बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कोभिड प्रभावित पुनर्कर्जाको नाममा १ खर्ब २२ अर्ब रुपैयाँ बढी वितरण

बुधबार, २० साउन २०७८, १७ : ३०
बुधबार, २० साउन २०७८

कोभिड प्रभावित उद्योग, व्यवसायी तथा सेवा क्षेत्रको पुनःस्थापनाको नाममा १ खर्ब २२ अर्ब माथिको रकम वितरण भएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को साउन देखि असार मसान्तसम्म यस्तो रकम विभिन्न बैंकहरू मार्फत गरी कुल १ खर्ब २२ अर्ब ९१ करोड लगानी भएको बैंकले जनाएको हो ।

उक्त पुनर्कर्जाबाट आर्थिक वर्षभित्र कुल ४८ हजार ८९० जना विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरु लाभान्वित भएको समेत बैंकले जनाएको छ ।  यस्तो रकमबाट लघु, घरेलु तथा साना उद्योगबाट मात्र आर्थिक वर्ष भित्र (प्रति व्यक्ति १५ लाखसम्मका दरले) ३५ लाख ५५४ ऋणीहरू लाभान्वित भएको बैंकको भनाई छ । २०७८ असारसम्ममा लघु घरेलु तथा साना उद्योगको क्षेत्रमा मात्र बैंकले २५ अर्ब रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको थियो । समग्रमा सबै क्षेत्रका भने बैंकमार्फत आर्थिक वर्षका लागि कुल १ खर्ब ४८ अर्ब ७५ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको थियो । 

यस्तै, जेठ मसान्तसम्म १ खर्ब ५० अर्ब ९६ करोड बराबरको सहुलियतपूर्ण कर्जा समेत लगानी गरेको बैंकले सोबाट समेत ९६ हजार ८५२ ऋणीहरू लाभान्वित भएको जनाएको छ । सो अवधिमा व्यवसाय निरन्तरता कर्जा कार्यक्रम अन्तर्गत ५९ करोड ७ लाख वितरण गरेको बैंकले कोभिड अति प्रभावित उद्योग व्यवसाय सुचारु गर्न सहजीकरण गर्ने उद्देश्यले थप गरिएको चालू पुँजीको अधिकतम २० प्रतिशत कर्जामा समेत जेठ मसान्तसम्ममा १४ अर्ब २४ करोड कर्जा प्रवाह गरेको र सोबाट १६ हजार १८२ ऋणीहरू लाभान्वित भएको बैंकले जनाएको छ । 

साथै आवधिक कर्जा मात्र उपभोग गरेका ऋणीहरुलाई सोही कर्जाको धितोमा अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सिक्ने व्यवस्थामा जेठ मसान्तसम्ममा थप ९ अर्ब ३६ करोड समेत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप