शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा गत वर्षभन्दा बढी रोपाइँ

बुधबार, २० साउन २०७८, १६ : १९
बुधबार, २० साउन २०७८

प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । गएको वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो । चौध जिल्ला रहेको यस प्रदेशमा कूल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धान खेती लगाउने गरिएको छ । यसमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिइन् ।

निर्देशनालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी जिल्ला ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, सङ्खुवासभामा १३ हजार १५८ हेक्टर र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जग्गामा रोपाइँ  भएको छ । 

त्यसैगरी मध्यपहाडी जिल्ला पाँचथरमा आठ हजार २८२ हेक्टर, इलाममा ११ हजार ८५२ हेक्टर, भोजपुरमा १६ हजार १०१ हेक्टर, तेह्रथुममा आठ हजार ९५४ हेक्टर, धनकुटामा छ हजार ३६० हेक्टर, उदयपुरमा १२ हजार ५७७ हेक्टर, ओखलढुङ्गामा चार हजार १८२ हेक्टर र खोटाङमा १२ हजार ३८२ हेक्टर जग्गामा रोपाइँ भएको छ । तराईका तीन जिल्ला सुनसरीमा ५३ हजार ९०० हेक्टर, मोरङमा ८१ हजार ६३४ हेक्टर र झापामा ८३ हजार १२५ हेक्टर जग्गामा रोपाइँ सकिएको बताइएको छ ।

यस प्रदेशका उच्च पहाडका तीन जिल्लामा २३ हजार २४५ हेक्टर, मध्य पहाडका आठ जिल्लामा ८० हजार ६९२ हेक्टर र तराईका तीन जिल्लामा दुई लाख १८ हजार ६५९ हेक्टर जग्गामा वर्षे धानबाली लगाइएको छ । यसरी तुलना गर्दा उच्च पहाडमा ९६ प्रतिशत, मध्य पहाडमा ८८ दशमलव ७६ प्रतिशत र तराईमा ९७ प्रतिशत रोपाइँ सकिएको प्रवक्ता श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप