बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

मदन पुरस्कारको सूचीमा परेको फिलिङ्गोको राप–ताप

मङ्गलबार, १९ साउन २०७८, १३ : १२
मङ्गलबार, १९ साउन २०७८

फिलिङ्गो भनेको आगोको एक चोक्टा वा रातो कोइला हो, जसले साधारण अवस्थामा आगो सल्काउन सक्छ र असाधारण अवस्थामा  सारा बस्ती नै सखाप गर्न पनि सक्छ । प्रतीकात्मक रुपमा यही  सन्देश बोकेको प्रभा बरालद्वारा लिखित फिलिङ्गो उपन्यास अहिले चर्चाको शिखरमा पुगेको छ । 

उपन्यासकी लेखक र मेरो निवासस्थानको बसाइको दुरी निकै कम भए पनि पहिलोपटक परिचय अक्षरकै माध्यमबाट भयो । पछिल्ला दिनमा भेटघाट  बाक्लिँदै गयो । हाम्रो हिँड्ने बाटो एउटै थियो  । सायद स्वभाव, आनीबानी, शरीरको बनोट, कपालको स्टाइल धेरै कुरामा समानता देखिन्थ्यो । धेरै  साथीहरूले हामीलाई  दिदीबहिनी भन्न थाले । उमेरको अन्तर छँदै थियो । दुवैका दिदीबहिनी विदेश भएकोले  दिदीबहिनीको सम्बन्धलाई हामीले पनि वैधानिकता दियौं । म थपक्क अभिभावक भएर दिदी बनेँ। प्रभा बहिनी ।

 यसैबीचमा प्रभा दुईपटक जापान गएर एउटा नियात्रा कृति कोसेली लिएर आइन् । उनको लेखनशैली राम्रो थियो । पाठकको मनमा उक्त कृतिले राम्रो प्रभाव पार्याे । साहित्यिक लेखनलाई सैनिक महाविद्यालयको पेसाले थिचेकोले त्यहाँबाट असमयमै अवकाश लिइन् र पछिल्ला दिनमा आंशिक प्राध्यापनमा लागिन् । समयले फेरि उनलाई तेस्रोपटक दुई वर्षको लागि जापान पुर्यायो ।

उनी जापानमा रहदाँ,  म यता जुन साहित्यिक कार्यक्रममा जान्थेँ साथीहरू भन्नुहुन्थ्यो ‘एक्लै हुनुभयो है ?’
 मलाई पनि साँच्चै एक्लै भएको भान भइरहेको  हुन्थ्यो । साँच्चै सबै जना भएर पनि ती दुई वर्ष साथीहरूले मलाई एक्लै हुनुभयो है भन्दै सोधिरहनुभयो ।
दुई वर्षे बसाइ पूरा गरेर नेपाल फर्केको दुई वर्ष पछि प्रभा बहिनीको फिलिङ्गो उपन्यास प्रकाशित भयो । यो फिलिङ्गोसँग मेरो यसकारण पनि सामिप्य रह्यो कि यो पुस्तकले  मेरो बहिनी र साथी चोरेको थियो । अथवा यो मेरी बहिनी–साथीले जन्माएको सन्तान थियो । यस्को गर्भावस्थाबारे थाहा पाउनु, पाण्डुलिपि पढ्न पाउनु या जन्मन साथ मुख हेर्न पाउनु मेरो अधिकारजस्तै  नै लागेको थियो । 

फिलिङ्गो उपन्यासको सबैभन्दा ठूलो कुरा  यस कृतिले उठाएको नवीन विषयवस्तु थियो । जसले आम गौँप्राणी महिलाको आँखा खोल्ने काम गर्याे ।
यो पुस्तक  पढ्दै गर्दा महिला पछि पर्नु आर्थिक रुपले सुदृढ  नभएर हो भन्ने भनाइ पनि अर्थहीन लाग्यो । सीमान्ती जस्तो पात्र जो रोजगार  वा पैसा नै कमाउन विदेश गएकी हुन्छे । लोग्नेले भन्दा धेरै कमाउँछे र पनि पूर्णरुपमा आफ्नो कमाइ लोग्नेलाई दिन्छे । अनि आफू चाहिँ उसकै निगाहामा बाँच्छे । महिलाहरू यति धेरै परनिर्भर किन हुन्छन् ? आफ्नो कमाइ  हुँदाहुँदै  पनि आफ्नो कमाइमा स्वामित्व कायम  गर्न किन सक्दैनन्  भन्ने कुरा  देखाउनु लेखकको ठूलो  सफलता मान्न सकिन्छ ।

श्रीमतीको भन्दा कम दुःख गर्ने ।  श्रीमतीको कठोर श्रमलाई वेवास्ता गर्दै निर्लज्ज ढंगले  परस्त्रीगमन गर्ने निर्भयमार्फत हाम्रो समाजको कतिपय ओझेलमा परेका पाटालाई उत्खनन गर्ने काम यस कृतिमा गरिएको छ ।

विदेश त्यसमाथि विकसित देश गएका मान्छेलाई हेर्ने हाम्रो दृष्टिकोण पनि यो पुस्तकले परिवर्तन गरिदिएको छ । विदेशको दुःख । कामको चाप । पढाइको खर्च, परिवारका सदस्यहरूको अपेक्षा सबै सबै थोक यसरी पुस्तकमा समेटिएको छ कि मानौं ऐना अगाडि बसेर अनुहार हेरिरहेको होस् । महंगा उपहारको आकांक्षी परिवारजन र त्यसलाई पूरा गरिदिने हुटहुटी  यी सबैकुराले पुस्तक यथार्थको धेरै  नजिक पुगेको छ । स्वयंले नभोगी यस्तो कृति लेख्न असम्भवझैँ लाग्छ ।

अजिला म्याम जसलाई एउटा फिलिङ्गोका रुपमा उभ्याइएको छ । जस्को तातोले सीमान्तीभित्र चेतनाको दियो बल्छ । आफूले विश्वास गरेको आफ्नो लोग्नेको अनैतिक कदमलाई मुकदर्शक भएर बसिरहेकोमा सीमान्तीलाई  झस्काउने  मात्रै होइन, चेतनाको दियोले ऊ उज्यालिन्छे । मिसावासँग लोग्नेलाई छुटाउने प्रयास सफल नभएपछि आफै बाटो बदल्ने सोच्दछे ।

वादविवाद र झैझगडाविना नै यत्रो विद्रोह गर्न सकिन्छ भन्ने पाठ सिकाएर सीमान्ती स्वदेश फर्कन्छे सुटुक्क । सीमान्तीको मौन विद्रोह कति शक्तिशाली छ भन्ने कुरा त उसले नेपाल आएर पूरा गरेको अध्ययन, काम सिक्न गरेको प्रयत्न र कार्य सफलताले देखाएको छ । 

पुरुषविना महिलाले केही गर्न सक्दैनन् भन्ने आम सोचाइलाई गलत सावित गर्न लेखक सबल भएकी छन् । महिलाकै भोगाइलाई  महिलाले नै यति जीवन्त ढंगले लेख्न सकिन्छ भन्ने कुराको उदाहरण उनको लेखनीले दिएको छ । भातभान्सा र रोनाधोना मात्रै लेख्छन् महिलाले भनेर  उपहासको दृष्टिले हेर्ने हाम्रो परम्परागत सोचलाई पनि यसले गलत सावित गरिदिएको छ ।  

घर ,परिवार र अध्यापन सँगसँगैको लेखन पक्कै पनि सहज हुँदै  होइन । यति हुँदाहुँदै पनि पुस्तक प्रकाशित  गर्नु र अझ उत्कृष्ट कृति हुनु आफंैमा सानो कुरा होइन ।  अझ सम्मानित  मदन पुरस्कारको छनाट सूचीमा पर्न सफल हुनु हामी समग्र महिला वर्गका लागि ठूलो सम्मान हो ।
पुरस्कारको लेनदेन, भनसुन र चाकडीका अनेकौं किस्सा सुन्दै आएका हामीलाई पुरस्कारको छनौटमा पर्नु नै पुरस्कार पाएसरह भएको छ ।
प्रस्तुत कृति  सबैले पढ्न र मनन गर्न आग्रह गर्दै लेखकलाई हौसला दिन  अनुरोध पनि गर्दछु । आगामी लेखन अझ सशक्त बनोस्  धेरै धेरै  शुभकामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप