शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुर पक्षमा बहस– नयाँ पार्टीमा एकजना अध्यक्ष रहने कि दुईजना ?

बुधबार, २० साउन २०७८, १६ : ००
बुधबार, २० साउन २०७८

उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता पाइसकेपछि महन्थ ठाकुर पक्ष तत्काल जसपा नेपालमै रहेर नयाँ पार्टी गठनको प्रकृयामा लागेको छ । नयाँ पार्टी गठन प्रक्रियामा खुलेर लाग्दा संघीय तथा प्रदेश सांसद एवं पालिकाका निर्वाचित पदाधिकारीको पद जाने डरले तत्काल नयाँ पार्टीमा गठनमा संलग्नता नदेखाए पनि सो पक्षले नयाँ पार्टी गठनको अभ्यास सुरु गरेको छ ।

नयाँ पार्टीमा एउटा अध्यक्ष राख्ने कि दुईवटा भन्नेबारे सो पक्षमा बहस भइरहेको स्रोत बताउँछ । स्रोतका अनुसार महन्थ ठाकुर पक्षका नेताहरु एकल अध्यक्ष प्रणालीमा पार्टी गठन गर्नुपर्नेमा जोड दिइरहेका छन् भने राजेन्द्र महतो पक्षका नेताले दुईजना अध्यक्ष रहनुपर्नेमा जोड दिइरहेका छन् ।

जसपामा विवाद चलिरहेकै बेला पनि महन्थ ठाकुर पक्षले नयाँ पार्टी बनाउन प्रयास थालेको थियो । त्यसको डकुमेन्ट तयार गर्ने जिम्मेवारी डा.सुरेन्द्रकुमार झा र केशव झालाई दिइएको थियो । केशव झाले दुई अध्यक्षीय प्रणालीको पार्टी हुनुपर्ने डकुमेन्ट तयार गरेका थिए भने डा.झाले एकल अध्यक्षीय प्रणालीको पार्टी हुनुपर्नेमा जोड दिएका थिए । जसपाको आधिकारिकता उपेन्द्र यादवले पाएपछि महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइलागेको छ ।

त्यसैले पार्टीमा कति अध्यक्ष रहने भन्नेबारे फेरि बहस सुरु भएको छ । तर महन्थ पक्षमा राजेन्द्र महतोको अवस्था कमजोर रहेका कारण दुई अध्यक्ष रहने प्रणालीमा जानेबारे उनले पर्याप्त दबाब दिन नसक्ने देखिन्छ । जसपा विवादका क्रममा महन्थ पक्षबाट उपेन्द्र पक्षमा गएका अधिकांश केन्द्रीय कार्यकारिणी समितिका सदस्य तथा सांसदहरु राजेन्द्र महतो पक्षकै हुन् । महतोसँग रहेका नेताहरु उपेन्द्र यादव पक्षमा लागेपछि उनी महन्थ पक्षमा एक्लिएका छन् । गुटमा एक्लिएकै कारण महन्थ ठाकुर पक्षका नेताहरुले समेत महतोलाई बेवास्ता गर्न थालेका छन् भने पार्टीको अध्यक्षमा उनलाई स्वीकार गर्न नसक्ने बताउँदै आएका छन् ।

तर, महन्थ पक्षका नेताहरु नयाँ दल गठन गर्ने विषयलाई उजागर गर्न चाहिरहेका छैनन् । तत्काल आफूहरु जसपामै रहेको भन्दै उनीहरु नयाँ दल गठन प्रक्रियासँग सम्बन्धित छलफल नै नभएको बताउँछन् । उल्लेखनीय छ, नयाँ दल गठनको प्रक्रियामा सामेल भएको अवस्थामा जसपा नेपालले उनीहरुमाथि कारवाही गर्न सक्छ । कारवाहीका क्रममा कतिपय सांसद र स्थानीय तहका जनप्रतिनिधिको पद खोसिने भएकाले पनि अहिले महन्थ पक्षका नेताहरु नयाँ दल गठनसम्बन्धी गतिविधिलाई सार्वजनिक रुपमा प्रकट गर्न चाहिरहेका छैनन् ।

जसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले आफूहरु जसपामै भएको कारण तत्काल नयाँ पार्टी खोल्ने तयारी नरहेको बताए । ‘पार्टी खोल्ने तयारी नै छैन भने दुईजना अध्यक्ष राख्ने कि एकजना अध्यक्ष राख्ने भन्नेबारे बहस पनि स्वाभाविक रुपमा भएको छैन,’ उनले भने । नयाँ पार्टी दर्ता गर्ने समयमा बहस भयो भने बेग्लै कुरा हो तर अहिले त्यस्तो केही बहस वा छलफल नभएको उनको भनाइ छ ।

जसपा नेपालका केन्द्रीय सदस्य सन्तोष मेहताले पनि आफूहरु जसपामै रहेको कारण नयाँ पार्टी खोल्ने कुनै सम्भावना नरहेको बताए । उनले भने, ‘हामी जसपामा छौं, जसपाको विधान अनुसार पार्टीमा काम गरिरहेका छौं, नयाँ पार्टी गठन भए पो एकजना अध्यक्ष राख्ने कि दुईजना अध्यक्ष राख्ने भन्ने कुरा हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप