शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली एकताको पक्षमा उभिनुपर्ने नेपाल पक्षीय स्थायी कमिटी बैठकको निष्कर्ष

बिहीबार, २१ साउन २०७८, १४ : ३५
बिहीबार, २१ साउन २०७८

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले एकताको प्रमुख बाधक अध्यक्ष केपी शर्मा ओली भएको भन्दै उनले आफ्नो अभिव्यक्ति र कार्यशैलीलाई सच्याउनुपर्ने ठहर गरेको छ।  नेपाल पक्षको केन्द्रीय समिति बैठकअघि बसेको स्थायी समिति बैठकले सो ठहर गर्दै आफ्नो तर्फबाट एकताका लागि अन्तिम समयसम्म पहल गर्ने निर्णय गरेको छ । 

बैठकपछि नेपाल पक्षीय स्थायी समिति सदस्य भीम आचार्यले बैठकले समसामयिक राजनीतिक र पार्टी एकताबारे एजेण्डा तयार गरेको भन्दै यसबारे केन्द्रीय समितिमा घनिभूत छलफल हुने बताए ।  उनले आफूहरु पार्टी एकताको सन्दर्भमा गम्भीर र संवेदनशील रहेको स्पष्ट पार्दै केन्द्रीय समिति बैठकमा पनि ढंगले छलफल र निर्णय लिइने बताए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले एकताको माहोल बिथोलिएको निष्कर्ष आफूहरुको रहेको उनको भनाइ छ । 

‘हामी पार्टी एकताका लागि गम्भीर र  संवेदनशील छौं । केन्द्रीय समिति बैठक पनि यही ढंगले अघि बढ्छ’, उनले भने, ‘केपी ओली एकताको पक्षमा उभिनुपर्दछ । पार्टी एकता हुने कुरामा समस्या छैन ।’ उनले कार्यदलस्तरमा भएको १० बुँदे सहमतिको जगमा टेकेर पार्टी एकता गर्न सकिने स्पष्ट गर्दै दुबै पक्षमा त्यसमा केही विमति भए छलफलबाट समाधान निकाल्न सकिने बताए । 

१० बुँदे सहमति कार्यान्वयनमा ल्याउन जटिलता ओलीकै कारण समस्या निम्तिएको उनको दावी छ । ‘माधव नेपाललाई देशद्रोही  र गद्दार भन्ने गर्नुहुन्छ, उहाँको बोलीले वातावरण बिग्रिरहेको छ’ उनले भने, ‘पार्टी एकताको कुरामा आजको बैठकमा पनि सबै नेताहरु गम्भीर देखिनुभएको छ र गम्भीर हुनुहुन्छ ।’

उनले एकता गर्नका लागि एकीकृत दवाव सिर्जना गर्न पनि केन्द्रीय कमिटी बैठक बोलाइएको बताए ।  ‘यो कुनै काउन्टर बैठक होइन । यो बैठकबाट एमालेलाई एक गराउने गरी निर्णय लिन सकिन्छ’ संस्थापनले बैठकबारे आपत्ति जनाएको प्रति लक्षित जवाफ दिँदै उनले बताए । स्थायी समिति बैठक सकिएसँगै अहिले क्वालिटी बैंक्वेटमा केन्द्रीय समिति बैठक सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप