बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सांसद विमला वली बन्धक प्रकरण : ४ दलको गम्भीर आपत्ति

बिहीबार, २१ साउन २०७८, १६ : ०५
बिहीबार, २१ साउन २०७८

लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक  बनाइएको प्रकरणमा विपक्षी गठबन्धनका चार राजनीतिक दलले मुख्यमन्त्री र एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालमाथि प्रश्न उठाएका छन् ।

माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै सांसद वलीलाई घरबाट मुख्यमन्त्री निवासमा जबजस्ती ल्याएर बन्धक बनाएको घटनाको भर्त्सना गरेका छन् ।

सांसद वलीले आफूलाई नेपालगन्ज लैजाने भन्दै जबर्जस्ती बुटवल ल्याएर पाँच दिनसम्म मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको र प्रेस विज्ञप्ति तथा रजिस्टरमा लेखिएको विवरणसमेत पढ्न नदिइ हस्ताक्षर गर्न लगाइएको तथ्य पत्रकार सम्मेलनमार्फत बाहिर ल्याएलगत्तै चार दलले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनाको विरोध गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा सांसद वलीलाई बन्धक बनाइएको आरोप लगाएका छन् । नेपाली काँगेसका प्रमुख सचेतक फखरुदीन खान, माओवादी प्रमुख सचेतक तुलाराम घर्ती मगर, जसपाका उपसचेतक सुमन शर्मा रायमाझी, जनमोर्चाकी तारा जीसीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा यस्ता घटनाले जनताको सुरक्षा गर्न बनेको सरकारको नेतृत्व गर्ने व्यक्तिबाट यस्तो हुँदा संघीय लोकतान्त्रिक व्यवस्था धरापमा पर्नसक्ने खतरा रहेको उल्लेख गरेका छन् ।

 


 

विज्ञप्तिमा मुख्यमन्त्री पोखरेल सरकार वैशाख १९ गते असंवैधानिक ढंगले निर्माण भए यता निरन्तर अल्पमतमा रहेर पनि निर्लज्ज ढंगले अराजनीतिक र असंवैधानिक रुपमा संचालन हुँदै आएको आरोपसमेत लगाइएको छ । उनीहरुले अविश्वासको प्रस्ताव सामना नगर्ने, बजेट पेस नै नगर्ने र संसद बहिस्कार गर्ने, अन्य पार्टीभित्र तोडफोड गर्नेजस्ता घटनामा प्रदेश सरकारको संलग्नता भइरहेको जनाएका छन् ।

उनीहरुले प्रदेश सरकारलाई यस्ता आपराधिक घटनामा संलग्न अपराधीलाई तत्काल कानुनको कठघरामा उपस्थित गराउन माग गर्दै अपराधको बलमा सरकारमा टिकिरहने दुस्वप्न नदेख्न पनि चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप