शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चय कोषको सामाजिक सुरक्षा सुविधाबाट १४ सय लाभान्वित

बुधबार, २० साउन २०७८, १५ : ३६
बुधबार, २० साउन २०७८

धनगढी । कर्मचारी सञ्चय कोषबाट सुदुरपश्चिम क्षेत्रका १ हजार ४ सय ३६ जनाले सामाजिक सुरक्षा सुविधा लिएका छन् । धनगढीमा रहेको कोषको शाखा कार्यालयले आ.व. २०७७÷०७८ को अवधिमा सामाजिक सुरक्षा शीर्षकमा १ करोड ८० लाख प्रवाह गरेको हो ।

शाखा कार्यालयका अनुसार यस अवधिमा प्रसुती तथा शिशु स्याहार खर्च वापत १ हजार ३ सय ३५ जना सञ्चयकर्ताहरुलाई एक करोड १२ हजार ५ सय प्रवाह भएको छ । यस्तै दुर्घटना क्षतिपुर्ति बापत ८ जनालाई १६ लाख भुक्तानी गरिएको छ भने सेवा अवधिमा मृत्यु भएका ६९ जना सञ्चयकर्ताको परिवारलाई काजक्रिया अनुदान वापत २७ लाख ६० हजार प्रदान गरिएको संचयकोषले जनाएको छ ।

यस आर्थिक वर्षमा सेवा अवधिमा मृत्यु भएका निजामती तर्फका २४ जना सञ्चयकर्ताको हक वालालाई कल्याणकारी रकम वापत ३६ लाख समेत प्रदान गरेको छ ।

शाखा कार्यालय धनगढीका कार्यालय प्रमुख राजेन्द्र विक्रम केसीका अनुसार यस अवधिमा २ हजार १ सय ७४ जना अवकाश प्राप्त सञ्चयकर्ताहरुलाई ३८ करोड ९५ लाख रुपैयाँ समेत भुक्तानी गरिएको छ ।

कार्यालय प्रमुख केसीले बार्षिक बचतबाट कोषले सञ्चयकर्ताहरुलाई लागि बिभिन्न सामाजिक सुरक्षा सुविधाहरु प्रदान गर्नुका साथै आर्थिक आवश्यकता पूरा गर्न सापटीहरु प्रदान गरिरहेको जानकारी दिए । उनका अनुसार सामाजिक सुरक्षाका कार्यक्रम अन्तर्गत काजकिरियाका अनुदान खर्च, दुर्घटना क्षतिपूर्ति योजना, सुत्केरी तथा शिशु हेरचाह लगायतका शीर्षकमा खर्च प्रदान भइरहेको छ ।

कोषले सञ्चयकर्ताको स्वास्थ्योपचार शीर्षकमा साधारण रोगको उपचारको लागि प्रत्येक आर्थिक वर्षमा १ लाखसम्म र घातक रोगको उपचार गर्न सेवा अवधिमा अधिकतम १० लाखसम्म सोधभर्ना प्रदान गरिरहेको छ । साथै, अछाम र सुर्खेतको सिमानामा निर्माणाधिन ४४२ मेगावाटको बेतन कर्णाली हाइड्रोपावर परियोजनामा सञ्चयकर्ताको नाममा सेयर लगानी गरेको छ ।

कोषद्वारा सुदूरपश्चिमका सञ्चयकर्तालाई लक्षित गरी धनगढी शाखामार्फत वि.सं. २०६१ देखि सेवा प्रवाह भइरहेको छ । यस क्षेत्रका करिब १ लाख सञ्चयकर्ता कोषको सेवाबाट लाभान्वित हुनसक्ने बताइन्छ । मुलुकको सबैभन्दा ठूलो वित्तीय एवम् सामाजिक सुरक्षा संस्थाको हैसियतमा कोषले करिब ४ खर्ब भन्दा बढीको स्रोत परिचालन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप