शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल पक्षीय युवा नेताहरुद्वारा निर्धारित मितिमा महाधिवेशन गर्न सभापतिको ध्यानाकर्षण

बिहीबार, २१ साउन २०७८, १८ : ४४
बिहीबार, २१ साउन २०७८

नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीको महाधिवेशन समयमै गर्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

भदौ १६ देखि १९ गतेसम्मका लागि तोकेको महाधिवेशन नहुने अवस्था सिर्जना भएपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय युवा नेताहरुले पार्टीको वैधानिकता जोगाउन मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति देउवाको ध्यानाकर्षण गराएका हुन्।

नेविसंघका पौडेल पक्षीय वर्तमान र पूर्व पदाधिकारी तथा काँग्रेस युवा नेता रञ्जिकर्ण, मनोजमणि आचार्य, दीपक भट्टराईको नेतृत्वमा गएको टोलीले निर्धारित समयमै महाधिवेशन गर्न माग गरेको हो।

‘ऐतिहासिक पार्टीको कानुनी वैधानिकतामाथि नै प्रश्न उठ्ने त होइन ? भन्ने गम्भीर आशङ्का उब्जाएको छ। तसर्थ, विधान र नियमावली अनुरूप न्यायपूर्ण ढङ्गले क्रियाशील सदस्यताको विवाद समाधान गरी धर्ना र अनसन लगायतका गुनासाहरुको सम्बोधन गर्दै तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरियोस्,’ उनीहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

उनीहरुले तोकिएकै समयमा महाधिवेशन नभए अनशन, धर्ना जस्ता कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन्।


नेविसंघ, तरुणदल लगायतका भातृ एवम् शुभेच्छुक संस्थाहरुको पूर्णता र महाधिवेशनका लागि पनि सभापतिको ध्यानाकर्षण गराइएको छ ।  


यस्तो छ, कार्यकर्ताले बुझाएको ज्ञापनपत्र

श्रद्धेय सभापतिज्यू,
नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समिति बी। पी। नगर सानेपा, ललितपुर ।

विषय स् १४ औं महाधिवेशन सुनिश्चितता सम्बन्धमा ध्यानाकर्षण पत्र ।

महोदय,
सर्वप्रथम कम्युनिष्ट अतिबादको कोपभाजनमा पर्दै गरेको संविधान र लोकतन्त्रको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी तपाईको नेतृत्वमा नेपाली काँग्रेसले सम्हालिरहेको छ । सम्माननिय प्रधानमन्त्रीको रुपमा यहाँको कार्यकाल अत्यन्त सुखद एवम सफल रहोस, हार्दिक बधाइ तथा शुभकामना प्रकट गर्दछौ

२०७८ साउन १२ बाट वडा अधिवेशन सुरु भई भदौ १६–१९ मा सम्पन्न हुने भनिएको नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्न पुगेको विडम्बनापूर्ण परिस्थितिले नेपाली काङ्ग्रेस पार्टीको गरिमामा ठुलो क्षति पुगेको निष्कर्ष निकाल्दै काठमाडौँमा उपलब्ध सातै प्रदेशका प्रतिनिधीमुलक युवा साथीहरुको बैठकले सबल काङ्ग्रेस निर्माणका लागि युवा अभियान शुरु गर्ने निर्णयका साथ १४ औं महाधिवेशनको सुनिश्चितताका लागि श्रद्धेय सभापतिज्यू र सिङ्गो केन्द्रीय कार्यसमिति समक्ष निम्नानुसारको ध्यानाकर्षण गराउदछौँः

१. महाधिवेशनको समयसीमाको अन्तीम क्षण पुगिसक्दा पनि क्रियाशील सदस्यताको छानबिन गरी अन्तिम रूप दिन नसक्नुले नेतृत्वको महाधिवेशन प्रतिको प्रतिबद्धता र नियतमाथी समेत प्रश्न उठ्न थालेको छ क्रियाशिल सदस्यकै विवादमा विभिन्न जिल्लाका साथीहरु पार्टी केन्द्रीय कार्यालयमा धर्ना र अनसन बसिरहेका छन् । यस्तो प्रवृतिले कतै ऐतिहासिक पार्टीको कानुनी वैधानिकतामाथी नै प्रश्न उठ्ने त होइन ? भन्ने गम्भीर आशङ्का उब्जाएको छ तसर्थ, विधान र नियमावली अनुरूप न्यायपूर्ण ढङ्गले क्रियाशील सदस्यताको विवाद समाधान गरी धर्ना र अनसन लगायतका गुनासाहरुको सम्बोधन गर्दै तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरियोस् ।

२. विभिन्न राजनीतिक दलबाट नेपाली काङ्ग्रेसमा समाहित साथीहरुलाई स्वागत गर्ने क्रममा उहाँहरुको नाममा पहिल्यैदेखि काङ्ग्रेसकै समर्थक, सदस्य वा शुभचिन्तक रहेका व्यक्तिहरुलाई नै कागजी रूपमा नवप्रवेसी बनाई हजारौ क्रियाशील सदस्यता
वितरण गरिएका प्रमाणहरु बग्रेल्ती भेटिएका छन् ।

हालै समाहित साथीहरुको अधिकारमा मात्र हैन, पुराना सदस्यहरुको मर्यादामा समेत गम्भीर आघात पुगेको छ । यसले कुत्सित मनसाय राखी प्राविधिक रूपमा सङ्गठन कब्जा गर्ने प्रवृतिले बढावा पाएको हुँदा यस्ता तथ्यहरुमाथी पुनः छानबिन गरी वडा तहबाट नै सिफारिसको आधारमा क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था कार्यान्वययन गरियोस् ।

विधिवत रूपमा महाधिवेशन सम्पन्न नहुने, ने.वि.संघ, तरुणदल लगायतका भातृ एवम् शुभेच्छुक संस्थाहरुको पूर्णता र महाधिवेशन पनि बर्षौंदेखि नगर्ने हो भने नेपाली काङ्ग्रेसको लोकतान्त्रिक छविलाई जनस्तरमा कायम राख्न र नयाँ पुस्ताको उर्जा अभिप्रेरित गर्न नसकी आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्ने संयन्त्र निष्प्रभावी रहने हुँदा संकटबाट लोकतन्त्र र काङ्ग्रेसलाई जोगाउन सम्पूर्ण पुस्ताको सहभागिता सहितको विधिवत् महाधिवेशन सुनिश्चित गरियोस् ।

श्रद्धेय सभापतिज्यू,

यो समयमा निष्पक्ष रूपमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेर पार्टी विधान र आन्तरिक लोकतान्त्रिक प्रणालिको सुदृढीकरण समेत सुरक्षित छ भन्ने प्रमाणित गर्न सफल हुनेछौं र जनताको अभिमत सहित मुलुकलाई काङ्ग्रेस के नेतृत्वमा गति दिन सकिनेछ भन्ने हामीलाई विश्वास छ । यसै पवित्र उद्देश्यलाई सघाउन जीवनको उर्जाशील समय ने।वि। सङ्घ, तरुण दल, महिला सङ्घ लगायतका भ्रातृ एवम् शुभेच्छुक संस्थामा खर्चिदै पार्टीको विभिन्न तहको जिम्मेवारी सम्हालिरहेका हामी युवाहरुले सबल काङ्ग्रेस निर्माणका लागि युवा अभियान सुरु गरी यो ध्यानाकर्षण गराएका छौं । हामिलाइ विश्वास छ, १४ औ महाधिवेशनको सुनिश्चितताका पक्षमा दबाब सिर्जना गर्न उठाइएका यी आवाजहरुको अविलम्व सम्बोधन हुनेछ । पार्टि र लोकतन्त्रलाई जीवन्तता दिने र वैधता कायम राख्ने यी मागहरु पुरा नभएको अवस्थामा पार्टिको केन्द्रीय कार्यालय र ७७ वटै जील्ला कार्यालयहरुमा धर्ना, अनसन र आमरण अनसन लगायतका थप कार्यक्रमहरु गर्न बाध्य हुनेछौँ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप