अनलाइन कक्षा शिक्षण प्रविधिको प्रभावकारिता
शंकरप्रसाद भट्टराई
चीनको ऊहानबाट सुरु भएको कोरोना महामारीको सङ्क्रमण नेपालमा पहिलो पटक २०७६ माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । कोरोना भाइरस सङ्क्रमणबाट आम नागरिकलाई बचाउन सरकारले सोही वर्षको चैत ११ देखि देशभरि अत्यावश्यक सेवाबाहेक अन्य काममा हिँडडुल र सवारी साधन प्रयोगमा रोक लगाउँदै लकडाउन ग¥यो ।
अझै विश्वका विभिन्न मुलुक लगायत हाम्रो देशले पनि महामारीको समस्या झेलिरहेको छ । यसबाट हरेक क्षेत्र प्रभावित भएको छ । विभिन्न क्षेत्रमध्ये राष्ट्र विकासका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने मेरुदण्डका रूपमा रहेको शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित बनेको छ । शिक्षा क्षेत्रको उपलब्धि त लगभग शून्यजस्तै भएको छ ।
कोरोना भाइरसको महामारीले गर्दा उच्च शिक्षामा लाखौँ र विद्यालय तहमा कक्षा–१ देखि कक्षा–९ सम्म करिब ८० लाख विद्यार्थी विद्यालय जानबाट वञ्चित भएको अवस्था छ । हरेक वर्ष केही न केही नयाँ कुरा सिक्ने, बुझ्ने र जान्ने क्षमता राख्ने विद्यार्थीको यति ठूलो सङ्ख्या घरमै थन्किनु पक्कै पनि राष्ट्रका लागि राम्रो कुरा होइन । कारोना महामारीका कारण विद्यालयका सम्पूर्ण शैक्षिक गतिविधि प्रभावित हुँदा राज्यको लगानी बालुवामा पानी खन्याएसरह भएको छ । आजसम्म पनि विद्यालयहरू सहज ढङ्गले खुल्ने अवस्था छैन ।
देशमा सङ्घीय, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकार हुँदा पनि कोरोना महामारीको प्रभावले थला परेको शिक्षा क्षेत्रलाई यसको उचित व्यवस्थापन गरी विद्यालय सञ्चालनमा ल्याउने वातावरण बन्न सकिरहेको छैन । केही स्थानीय तहका सरकारले आफ्नो अनुकूलता हेरी विभिन्न तरिकाले विद्यार्थी, शिक्षक र अभिभावकसँगको सम्पर्क स्थापित गरेर थोरै भए पनि शिक्षा क्षेत्रलाई माथि उठाउने जमर्को गरेका छन् । तर यो प्रयाप्त भने होइन । यो अवस्थामा विषयवस्तुबाट विद्यार्थी शिक्षक बीचको सम्बन्ध कायम रहोस् भनेर शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विभिन्न किसिमका अनलाइनमार्फत हेर्न, पढ्न, सुन्न र जान्नका लागि विभिन्न वेबसाइटहरू सिफारिस गर्नुका साथै रेडियो शिक्षा कार्यक्रमहरू पनि सञ्चालनमा ल्याएको छ । तर यो सबैको पहुँचमा रहेको अवस्था छैन ।
अहिले आएर देशका केही विश्वविद्यालय, सामुदायिक विद्यालय र निजी शिक्षा प्रदायक संस्थाहरूले अनलाइन विधिबाट आफ्ना शैक्षिक गतिविधि अगाडि बढाइरहेका छन् । खासमा यो अनलाइन कक्षा शिक्षण कार्यक्रम वास्तवमा कस्तो कार्यक्रम हो त ?
भाइरस सङ्क्रमणको जोखिमबाट बच्न र सिकाइ कार्यलाई निरन्तरता प्रदान गर्न विद्यार्थीहरूलाई आ आफ्नो घरमा नै बसेर इन्टरनेटको प्रयोग गरी जुम, माइक्रोसफ्ट टिम, फेसबुक लाइभ र म्यासेन्जर ग्रुपका माध्यमबाट शिक्षण गर्ने विधिलाई अनलाइन कक्षा शिक्षण भनिन्छ । हाम्रो जस्तो देशमा सबै ठाउँमा इन्टरनेटको पहुँच र सुविधा छैन । शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार देशका १३ प्रतिशत विद्यालयमा इन्टरनेटको पहुँच छ भने अन्य विद्यालय यो सुविधा लिनबाट वञ्चित रहेको तथ्यले देखाउँछ । अन्तर्राष्ट्रिय संस्था सेयर कास्टको अध्ययनमा नेपालको कुल जनसङ्ख्याको ४५ प्रतिशत जनसङ्ख्या मात्र इन्टरनेटको पहुँचमा छन् । यो तथ्याङ्कले पनि अनलाइन शिक्षाले देशमा रहेका सबै विद्यार्थीहरूलाई समेट्न सक्ने देखिँदैन । केही पनि नहुनभन्दा यो पनि एउटा विकल्प बन्न सकेको छ । बाँकी विद्यार्थीहरूको पहुँचमा रेडियोमार्फत शिक्षण गर्नुपर्ने देखिन्छ । रेडियो लगभग सबै नागरिकको हातमा हुने भएकाले रेडियोमार्फत शिक्षण गर्न पनि सकिन्छ । रेडियो शिक्षाले लगभग सबै विद्यार्थीहरूलाई समेट्न सक्छ ।
जेहोस् केही स्थानीय तहका सरकारहरूले अनलाइनका माध्यमबाट, रेडियोबाट, मोबाइल आदिका माध्यमबाट शिक्षण गतिविधिलाई अगाडि बढाउने कोसिस गरिरहेका छन् । यो उनीहरूले कोरोना महामारीबाट थला परेको शिक्षा क्षेत्रलाई सञ्जीवनी बुटी प्रदान गरे सरह मान्नुपर्छ । अलि बढी आयस्रोत भएका स्थानीय तहका सरकारले अनलाइन कक्षा सञ्चालनका लागि विद्यार्थीहरूको घरमा इन्टरनेट जडान गरिदिने, कुनै स्थानीय तहले एक शिक्षक एक ल्यापटप प्रदान गर्ने, कुनैले सिमकार्ड खरिद गरिदिने, कुनैले रेडियो बाँड्ने गरेर विद्यार्थी, शिक्षक र अभिभावकलाई शैक्षिक प्रक्रियासँग जोड्न सक्षम भएका छन् । यसलाई सकारात्मक कार्यको थालनीका रूपमा लिनुपर्छ ।
अनलाइन विधिबाट शिक्षणभन्दा जति सहज छ वास्तविक रूपले व्यावहारमा उतार्नु उति नै चुनौतीपूर्ण छ । तसर्थ अब अनलाइन कक्षा सञ्चालनका सबल र दुर्बल पक्षहरूका बारेमा चर्चा गरौँ ।
अनलाइन कक्षा शिक्षणका सबल पक्ष
- इनटरनेट, ल्यापटप, मोबाइलको व्यापारमा वृद्धि हुने,
- शिक्षक र विद्यार्थीमा प्रविधिको पहँुच बढ्ने,
- शिक्षक पूर्ण तयारीका साथ शिक्षण सिकाइमा सहभागी हुनुपर्ने,
- शिक्षकको शिक्षण कलाको मूल्याङ्कन हुने,
- विद्यालय सञ्चालन नभए पनि घरमै बसेर शैक्षिक गतिविधि सञ्चालन गर्न सकिने,
- कोरोनाको सम्भावित सङ्क्रमाणबाट बच्न सकिने,
- घरको शान्त वातावरणमा बसेर विद्यार्थीहरूले आफूभन्दा जान्ने आमाबुवा, दाजु, दिदीसँग सोधेर पढ्न सकिने,
- विद्यार्थीहरूलाई हतार हतार गरी अति नै गह्रौँ झोला बोकेर विद्यालय दौडन नपर्ने,
- विद्यार्थीको यातायात खर्च र नास्ता खर्च बचत हुने,
- प्रशस्त समय हुने भएकाले विद्यार्थीलाई गृहकार्य, कक्षाकार्य तथा स्वअध्ययन गर्न सहज हुने,
- विद्यार्थीहरूको सिर्जनात्मक कलामा वृद्धि हुने,
- शिक्षक÷शिक्षिकाहरू गृहकार्य तथा कक्षाकार्य परीक्षणबाट लगभग मुक्त हुने,
- विद्यालय संस्थाको हकमा विद्युत्, खानेपानी, यातायात खर्च तथा अन्य मसलन्द खर्चमा बचत हुने आदि ।
अनलाइन कक्षा शिक्षणका दुर्बल पक्ष
- सबै जनताको आर्थिक र भौगोलिक स्तर फरक भएकाले शिक्षक र विद्यार्थीहरूमा विभेद देखिने,
- बालबालिकामा मानसिक तनाव हुने,
- लामो समयसम्म मोबाइल, ल्यापटप र टिभीको अगाडि बसिरहँदा आँखाको हेर्ने शक्तिमा कमजोरी हुने,
- एककोहोरो शिक्षण सिकाइले गर्दा विषयवस्तुको बुझाइमा समस्या आउने,
- विद्यार्थीहरूमा आत्म गलानी हुनु,
- अभिभाभवकहरूको खर्चमा वृद्धि हुने,
- सबैजना इन्टरनेटको पहुँचमा नहुनु,
- अनलाइन कक्षाको दुरुपयोग हुन सक्ने,
- शिक्षक विद्यार्थी बीचको सम्बन्धमा कमी हुने,
- इन्टरनेटको गति घटबढ हुँदा र विद्युत् सप्लाई अवरुद्ध हुँदा विद्यार्थी शिक्षक दुवैलाई तनाव हुने,
- विद्यार्थीलाई घरमा एक्लै हुँदा अल्छी महसुस गर्ने,
- सबै विद्यार्थीसँग मोबाइल तथा कम्प्युटर नहुने,
- विकट पहाडी जिल्लमा असम्भव आदि ।
देशमा रहेका सबै शैक्षिक संस्थाहरूले अनलाइन कक्षा शिक्षणलाई प्रभावकारी बनाएर लैजानु अबको समयमा अपरिहार्य नै भइसकेको छ । कोरोना महामारीले हामीलाई प्रत्यक्ष शिक्षण सिकाइको विकल्पमा अन्य वैकल्पिक माध्यमबाट शिक्षण कार्य अगाडि बढाउनुपर्छ भन्ने शिक्षा प्रदान गरेको छ । त्यसैका आधारमा हामी अहिले अनलाइन विधिबाट कक्षा सञ्चालन गरिरहेका छौँ । यो अनलाइन कक्षा शिक्षणको विश्वासनीयता वृद्धि गर्न र थप प्रभावकारिता बढाउन हामीले निम्न पक्षमा ध्यान दिनुपर्ने देखिन्छ :
१. प्रविधिको प्रयाप्त ज्ञान
अनलाइन कक्षा सञ्चालनको मेरुदण्ड प्राविधिक ज्ञान हो । यसको गहिरो ज्ञान भएन भने शिक्षण सिकाइ अवरुद्ध हुन्छ । तसर्थ शिक्षक र विद्यार्थी दुवै पक्षले प्राविधिक ज्ञान धेरैभन्दा धेरै लिनुपर्छ । यसका लागि शिक्षक अझ बढी चुस्त दुरुस्त हुनु पर्छ ।
२. समयको पालना
शिक्षक तथा विद्यार्थीहरू तोकिएको समयमा उपस्थिति जनाउनुपर्छ । कुनै अवरोध भए शिक्षक विद्यार्थी दुवै पक्ष जानकार हुनुपर्छ । समयको उचित पालना भएन भने शिक्षण सिकाइ कार्य उपलब्धिपूर्ण हँुदैन ।
३. विषयवस्तुमा दक्षता
कुनै पनि विषयमा शिक्षकले आफै अध्ययन गर्नु र विद्यार्थीहरूलाई पढाउनुमा जमिन र आकाशको फरक हुन्छ । तसर्थ बिना तयारी हल्का रूपले शिक्षक कक्षामा प्रस्तुत हुने हो भने त्यसले शिक्षक स्वयंलाई घात पु¥याउँछ । अनलाइन कक्षा सञ्चालन भइरहेको समयमा त्यहाँ केवल विद्यार्थीको मात्र उपस्थिति नभएर हामी शिक्षकभन्दा विज्ञ व्यक्तिको उपस्थिति भएको हुनसक्छ । त्यस्ता व्यक्तिहरूबाट हामीहरूको शिक्षण शैलीको मूल्याङ्कन भइरहेको हुनसक्छ । तसर्थ हचुवा किसिमले आफूले आफूलाई सर्वेसर्वा ठानेर प्रस्तुत हुनुहुँदैन । पूर्ण तयारीका साथ आफ्नो शिक्षण कार्यलाई अगाडि बढाउनुपर्छ ।
४. भाषागत स्पष्टता
शिक्षण गतिविधिमा भाषाको स्पष्टता पनि प्रमुख तत्त्व हो । विद्यार्थी भाषामा नबुझेर रुमलियो भने उसले केही बुझ्न सक्दैन । शिक्षणको माध्यम नेपाली हो भने नेपालीमै स्पष्ट तरिकाले पढाउनुपर्छ । अङ्ग्रेजी हो भने अङ्ग्रेजी भाषामा नै शिक्षण गर्नुपर्छ । भन्दा अङ्गे्रजी माध्यम भन्ने शिक्षण गर्दा एक शब्द पनि अङ्ग्रेजी उच्चारण नगर्ने हो भने हाम्रो हैसियतमाथि प्रश्न खडा हुन्छ । हामीले गरेको यो भाषागत अपराधले विद्यार्थीको भविष्य अन्योलग्रस्त बन्छ । संस्थाप्रतिको विश्वासनीयता पनि ओरालो लाग्छ । तसर्थ यसमा सबै चनाखो बन्नुपर्छ ।
५. विद्यार्थीप्रति शिष्ट भाषाको प्रयोग
शिक्षण गर्दा विद्यार्थीहरूलाई अशिष्ट शब्दहरूको प्रयोग गरेर हप्काउने तथा अनुशासनमा राख्ने प्रवृत्ति राम्रो मानिदैन । तसर्थ उनीहरूलाई मायाभाव दर्साउने तिमी, तपाईं जस्ता शब्दहरूको प्रयोग गर्नु उचित हुन्छ । यसो गर्दा शिक्षक सानो भइँदैन । विद्यार्थीको हामीप्रति मायाभाव वृद्धि हुन गई शिक्षण सिकाइमा प्रगति हुन्छ । यसले हाम्रो सच्चा पहिचान दिन्छ । म नै ठूलो हुँ, सर्वेसर्वा हुँ भन्ने विचार राखेर अगाडि बढ्दा दुर्घटना हुनसक्छ ।
६. शैक्षिक सामग्रीहरूको प्रयोग
शिक्षकले शिक्षण गर्दा सकेसम्म र जानेसम्म शैक्षिक सामग्री प्रयोग गर्नुपर्छ । स्क्रिन सेयरबाट सम्भव हुने चार्टहरू, ससाना भिडियो, चित्र, स्लाइडहरू प्रस्तुत गरेर शिक्षण गर्नुपर्छ । यसरी शिक्षण गर्दा शिक्षण सिकाइ क्रियाकलाप उपलब्धिमूलक हुन्छ । जसले गर्दा विद्यार्थी र स्वयं शिक्षकलाई आत्मसन्तुष्टि मिल्छ ।
७. विद्यार्थी केन्द्रित शिक्षणको आवश्यकता
पुस्तक खोलेर शिक्षकले एकोहोरो पाठ पढ्ने अनि सकियो भन्ने गर्नु हुँदैन । यसो गर्दा विद्यार्थीहरूले विषयवस्तु बुझ्न सक्दैनन् । उनीहरूमा सिक्ने जाँगर हराउँछ । विद्यार्थीहरू अल्छी बन्छन् । तसर्थ शिक्षण गर्दा विद्यार्थीहरूलाई बढी सक्रिय बनाएर छलफल गर्नुपर्छ । शिक्षक आफू सहयोगीको भूमिकामा रहनुपर्छ । यसो गरियो भने विद्यार्थीहरू सक्रिय भई उनीहरूमा सिक्ने इच्छाशक्तिमा वृद्धि हुन्छ । विद्यार्थी विषयवस्तुमा राम्रो भयो भने त्यसको श्रेय हामी शिक्षकहरूलाई नै जान्छ ।
८. अनुगमन तथा मूल्याङ्कन
सम्पूर्ण शिक्षण क्रियाकलापको अन्तिम तथा प्रमुख पाटो भनेको प्रभावकारी अनुगमन तथा मूल्याङ्कन हो । यसले सम्पूर्ण प्रक्रियाको वास्तविकता परीक्षण गर्छ । तसर्थ विद्यालय प्रशासनले अनलाइन कक्षाको प्रभावकारिताका सम्बन्धमा समय समयमा सरोकारवाला निकायहरूसँग भेटघाट गर्ने, सल्लाह सुझाव लिने र छलफल गर्ने गर्नुपर्छ । विद्यार्थी, शिक्षक र अभिभावकलाई परेका समस्याको बारेमा विद्यालय प्रशासन जानकर हुनु जरुरी हुन्छ । समय समयमा अनुगमन तथा मूल्याङ्कन गर्दा समस्याको पहिचान हुन्छ । आवश्यकताको पहिचान हुन्छ । त्यस्ता समस्याको समाधानका लागि शिक्षकहरूलाई पृष्ठपोषण प्रदान गर्न सकिन्छ । अभभिावकका समस्या पनि पहिचान गर्न सकिन्छ । उनीहरूलाई समस्या समाधानमा सहयोग गर्न सकिन्छ । यसो गर्दा शिक्षण सिकाइ क्रियाकलाप उद्देश्यमूलक हुन्छ । शैक्षिक प्रक्रियमा देखिएका समस्या र आवश्यकता पहिचान भएपछि त्यसको समाधान र आवश्यकता परिपूर्तिका लागि चाहिने सामग्री विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति मिलेर सहकार्य गर्दै अगाडि बढ्नुपर्छ ।
अन्त्यमा, उल्लेखित पक्षमा ध्यान दिएर सम्पूर्ण शिक्षासँग सरोकार राख्ने निकायहरू अगाडि बढेको खण्डमा कोरोना महामारीको समयमा मात्र नभई अन्य समयमा पनि अनलाइन विधिबाट गरिने शिक्षण प्रभावकारी बन्न सक्छ । अनलाइन शिक्षण विधिलाई समय सापेक्ष प्रयोग गर्दै अगाडि बढ्दा कुनै पनि सङ्कट आउँदा शैक्षिक क्रियाकलाप बन्द गर्नु पर्दैन । शैक्षिक गतिविधिले निरन्तरता पाउँछ । विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध पनि कायम रहन्छ । राज्यले शिक्षा क्षेत्रमा गरेको लगानीको पनि सदुपयोग हुन गई उच्च गुणस्तरीय जनशक्ति उत्पादन हुन्छ ।