शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढी पहिरोले सडकमा ८० करोडको क्षति

बुधबार, २० साउन २०७८, ११ : ००
बुधबार, २० साउन २०७८

सञ्चिता घिमिरे
काठमाडौँ । वर्षाका कारण आएको बाढीपहिरोले यो वर्ष सडकमा झण्डै रु ८० करोडको क्षति भएको छ । हालसम्म १५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक विभागले जानकारी दिएको छ । अहिलेसम्म सडकमा कति रकमको क्षति भएको भन्ने अनुमान गरिए पनि पुलमा गर्न नसकिएको विभागका सम्भार महाशाखाका प्रमुख (उपमहानिर्देशक) भीमार्जुन अधिकारीले बताए ।

उनका अनुसार खोलाको सतह माथिसम्म भइरहेकाले पुलमा अहिले नै क्षति देखिएको छैन । उनले भने, “वर्षा कम भएपछि मात्रै त्यसको क्षति यकिन हुनेछ ।” क्षतिग्रस्तमध्ये हाल १० सडकबाहेक अरू आंशिक वा पूर्णरूपमा सञ्चालनमा आइसकेको छन् ।  हालसम्म १५८ सडक अवरुद्ध भएकामा ५२ सडक पूर्णरूपमा चालु भइसकेको र ९६ सडक एकातर्फबाट मात्रै सञ्चालनमा रहेको विभागले जनाएको छ । 

यस वर्ष क्षति पुगेका २५ पुलमध्ये आठ निर्माण सम्पन्न भइसकेका पुल हुन् भने आठ निर्माणाधीन पुल छन् । सात पुलमा क्षति नभए पनि पहुँच सडक क्षतिग्रस्त हुँदा पुल प्रयोगमा आउन नसकेको महाशाखामा कार्यरत इन्जिनियर केशव ओझाले बताए । तीन कल्भर्ट र दुई काठको पुलमा क्षति पुगेको छ । उनले भने, “डुम्रेबाट माथि चामे जाँदा बाटोमा साना साना छहरामा रहेका काठको पुल पनि क्षतिग्रस्त भएको छ ।” 

क्षतिग्रस्त बनेका पुलमा निर्माणाधीन भए त्यसको मर्मतको जिम्मेवारी व्यवसायीको हुने र निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका पुलको मर्मतको जिम्मेवारी विभागको हुने इन्जिनियर ओझाले बताए । विभागले सङ्घीय, प्रदेश र स्थानीय गरी सबै किसिमका सडकमा आवश्यकतानुसार बेली ब्रिज उपलब्ध गराउँदै आएको छ ।

आपत्कालीन प्रयोगका लागि पूर्णरूपमा यातायात नै ठप्प भएका ठाउँमा बेली ब्रिज राखिने गरिएको उनले बताए । चालु आवमा कुनै पनि ठाउँमा बेली ब्रिज राखिसकिएको छैन । विभागले मेलम्ची–हेलम्बु सडक र बेँसीसहर–चामे सडकमा बेली ब्रिज राख्ने योजना बनाएको छ । उनले भने, “बेली ब्रिज राख्न खोलाको सतह कम भएर सडक पनि अवरुद्ध भइहाल्ने अवस्था नहुँदा सजिलो हुन्छ ।”

यस वर्ष वर्षाका कारण सबैभन्दा बढी असर बेँसीसहर–चामे सडक र अरनिको राजमार्गमा देखिएको उपमहानिर्देशक अधिकारीले बताए । बेंसीसहर–चामे सडकमा अहिले विभागले लमजुङ तर्फबाट सडक खुलाइरहेको छ । मनाङतर्फ भने चट्टान रहेकाले नेपाली सेनाले नै खुलाउनुपर्ने उनले बताए । सो क्षेत्रमा चट्टान फुटाउनका लागि विस्फोटन गर्नुपर्छ । उनले भने, “सो क्षेत्रमा सेनाको सहयोगमा सडक खुलाउने गरी कुरा भएको छ ।” 

असार महिनामा वर्षाका कारण पहिराले अरनिको राजमार्गको ठाउँठाउँमा सडक अवरुद्ध बनेको थियो । अहिले पहिरो पन्छाएर कतै एकातर्फबाट त कतै दुवैतर्फबाट सडक सञ्चालन भइरहेको उपमहानिर्देशक अधिकारीले बताए । सो राजमार्गमा खासगरी दुई ठाउँमा क्षति पुगेकामा एक ठाउँमा निर्माण भइसकेको छ भने एउटामा निर्माण भइरहेको छ । एक ठाउँमा वर्षाले पुल नै कटान गरेको थियो । उनले भने, “ठूलो क्षति भएको ठाउँमा ढलान नै गरेर पर्खाल उठाउनुपर्ने भएको छ ।” 

बाढी र पहिरोका कारण सडक ठाउँठाउँमा क्षतिग्रस्त बने पनि खुलाइँदै आएको छ । सडक नै भासिएको वा पुल नै बगाएको ठाउँमा मात्रै सडक चालु गर्न लामो समय लाग्ने देखिएको छ । उनले भने, “पुल बगाएको ठाउँमा पानीको तह नघटी केही गर्न सकिँदैन ।” 

चालु आवमा चाँडो वर्षा सुरु भएकाले अन्तिम काम भइरहेका धेरै पुल सम्पन्न हुन नसकेको उपमहानिर्देशक अधिकारीले बताए । निर्माणाधीन कतिपय पुलमा निर्माण व्यवसायीले ढलान गर्नका लागि टेको लगाएकामा क्षतिग्रस्त भएका छन् । बर्सेनि असार १५–२० पछि मात्रै वर्षा सुरु हुने गरेको भए पनि यो वर्ष जेठमा नै वर्षा सुरु भएको थियो । कतिपय पुल वर्षा पहिले ढलान गरिसक्ने गरी निर्माणको काम अघि बढाइएको थियो । वर्षाका कारण पुल सम्पन्न हुन नसकेको र पुलको टेको बगाएको उनले बताए ।

बेँसीसहर–चामे सडकमा सडक नै भासिने र पुल नै बगाउने गरी भएको क्षतिले गर्दा मनाङ जिल्ला सडक सम्पर्कबाट टाढा बनेको विभागले जनाएको छ । सो सडकमा खासगरी मनाङको तिमाङ छहरा, तिमाङ खोला, धारापानी, बगरछाप, रामबजार, अर्खलेमा बाढीले बढी असर पुर्याएको छ । अरनिको राजमार्गको लिपिङ पुलमा क्षतिग्रस्त भएको छ । 

गल्छी–त्रिशुली–मैलुङ्ग–स्याफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत त्रिशूली खोला, सानो भार्खु खोला र गाँजाबारीमा गत असार १ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । सोही सडक अन्तर्गत आइतबार मैथली खोलामा पनि अवरुद्ध बनेको छ । बझाङमा खोड्पे–चैनपुर सडक झौलेकमा अवरुद्ध भएकामा खुल्न सकेको छैन । 

बर्सेनि वर्षाका कारण सडकमा क्षति पुग्ने गरे पनि यो वर्ष वर्षा भारी भइरहँदा धेरै सडकमा क्षति पुगेको विभागले जनाएको छ । अवरुद्ध सडक खुलाउनका लागि विभागले जेठदेखि नै ठाउँठाउँमा उपकरण तयारी अवस्थामा राख्ने गरेको छ । डिभिजन सडक कार्यालय र हेभी इक्युपमेण्ट कार्यालयले तयारी अवस्थामा रहेका उपकरणबाट नै सडक खुलाउने गर्छन् । बढी क्षति भएका र भएका उपकरण उपलब्ध नहुँदा अरू कार्यालयसँगको समन्वयमा सडक खुलाउने गरिएको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप