बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीका कारण मेलम्चीका १८ परिवार विस्थापित

बुधबार, २० साउन २०७८, २० : ५९
बुधबार, २० साउन २०७८

यही साउन १६ गते आएको बाढीका कारण मेलम्ची नगरपालिका–६ का १८ घरपरिवार विस्थापित भएका छन् । 

यसअघि गत असार १ मा आएको बाढीका कारण सोही ठाउँका सात परिवार विस्थापित भएको  थियो । त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिए ।

मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन् । विस्थापित अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिए । विस्थापितलाई तत्काल बास तथा खाद्यान्न अभाव नहोस् भनेर आज नगर उपप्रमुख भगवती नेपालले खाद्यान्न तथा टेन्ट वडा नं ६ को कार्यालयमा पुर्याइएको जानकारी दिए ।

खोला नियन्त्रणमा थप जनशक्ति परिचालन
जोखिममा रहेका बस्ती तथा घर जोगाउनका लागि खोला नियन्त्रण गर्ने कार्यलाई मेलम्ची नगरपालिकाले निरन्तरता दिएको छ । यही साउन १६ गते आएको बाढीले घरमा क्षति गर्दै मेलम्ची बजारमा नै खोला पस्ने जोखिम बढेपछि नगरपालिकाले खोला नियन्त्रण गर्न थप जनशक्ति परिचालन गरेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा नगरपालिकाको उच्च जोखिममा रहेका गैरा बगर र तल्लो बजारको विभिन्न स्थानमा ग्याबिन वाल लगाउने काम भइरहेको अधिकृत धितालले जानकारी दिए । 
बाढी प्रभावितका लागि खान, बस्न र स्वास्थ्य उपचारको अभाव हुन नदिने समेत नगरपालिकाले दाबी गर्दै आएको छ । बाढी प्रभावितलाई रु २५ हजारदेखि १० हजार नगद सहयोग गर्नेसमेत नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप