा कस्तो असर गर्छ भन्ने पनि हामी कलाकारले नै आँकलन गर्नुपर्छ । नेपाली फिल्मले ५० वर्ष पार गर्दा पनि माथि उठ्न नसक्नुको कारणमध्ये सेन्सर पनि एक हो ।
किनभने, मनले सिर्जना गरेको कुरालाई ऐन कानुनले काटिदिन्छ । हामी आफैंले आफ्नो ‘सेन्स अफ ह्युमर’ राम्रोसँग प्रयोग गरेर, सकारात्मक र नकारात्मक पाटो बिचार गरेर गीत सङ्गीत बनायौं भने सेन्सर आवश्यक छैन । सेन्सर राम्रो होइन भन्ने मेरो धारणा हो । हामी आफै सच्चिए राज्यलाई सेन्सरको दबाब पनि पर्दैन । नेपाली सङ्गीत अहिलेको अवस्थामा आउन सफल भएको कैंची चलाउने ठाउँ नभएर पनि हो ।
एउटा कलाकार म सेलिब्रेटी हुँ, म समाजको ऐना हो, मैले जस्तो बाटो देखायो, समाज र पछिका पुस्ता त्यही बाटो हिँड्छन् भन्नेमा सचेत हुनुप–यो नि । आफूलाई सेलिब्रेटी पनि मान्ने, समाजको विषयमा जिम्मेवार नहुने हो भने त्यस्तालाई समाजले बहिस्कार गर्छ । अहिले गरेको सिर्जना भोलिसम्म पनि रहन्छ र भोलि त्यो सिर्जनामा गर्व गर्न सकिन्छ कि सकिँदैन भनेर पनि हामीले नै सोच्नुपर्छ ।