बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आधिकारिकता गुमाए पनि जसपाकै नामबाट महन्थ ठाकुरको कार्यक्रम

बुधबार, २० साउन २०७८, १५ : २९
बुधबार, २० साउन २०७८

 निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता गुमाए पनि महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (जसपा)कै नामबाट प्रदेश तथा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाको घोषणा गरेको छ ।

साउन २२ गतेदेखि तराई मधेसका मुख्य जिल्लाहरुमा र भदौ ९ गतेदेखि सातवटै प्रदेशमा कार्यक्रमसहित जसपाकै हैसियतामा महन्थ ठाकुर पक्षका नेताहरु जान थालेका हुन् । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपा नेपालको आधिकारिता दिँदै महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गराउन आदेश दिएको छ । तर महन्थ पक्षले आफूहरु जसपामै रहेको दावी गर्दै जिल्ला र प्रदेशस्तरमा कार्यक्रम घोषणा गरेको हो ।

जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य जितेन्द्र सोनलले भने, ‘हामी जसपामा छौं, त्यही भएर जसपाको कार्यक्रम लिएर प्रदेश तथा जिल्लामा जाँदैछौं ।’ निर्वाचन आयोगले पार्टीको पुरानो कार्यकारिणी समितिलाई नै मान्यता दिएको भन्दै उनले पार्टी नै उपेन्द्र यादवको हो भनेर कतै उल्लेख नभएको बताए । उनले भने, ‘अर्को कुरा, जसपाको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ, त्यसको फैसला नआएसम्म हामी जसपामै छौं ।’

जसपामा अझै आफूहरुको पनि नाम रहेको र आफूहरु जसपा निर्माणकै लागि कार्यक्रमहरु लिएर जान थालेको उनले बताए ।

तर कार्यकारिणी समितिका अर्का सदस्य रामसहाय यादवले निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको र त्यो पार्टीले जिल्लाहरुका लागि कुनै पनि कार्यक्रम तय नगरेको बताए । यदि कसैले त्यस्तो कुनै कार्यक्रम गरेको छ भने त्यो मान्य नहुने उनको भनाइ छ ।

जसपाको नामबाट कसलै कार्यक्रम गरिरहेको छ भने पार्टीलाई त्यस्तो कुनै जानकारी नभएको भन्दै उनले पार्टीमा ३५ सदस्यीय कार्यकारिणी समिति रहेको र बाँकी १६ जना कार्यकारिणी सदस्य पार्टीमा नरहेको निर्वाचन आयोगबाटै पुष्टि भएको बताए ।

कार्यकारिणी सदस्य इस्तियाक राईले पनि निर्वाचन आयोगले पार्टीको आधिकारिता दिइसकेपछि त्यसखालको कुनै कार्यक्रम तय नगरेको बताए । उनले भने, ‘कुनै पनि कार्यक्रम पार्टीले तय गर्ने हो, कुनै व्यक्तिले तय गरेर हुँदैन ।’

यदि कुनै व्यक्तिले कार्यक्रम तय गरेको छ भने पार्टीले कारवाही गर्ने उनले बताए ।

यस्तो छ ठाकुर पक्षको जिल्लास्तरीय कार्यक्रमको जिम्मेवारी

महोत्तरी– महन्थ ठाकुर, शरतसिंह भण्डारी

धनुषा– महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी

सप्तरी– राजेन्द्र महतो, वृषेशचन्द्र लाल

सिरहा– अनिलकुमार झा, उमाशंकर अरगरिया

पर्सा– शरदसिंह भण्डारी, जितेन्द्र सोनल

बारा– लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल

रौतहट– विमल श्रीवास्तव, एकवाल मियाँ

सर्लाही– राजेन्द्र महतो, जितेन्द्र सोनल

नवलपरासी– सर्वेन्द्रनाथ शुक्ला, मुकेश झा

रुपन्देही– उमशंकर अरगरिया, दानबहादुर विश्वकर्मा

कपिलवस्तु– उमाकान्त झा, दानबहादुर विश्वकर्मा

दाङ– दानबहादुर विश्वकर्मा

बाँके– एकवाल अहमद

बर्दिया– सुनिल रोहित

कैलाली र कञ्चनपुर– राजकुमार लेखी, चन्द्रकान्त चौधरी

झापा– केशव झा, सन्तोष मेहता

मोरङ– चन्दा चौधरी, सुरेश मण्डल

सुनसरी– डा.सुरेन्द्र झा, अरविन्द साह

सप्तरी, सिरहा, महोत्तरी, बारा, दाङमा साउन २२ गते, झापा, मोरङ, धनुषा, पर्सा, कैलालीमा साउन २३ गते, सुनसरी, सर्लाही, रौतहट, रुपन्देही, कपिलवस्तु, कञ्चनपुरमा साउन २४ गते, नवलपरासी, बर्दियामा साउन २५ गते र बाँकेमा साउन २६ गते कार्यक्रम राखिएको बताइएको छ ।

त्यस्तै प्रदेश अन्तर्गत सुदूरपश्चिमको अत्तरियामा साउन २७ गते, बागमतीको प्रदेशको काठमाडौंमा साउन ३० गते, प्रदेश १ को इटहरीमा भदौ ३ गते, गण्डकी प्रदेशको पोखरामा भदौ ५ गते, लुम्बिनी प्रदेशको बुटवलमा भदौ ७ गते र कर्णाली प्रदेशको सुर्खेतमा भदौ ९ गते कार्यक्रम राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप