शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडीले माओको प्रचार गरेपछि ओलम्पिक कमिटीले थाल्यो छानविन

बुधबार, २० साउन २०७८, १० : २१
बुधबार, २० साउन २०७८

चिनियाँ नेता माओत्सेतुङको चित्र अंकित ब्याजेज लगाउने चीनका दुई साइकिलिस्टमाथि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले छानविन गर्ने भएको छ । बाओ सन्जु र झोङ टियान्सीको जोडीले महिलाको स्प्रिन्टमा सोमबार पदक जितेका थिए । 

 पदक वितरण समारोहमा यी खेलाडीले झुन्ड्याएको ब्याजमा माओको तस्विर देखिएको थियो ।  यस घटनाबारे चिनियाँ ओलम्पिक कमिटीलाई आईओसीले सम्पर्क गरिसकेको आईओसीका प्रवक्ताले बताए । ओलम्पिक खेल राजनीतिकबाट अलग भएकाले यस्ता गतिविधि गर्न छुट छैन । ओलम्पिक  चार्टरको धारा ५० मा लेखिएको छ,‘कुनै पनि राजनीतिक, धार्मिक, नस्लिय प्रदर्शन वा प्रोपोगान्डलाई ओलम्पिक खेलस्थल वा अन्य क्षेत्रमा अनुमति दिइने छैन ।’

गत महिना नियमलाई खुकुलो पार्दै खेलाडीहरुलाई खेलअघि र पछि आफ्ना विचार राख्ने अनुमति दिइएको थियो । जसअनुसार खेलाडीहरुलाई घुँडा टेकेर रंगभेदको विपक्षमा खडा हुन अनुमति मिलेको छ । तर, प्रतियोगिता र पदक समारोहमा कुनै वक्तव्यबाजी  गर्न वा यस्ता संकेत गर्न पाइदैन । 

चिनियाँ सर्वोच्च नेता माओको चित्र अंकित यस्ता धेरै ब्याजेज १९६० को दशकमा उत्पादन गरिएको थियो । यसको उत्पादन ह्वात्तै बढेर धातुकै अभाव भएपछि उत्पादनमा रोक समेत लगाउने परेको थियो । सांस्कृतिक क्रान्तिको समय माओ र कम्युनिष्ट पार्टीप्रति इमानदारीता पेश गर्नका लागि यस्तो ब्याज लगाउने चलन थियो । यो चलन अझै पनि कायमै छ । 

चीनका वर्तमान राष्ट्रपति सी जिनपिङले माओको छविलाई अझै उजागर गरिने वाचा गरिसकेका छन् । कम्युनिष्ट पार्टीको सयौं वर्षगाँठमा उनी खैरो सुट लगाएर उपस्थित भएका थिए, यस्तै सुट माओले आफ्नो जीवनकालमा लगाउँथे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप