बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चोरिएका २३ मोटरसाइकल भेटिए, कसरी चोरी हुन्छ मोटरसाइकल ?

मङ्गलबार, १९ साउन २०७८, १४ : ०३
मङ्गलबार, १९ साउन २०७८

काठमाडौं उपत्यकाबाट चोरी भएका २३ मोटरसाइकल प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । मंगलबार ट्राफिक प्रहरी महाशाखाले पत्रकार सम्मेलन गरेर विभिन्न मितिमा हराएका २३ वटा मोटरसाईकल सम्बन्धितलाई हस्तान्तरण गरेको हो । 

महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर  र ११ वटा अन्य कम्पनीका मोटरसाइकल रहेको बताए । 

एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको बताए । उनले चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको  पनि बताए । 

कसरी चोरिन्छ त मोटरसाइकल ?
चालकले सुरक्षा अपनाउँदा–अपनाउँदै र सुरक्षाकर्मीले निगरानी गर्दागर्दै यतिका चोरीका मोटरसाइकलहरु कता जान्छन् ? कसरी चोरिन्छ ? तपाईको मनमा जिज्ञासा उठ्न सक्छ । ट्राफिक प्रहरीको अनुसन्धान अनुसार चोरले काठमाडौंका अस्पताल, पार्टी प्यालेस तथा विभिन्न स्थानमा रहेका एकान्त पार्किङमा जाने र लक तोडेर मास्टर चावी प्रयोग गर्ने वा सिधै तार जोडेर चोरी गर्ने पाइएको छ । यसरी चोरी गर्नुपुर्ब उक्त मोटरसाइकल र चालकको गतिबिधि निगरानी गर्ने, मौकाको खोजी गरि उपयुक्त समयमा बिभिन्न तरिका अपनाएर चोरी गर्ने गरेको पाइएको छ । 

यस्तै चोरीमा संलग्न सदस्यहरुको आआफ्नै भुमिका हुने गर्दछ । चोरी पश्चात वर्कशपमा गएर स्वरुप परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर बिक्रि गर्ने तथा आफैले समेत चलाउने गरेको पाइएको छ । पार्टसहरू खोलेर विक्रि वितरण गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

बिशेष गरि चोरी गर्ने समुहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको देखिन्छ । युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकोले पल्सर मोटरसाईकल बढी चोरी हुने गरेको महाशाखाको बुझाई रहेको छ ।

महाशाखाले सवारी साधनमा अतिरिक्त ह्विल लक, डिस्क लक, सेक्युरिटी साइरनहरु जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ नगर्न र जथाभावी पार्किङ नगर्न बिशेष अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप