शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विशेष महाधिवेशनको प्रस्तावमा पौडेल समूहमै असन्तुष्टि, साझा धारणा बनाउन चाक्सीबारीमा बैठक

बिहीबार, २१ साउन २०७८, १३ : ०४
बिहीबार, २१ साउन २०७८

नेपाली काँग्रेसभित्र रामचन्द्र पौडेलले सहितका केही नेताले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि पौडेल समूहमै असन्तुष्टि देखिएको छ । अहिले विशेष महाधिवेशनको परिस्थिति नै नरहेको भन्दै पौडेल समूहका नेताहरुमै असन्तुष्टि देखिएको हो । 

आगामी भदौमा महाधिवेशनको तयारी भएपनि क्रियाशील सदस्यता विवाद टुंगो नलागेकाले महाधिवेशन हुने नहुने अन्योलताका बीच पौडेलले सार्वजनिक रुपमै विशेष महाधिवेशनको प्रस्ताव अघि सारेका छन् । उनको प्रस्तावलाई अर्का नेता अर्जुन नरसिंह केसीले पनि साथ दिँदै यसबारे बहस छेडेका छन् । 

संस्थापन इतर समूहका महामन्त्री शशांक कोइरालालगायत भने विशेष महाधिवेशन गर्ने परिस्थिति नआइसकेको बताउँछन् । यही विषयमा एकता कायम गर्न तथा आन्तरिक विषयमा साझा धारणा तय गर्न पौडेल समूहको बैठक बिहीबार बसेको छ । काँग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसिरहेको महामन्त्री कोइरालाले पुष्टि गरे । 

आजको बैठकमा विशेष महाधिवेशनको विषयलगायतका विषयमा छलफल हुने भन्दै उनले अहिले बाहिर चर्चामा आएजस्तो विशेष महाधिवेशन नै गर्नुपर्ने परिस्थिति बनिनसकेको उनको भनाइ छ । 

काँग्रेसका शीर्ष नेताहरुबीच बुधबार भएको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका २ दिन भित्र टुंगो लगाउने विषयमा छलफल भएको थियो । 

काँग्रेस नेता रमेश लेखकले महाधिवेशनको कार्यतालिका अहिले नै प्रभावित भइहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै शीर्ष तहमा यसको टुंगो २ दिन भित्र लगाउने गरी छलफल भईरहेको बताए ।  नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन भदौ १६–१९ गते काठमाडौंमा गर्ने तय गरिएको छ । तर, स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिएका बेला विशेष महाधिवेशनको चर्चा बाहिर ल्याइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप